खोटाङ । कोरोना महामारी अघि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयको पठन–पाठन नियमित थियो । शिक्षक विद्यार्थी कक्षाबाट फिल्डमा पुगेर शिक्षण सिकाई गर्थे । सिकाईकाक्रममा आवश्यकता अनुशार शिक्षक विद्यार्थी विद्यालयले व्यवस्था गरेको खेतबारीमा पुगेर काम सिक्थे/अभ्यास गर्थे । हरियो सर्ट, हरियो पेन्ट लगाएका छात्र/छात्रा फिल्डमा पुगेर काम गर्दा सामूहिकता प्रतिबिम्वत हुन्थ्यो । तर कोरोना महामारीका कारण हाल न विद्यार्थी विद्यालय पुग्न सकेका छन् न त सिकाईका लागि कुनै फिल्डमा ।
कोरोनाले झण्डै ६ महिनादेखि बन्द रहेको पठन–पाठनलाई निरन्तर गराउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको पञ्च माध्यमिक विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले बताए । पञ्च माबिमा २०७० सालदेखि सुरु गरिएको बाली विज्ञानतर्फ कक्षा ९ देखि १२ सम्ममा हाल ५८ विद्यार्थी अध्ययनरत छन् । ‘हामी कक्षामा ४० प्रतिशत सैद्धान्तिक कुरा गर्छौँ, ६० प्रतिशत फिल्डवर्क गराउँछौँ । कृषि फर्म लैजान्छौँ, प्रोजेक्टवर्क गर्न लगाउँछौँ,’ प्रअ ढकालले भने, ‘तर कोरोनाका कारण अहिले पठन–पाठन बन्द छ । सैद्धान्तिक विषयका सामग्री विद्यार्थीलाई उपलव्ध गराउने र प्राक्टिकल कुरा घरैमा गरेर अभ्यास गर्न लगाउने तयारीमा जुटेका छौँ ।’
यस्तै, कोरोना कहरका कारण लकडाउन सुरु भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित प्रदेशस्तरिय महुरेगढी प्राविधिक शिक्षालय झण्डै तीन महिना बन्द रह्यो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन खुल्ने निश्चित नभएपछि प्राविधिक शिक्षालयले असार १४ गतेदेखि अनलाईन कक्षा सुरु गरेको छ । तर ईन्टरनेटको पहुँच नभएका ठाउँका विद्यार्थी अनलाईन कक्षामा सहभागी हुनबाट बञ्चित हुन्छन् । हाल अनलाईन कक्षामा दैनिक ६० प्रतिशत विद्यार्थीको सहभागीता रहेको प्रदेश स्तरिय महुरेगढी प्राविधिक शिक्षालय प्रमुख ईन्जिनियर भानु पौडेलले बताए । ‘वैकल्पिक माध्यमबाट अनलाईनमार्फत कक्षालाई सुचारु गराएका छौँ,’ शिक्षालय प्रमुख पौडेलले भने, ‘हाल सैद्धान्तिक कुरा मात्र गर्न सकिएको छ । विद्यार्थीलाई प्रयोगात्मक बनाउन सकिएको छैन ।’
यी त केही उदाहरण मात्र हुन् । प्रदेश नम्बर १ भरीका सामुदायीक तथा निजी शैक्षिक संस्थाको अवस्था यो भन्दा फरक छैन । शिक्षा विकास निर्देशनालय धनकुटाका निमित्त निर्देशक राजेन्द्र बुढाथोकीका अनुशार १४ जिल्ला रहेको प्रदेशमा प्रावि, आधारभुत र माबि गरी ५ हजार ६५८ सामुदायीक विद्यालय छन् । त्यसमध्ये ८४ विद्यालयले प्राविधिक धारतर्फको विषयलाई अध्यपन गराउँदै आएको छ । यस बाहेक प्राविधिक शिक्षालयहरु पनि छन् । तर कोभिड–१९ का कारण हाल अधिकांश शैक्षिक संस्थामा ताला लागेको अवस्था छ । पठन–पाठन अवरुद्ध हुँदा कतिपय विद्यालयको प्रांगणमा झारपात उम्रिएको छ । कोरोना महामारीका कारण अधिकांश शैक्षिक संस्थाको कार्ययोजना समेत प्रभावित भएको छ । कोभिड–१९ को महामारीमा साधारण धार भन्दा व्यवसायिक तथा प्राविधिक धारको कक्षा सञ्चालन गरिरहेका शैक्षिक संस्था बढी मारमा छन् । किनकी व्यवसायिक तथा प्राविधिक शिक्षाको सिकाईकाक्रममा विद्यार्थीलाई अनिवार्य व्यवहारिक अभ्यासमा सहभागी गराउनुपर्ने हुन्छ । विद्यार्थीलाई फिल्डमा लगेर प्रत्यक्ष काममा संलग्न गराएर सिकाउनु पर्ने हुन्छ ।
