एकजना अभिभावकले बडो खुसी हुँदै भन्नुभयो मेरो छोराले फररर इङ्लिस बोल्छ सुन्नुहोस् न बाबु भनभन बाबु, अंकललाई भनी देउ, ड्याडी भनी देउ तिमिले स्कुरलमा पढेको, ममी भनिदेउ, हाई, बाई भनिदेउ ।
ल भन त बाबु तिम्रो नाम के हो ?
बालकले भन्योः My name is Roshan lama. I read in class one. My school name is shree Dynamic higher secondary school, chitwan.
काका : अनि हजुरको छोरोले कुन विद्यालयमा पढ्छ ?
अभिभावक : बोडिङ स्कुलमा अलि टाढा छ स्कुल गाडीले लिएर जान्छ । असाध्यै राम्रो छ रे ।
काका : किन सामुदायिक विद्यालयमा नपढाएको त ?
अभिभावकः सबै सामुदायिक विद्यालयमा अंग्रेजी नै पढाइ हुँदैन । कसरी पठाउनु ?
माथिको संवाद मैले वैकल्पिक शिक्षा सहजिकरणका लागि विद्यार्थीहरूको तथ्याङ्क संकलन गर्न गएको समयमा दुईजना अभिभावकले कुराकानी गर्दा सुनेको सानो अंश हो । उक्त कुराले मलाई सतायो । हाम्रो समाजमा के साँच्चै अंग्रेजी भाषा सर्वोपरी भाषा हो त ?
सामान्यतः भाषालाई वैचारिक आदान–प्रदानको माध्यम मान्न सकिन्छ । भाषा विचार प्रकट गर्ने उपयुक्त माध्यम हो । भाषाका माध्यमबाट नै मानिसले आफ्ना विचारहरू अरू मानिस समक्ष व्यक्त गर्न र अरूले प्रकट गरेको विचार आफूले ग्रहण गर्न सक्दछ ।
भाषाको प्रयोग गर्दा अरूले स्पष्ट रूपमा बुझ्न सक्ने गरी गर्नुपर्छ । (कानून–तर्जुमा–दिग्दर्शन,नेपाल कानुन अयोग) विश्वभरि मानिसहरू ७,००० वटाभन्दा बढी भाषा बोल्छन्न् । (बिबिसी नेपाली समाचार २०२० एप्रिल २०) । विक्रम संवत् २०५८ को जनगणनामा ९२ वटा मातृभाषाको संख्याबाट बढेर २०६८ को जनगणनामा १२३ वटा पुगेका छन् । भाषा अयोगको प्रतिवेदन (तेस्रो) अनुसार अब नेपालमा बोलिने भाषाको संख्या १२९ वटा पुगेको छ ।
नेपालको संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनिएको छ । संविधानको शिक्षा सम्बन्धी हकको धारा ३१ (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनी व्यावस्था गरेको छ ।
हाल विद्यालय तहमा दुई किसिमबाट पठनपाठन भएको पाईन्छ । एक नेपाली भाषामा र अर्को अंग्रेजी भाषामा । अधिकांश सामुदायिक विद्यालयहरूले अभिभावकको चर्को दबाबमा, विद्यार्थी संख्या बढाउने जस्ता नाममा हो या बाध्यताले गर्दा विद्यालयहरूमा सामाजिक, नैतिक शिक्षा, पेशा, व्यावसाय र प्रविधि, गणित, विज्ञान र सामाजिकजस्ता विषयहरू अंग्रेजी माध्यमबाट पढाइ रहेका छन् ।
प्रायः अभिभावकहरूले आफ्ना छोराछोरीले टुटुफुटे अंग्रेजी बोलेमा राम्रो मान्नु, अत्याधिक अंग्रेजीको मोह र भविष्य निर्माणको एक मात्र उपायका रूपमा अंग्रेजी भाषामात्र हो भन्ने मानसिकताको उपजस्वरूप अंग्रेजी भाषाले समाजमा र विद्यालयमा सिधा असर पुर्याएमने छ । यो गलत बुझाई हो । यसलाई समयमै उपचार गरिनुपर्छ । एउटै विद्यालयमा दुई थरीका भाषाहरू अंग्रेजी र नेपाली माध्यममा शिक्षण गरिरँहदा विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास उत्पन भएको, जान्ने नजान्ने भनी उनीहरूका बिचमा गलत धारणाको विकास भएको छ ।
