काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् ।
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिए । सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए ।
सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको बताए । पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए ।
‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैं यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने ।
पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्ने बताएका छन् । ‘यसका लागि विज्ञहरूको टिम बनाउँछु । विज्ञहरूको टोलीले जे–जस्तो किसिमको सल्लाह सुझाव दिन्छन् । सोही अनुसार अघि बढ्छु,’ उनले भने । संसद् विघटन भइसकेको अवस्थामा सबै संसदीय समितिहरू निष्क्रिय भइसकेको भन्दै उनले विज्ञहरूलाई इमान्दारितापूर्वक सुझाव दिन आग्रह गरे ।
दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।