तर कोरोना कहरका कारण शिक्षण संस्था बन्द हुँदा प्राविधिक धारका विद्यार्थी ‘गरेर सिक्ने’ अवशरबाट बञ्चित छन् । साधारणधारका विद्यार्थीले स्वअध्ययनबाट सैद्धान्तिक ज्ञान लिन सक्ने अवस्था भए पनि प्राविधिक धारका विद्यार्थीको सिकाई उपलव्धी हासिल गर्न अवरोध पुगेको पञ्च माबि दिक्तेलमा बाली विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत छात्रा योञ्जन राई बताउँछिन् । ‘पठन पाठन नहुँदा ज्ञान र सीप दुबै हाँसिल गर्न वाधा पुगेको छ,’ राईले भनिन्, ‘हामीले प्राक्टिल र थ्यौरी दुबै अध्ययन गर्न सकिरहेका छैनौं । सिकाई शुन्यको अवस्था छ ।’
अन्य प्रदेशका व्यवसायिक तथा प्राविधिक शिक्षाको अवस्था पनि यो भन्दा फरक देखिन्न । व्यवसायिक तथा प्राविधिक शिक्षाका लागि कहलिएको सुर्खेतको बराहताल गाउँपालिका–५ कुनाथरीस्थित जनज्योती मावि बड्डीचौंरको शिक्षण सिकाई पनि लामो समयसम्म ठप्प रह्यो । कोभिड–१९ को महामारीका कारण सिटिइभिटीको टिएसएलसी र डिप्लोमाको बाली विज्ञान र पशुविज्ञान कक्षाका विद्यार्थी मारमा परेको जनज्योती माध्यमिक विद्यालय बड्डीचौंरका प्रअ नारायण सिग्देलले बताए । कोरोना कहर लम्बिएपछि प्राविधिक धारतर्फको अवरुद्ध पठन–पाठनलाई महिना दिनदेखि अनलाईनमार्फत सुचारु गराइएको विद्यालयले जनाएको छ ।
२०६८ सालदेखि सुरु गरिएको व्यवसायिक तथा प्राविधिक शिक्षामा वर्षेनी ३२० विद्यार्थीले अध्ययन गर्दैआएका छन् । सो विद्यालयमा हाल देशभरीका २६ जिल्लाका विद्यार्थीले कृषि तथा व्यवसायिक शिक्षातर्फ आफै ‘कमाउँदै पढ्दै’ गर्ने गरेका छन् । ‘गरी खान सिकाउने’ जनज्योतीको २० विघा जमिनमा चार सय अनार रोपिएको छ । विद्यार्थीको प्रत्यक्ष संलग्नतामा एक बिघा जमिनमा माछा पालन गरिएको छ । चार सय बोट अनार रोपिएको छ । आफ्नै जडिबुटी प्रशोधन केन्द्र छ । ६५ घार मौरी पालन गरिएको छ । धान खेती लगाइएको छ । जनज्योतीमा अध्ययन गरेका विद्यार्थीले हाल विभिन्न ठाउँमा व्यवसायिकरुपमा कृषि फर्म सञ्चालन गरिरहेका छन् । व्यवसायिक कामका लागि विद्यालयकातर्फबाट विद्यार्थीलाई ऋण उपलव्ध गराउने गरिएको प्रअ सिग्देलले बताए ।
महामारीकाक्रममा लामो समयसम्म पठन–पाठन ठप्प हुँदा शैक्षिक कार्ययोजना प्रभावित हुने नै भयो । शैक्षिक संस्थामा शिक्षक–विद्यार्थी भेट नहुँदा विद्यार्थीको अध्ययन गर्ने बानी नै छुट्ने खतरा पनि देखिन थालेको छ । कोरोना महामारी तत्काल साम्य हुने अवस्था नदेखिएपछि हाल अधिकांश साधारण तथा व्यवसायिक एबं प्राविधिकतर्फका शैक्षिक संस्थाले बैकल्पिक कक्षा सञ्चालनको उपाय खोजीमा छन् । हालसम्म फिल्डबेसमा पढाइने व्यवसायिक एबं प्राविधिक धारको सिकाईलाई निरन्तरता दिने उपयुक्त विकल्प देखिएको छैन । कोभिड–१९ को कहर सामान्य नभएसम्म व्यवसायिक एबं प्राविधिक शिक्षाको पठनपाठन प्रभावकारी नहुने पुर्वशिक्षा सचिव (हाल नेपाल सरकारका सचिव) खगराज बराल बताउँछन् ।
