काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिनेछ ।
त्यसका लागि परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । निर्देशिका अनुसार एसईईमा लिएको नम्बरलाई जिपिए ४ अङ्क भार मानिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अङ्क गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ ।
वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरे परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो । विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो । अबदेखि भने प्रवेश परीक्षा नलिईकनै एसईई वा प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिएको आधारमा भर्ना गरिनेछ ।
यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलाउने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ । विगतमा परिषद् अन्तर्गतका कोर्षहरूको प्रवेश परीक्षाका लागि पूर्व तयारी कक्षा (ब्रिज कोष) चलाउँदै आएका थिए । त्यस्ता कोर्षको नाममा विद्यार्थीहरू मोटो रकम असुल्ने गरेका थिए ।
त्यस्तो अवस्थाको अन्त्य गर्दै विद्यार्थीहरूले पाएको नम्बरका आधारमा भर्ना गरिने व्यवस्था गरिएको हो । सिटीइभिटी अन्तर्गत देशभर ६३ वटा आङ्गिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज छन् । ती कलेजमा हरेक वर्ष २५ हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् ।
यसका लागि अबदेखि परिषद्ले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको छ । आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् । स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले उक्त निर्देशिका जारी भएसँगै विद्यार्थीलाई निकै सहज हुने बताए । अबदेखि प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षाको फारम भर्ने, प्रवेश परीक्षा दिने, प्रवेश परीक्षाको नतिजा कुर्ने लगायतका झन्झटिला प्रक्रियाहरूमा अलमलिनु नपर्ने भएको बताए ।
विद्यार्थीहरूले अनलाइनबाट आफूले चाहेको विषय, चाहेको शिक्षालयमा र आफू योग्य रहने कोटामा परिषद्को वेबसाइटमार्फत फारम भर्न सक्नेछन् । हरेक वर्षको असारमहिनादेखि मङ्सिर महिनासम्म करिब ६ महिना सम्म कार्यालय प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापनमा खट्नुपर्ने अवस्था रहँदै आएको थियो । अबदेखि उक्त जनशक्ति जनशक्ति शैक्षिक क्यालेन्डर अनुसारका अर्धवार्षिक एवं वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा केन्द्रित हुने पाउने उनको भनाइ छ । जसले गर्दा शैक्षिक क्यालेण्डर अक्षरशः कार्यान्वयनमा जाने अवस्था सुनिश्चित भएको समेत बताए ।