‘अहिले सैद्धान्तिक पढाईमा अनलाईन, जुम, यूटुव वा गुगल प्रयोग भइरहेको छ । प्राविधिक शिक्षा त यसरी हुँदैन । ६० प्रतिशत प्राक्टिकल गर्नुपर्ने हुन्छ । विद्यार्थीले काम गर्न सिक्ने हो, अभ्यास गरेर सिक्ने हो । भिजुल वा भर्जुअल रुपमा मुखले भनेर मात्र विद्यार्थीले सिक्दैनन्,’ बरालले भने, ‘उसले त छुन पाउनुपर्छ, काम गर्न पाउनुपर्छ, अभ्यास गर्न पाउनुपर्छ । तव मात्र उसको प्रोफेसन आउँछ । फिल्ड बेसमा पढ्ने र फिल्ड बेसमा काम गर्ने भएकाले कोरोनाले प्राविधिक शिक्षालाई अप्ठ्यारो पारेको छ । फेस टु फेस गर्ने अवस्था नभएसम्म अनलाईन वा जुमबाट मात्र प्राविधिक शिक्षाको सिकाई हुँदैन, त्यो गर्नु पनि हुन्न ।’
पाठ्यक्रम छ, शिक्षण छैन
सरकारले सामुदायीक विद्यालयमा कक्षा ६, ७ र ८ मा पेशा, व्यवसाय र प्रविधि शिक्षा समावेश गरेको छ । तर अधिकांश विद्यालयले त्यसको व्यवहारिक पठन–पाठन गर्न सकेको छैनन् । पेशा, व्यवसाय र प्रविधि शिक्षामा समावेश गरिएका विषयवस्तुलाई व्यवहारिक रुपमा सिकाउन सके हरेक विद्यार्थीलाई ‘आफै गरी खाने’ नागरिकका रुपमा विकास गर्न सकिन्छ ।
आधारभुत तहकै पाठ्याक्रममा पेशागत शिक्षा, तालिम, रोजगारी, रोजगारी सम्वन्धी शिक्षा, जीवनोपयोगी सिपहरु, व्यवसाय सञ्चालन, व्यवसाय अभिमुखीकरण, तरकारी खेती, फलफुल खेती, सुक्खा तरकारी, फलफुल तथा विभिन्न खाद्य परिकार, फूल तथा जडिबुटी खेती, पशुपन्छी स्यहार र हेरचाह, शिल्पकला, माटोको काम, सिलाई बुनाइ तथा प्रविधि शिक्षा (स्थानीय र आधुनिक) जस्ता पाठहरु समावेश छन् । तर यी पाठको प्रयोगात्मक सिकाईमा विद्यालय नै उदासिन छन् । न यस बारेमा विद्यालय प्रशासन तातेको छ, न त अभिभावक नै । पेशा, व्यवसाय र प्रविधि शिक्षाको पठन–पाठनकाक्रममा विद्यालयले प्राक्टिकल कम गराइरहेको शिक्षा विकास निर्देशनालय धनकुटाका निमित्त निर्देशक बुढाथोकी बताउँछन् ।
प्राविधिक शिक्षा सक्षमतामा आधारित हुन्छ । सतप्रतिशत सिकाई नभए भोली विद्यार्थीले गरेको काममा ‘डिफेक्ट’ आउने बरालले बताए । पेशा, व्यवसाय र प्रविधि शिक्षाको लक्ष्य अनुशारको सिकाईका लागि अभिभावक जाग्नुपर्ने सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ १ नम्बर प्रदेशका अध्यक्ष पेशलकुमार राई बताउँछन् । ‘कार्यक्रम राम्रो छ, तर कार्यान्वयन पक्ष राम्रो छैन । यसमा सबैको जिम्मेवार छ तर विशेषगरी अभिभावक नै जाग्नुपर्ने अवस्था छ,’ अध्यक्ष राईले भने, ‘स्थानीय सरकारले पनि यसमा चासो दिएको देखिन्न । विद्यालय प्रशासनले पनि बेवास्ता गरेको अवस्थामा अभिभावकले दवाव दिन सके मात्र पेशा, व्यवसाय र प्रविधि शिक्षालाई व्यहारिक बनाउन सकिन्छ ।’
कोरोनाले नरोकेको शिक्षण सिकाई
कोरोना कहरका कारण अधिकांश शैक्षिक संस्था ठप्प छन् । तर, जीवनोपयोगी शिक्षाको अभ्यास गरिरहेको खोटाङकै शुभम् (शुभद्रा–मदन) फाउण्डेसनले भने बालबालिकाको शिक्षा अधिकारलाई कुनै रोकावट हुन दिएन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सोल्मामा कृषिविज्ञ मदन राईले स्थापना गरेको फाउण्डेसनमा कोभिड–१९ को कुनै पनि प्रभाव देखिएको छैन । अन्य शैक्षिक संस्था बन्द भएर प्रांगणमा हरियो घाँस पलाउदा फाउण्डेसन जहिल्यै खुला रहे । फाउण्डेसनमा आवासिय दिन बिताइरहेका डेढ सय विद्यार्थीको व्यवहारिक शिक्षाको सिकाई तालिकामा कुनै फेरबदल नआएको शुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए ।
शुभम फाउण्डेसनले व्यवस्थापनको जिम्मा लिएको सोही ठाउँको जनजागृति आधारभुत विद्यालय (हाल मावि)का शिक्षक÷विद्यार्थीले समेत लकडाउन भन्न परेन । बन्द भएको अवस्थामा २०७२ सालमा फाउण्डेसनले जिम्मा लिएको जनजागृतिका शिक्षक/शिक्षिकालाई कोरोना कहरकाबीचमा विदा दिइएन । शिक्षक तथा विद्यार्थीलाई बाहिरका मान्छेसँगको सम्पर्कबाट टाढा राखिएका कारण विद्यालयको शैक्षिक तालिका तलमाथि नभएको जनजागृति माविका शिक्षक पृथी जिम्बा बताउँछन् ।
‘विद्यार्थीलाई अरु मान्छेको सम्पर्कमा जान दिइएको छैन । यसमा विशेष सावधानी अपनाएका छौँ,’ शिक्षक जिम्बाले भने, ‘त्यही भएर हाम्रो विद्यालयको नियमित शिक्षण रोकिएको छैन । यही विधि अपनाउन सके गाउँघरका अन्य विद्यालयलाई नियमित सञ्चालन गर्न सकिन्छ जस्तो लाग्छ ।’ जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको फाउण्डेसनले ‘सामुदायीक विद्यालयको शिक्षा यस्तो हुनुपर्छ’ भन्ने देखाउन जनजागृति माविको व्यवस्थापनको जिम्मा लिएर व्यवहारिक शिक्षाको अभ्यास गर्दैआएको छ । जनजागृतिमा शुभम फाउण्डेसन र डाँडागाउँका छात्र÷छात्रा अध्ययनरत छन् ।
हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने उद्धेश्यले ‘कुटोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनले ‘संकटका समयमा पनि शैक्षिक क्रियाकलापलाई कसरी निरन्तरता दिन सकिन्छ’ भनेर लकडाउनलाई सिक्ने ‘अवशर’कारुपमा उपयोग ग¥यो । भीडभाड गर्न नहुने भनिएको यो बेला शैक्षिक संस्थालाई बन्द गर्नुको सट्टा घर वा छरछिमेकलाई नै विद्यालय वा सिकाई केन्द्रका रुपमा उपयोग गर्नुपर्ने फाउण्डेसनकी शिक्षिका बशन्ती राई बताउँछिन् । ‘यो समयलाई अप्ठ्यारोभन्दा पनि अवसरको रूपमा लिनुपर्छ ।
अवसर यो मानेमा छ की हामीले नदेखेको तर हाम्रै वरिपरि भएको हामीले दैनिक जीवनमा गरिने सम्पूर्ण कार्यहरु नै शिक्षा हुन् तर त्यसलाई शिक्षा बनाएर कसरी सिकाइमा जोड्ने भन्ने कुरा महत्वपूर्ण छ,’ फाउण्डेसनकी शिक्षिका राई भन्छिन्, ‘अब शिक्षा ईन्टरनेटमा छ, शिक्षा घरघरमा छ, शिक्षा एक अर्काको सहकार्यमा छ, शिक्षा हाम्रो बारीमा छ, भान्सामा छ, हजुरबा÷हजुरआमामा छ, परिवारमा छ, साथीमा छ अनि संस्कार र संस्कृतिमा छ । अब विद्यार्थी कक्षा कोठा धाउने होइन, शिक्षक विद्यार्थीको घर धाउनेबेला आएको छ । हरेक घर स्कुल हो र हरेक स्कुल घर हो ।’
दमन राईले नागरिकमा खबर लेखेका छन् ।