एउटै विद्यालय भित्र असमानता पैदा भएको छ । अंग्रेजी भाषाका नाममा हामीले हाम्रा सन्ततीलाई भावी दिनमा न त नेपाली भाषामा सक्षम न त अंग्रेजी भाषा जान्ने दोधारे अवस्थामा धकेलेका छौं । यदि अंग्रेजी भाषा नै राम्रो हो भने अंग्रेजी भाषाहरू मध्ये कुन राम्रो छ त बेलायती अंग्रेजी, अमेरिकन वा अन्य देशको राम्रो ।
महात्मा गान्धीका अनुसार बहुप्रचारद्वारा भूल सत्य हुन सक्तैन : न त कसैले देखेन भन्दैमा सत्य गल्तिमा परिणत हुन सक्दछ । (गान्धी, कताजाने प्रकान पेनं १८१) । सस्तो लोकप्रियता वा मुनाफा कमाउने उद्देश्यले निजी कलेजहरूले विद्यालयको नामकरण प्रायः अंग्रेजी भाषामै गरिएको पाउँछौँ । जस्तैः पेन्टागन, गोल्डेन गेट, त्रिनिटी, सन राइज, लिटिल फलावर ।
सामुदायिक तथा संस्थागत विद्यालयमा बोल्ने क्षेत्र (इङ्लिस स्पीकिङ जोन) लेखिएको पाउँछौँ । नेपाली भाषामा कुराकानी गर्दा विद्यार्थीहरूलाई जरीवाना लगाउने र विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि अंग्रेजी भाषामा नै गरिन्छ । यस्ता गलत अभ्यासले नेपालीको पहिचान र गौरव नेपाली भाषा तथा मातृभाषाको अस्तित्वबारे बाल मस्तिष्कमा कस्तो प्रकारको विचार पैदा गर्ला ?
कुनै पनि भाषा निश्चित समयमा व्यावहारिक अभ्यासद्दारा वा बोलीचालीबाट छिट्टै सिक्न र बोल्न सकिन्छ । समयको माग हो भने भोलिका दिनमा भाषाको जनलहर अनुसार कोरीयाली भाषा, जापानिज भाषा सिक्ने र लोक सेवा र शिक्षक सेवा परीक्षाका लागि सामान्य ज्ञान तथा तार्किक क्षमता जस्ता विषयवस्तुहरू विद्यालयको पाठ्यक्रममा राख्ने त ? राख्न उपयुक्त मानिदैन । भाषा सिक्नकालागि हो भने नेपालमा विश्व भाषा क्याम्पसले विभिन्न किसिमका भाषाका पढाई सुरू गर्दै आइरहेको छ ।
शिक्षा ऐन, २०२८ को दफा ७ मा विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुबै भाषामा हुनेछ तर प्राथमिक शिक्षा मातृभाषामा दिन सकिने छ । गैर नेपाली नागरिकले नेपालको विद्यालयमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा अन्य कुनै भाषाको विषय अध्ययन गर्न सक्ने व्यवस्था छ । प्रायः विद्यार्थीहरूले घरमा बोलीचालीको भाषा मातृभाषा प्रयोग गर्ने भएकाले विद्यालयका बालविकास कक्षामा पढाएका कुरा सिक्न नसक्नु र विद्यालयमा नेपालीमा पढाएको कुरा सुरूका दिनमा बुझ्न नसक्नु प्रमुख कारण रहेका छन् ।
अंग्रेजी भाषा भन्दा मातृभाषा सिक्न जति बालबालिकालाई सजिलो हुन्छ त्यस्तो सजिलो दोस्रो वा तेस्रो भाषामा हुँदैन । त्यो जटिल वा असजिलो हुन्छ । सामाजिक परिवेश अनुसार मातृभाषाहरू फरक–फरक हुने गरेकाछन् । जस्तैः ईलाममा लेप्चाहरूले लेप्चा भाषा, झापा मोरङमा दनुवार भाषा, दाङमा राजीहरूले राजी भाषा, सुर्खेत दैलेखमा राउटेले राउटे भाषा, कर्णालीमा खषहरूले खसभाषा, बाँके बर्दियामा थारू भाषा ।
अधारभूत तहमा कार्यरत शिक्षकहरूले सबै ठाँउका विद्यालयमा मातृभाषाको प्रयोग गर्न सकिने अवस्था छैन । अधिकांश विद्यालयहरूमा मातृभाषामा पठन–पाठनका लागि विद्यालयमा मातृभाषा बोल्न र लेख्न जान्ने शिक्षकहरू नहुनु तथा भएका शिक्षकहरू मातृभाषामा दक्ष नहुनु वा काम चलाउ छन् । अंग्रेजी भाषाको लहरमा हाम्रा नेपाली रैथाने भाषा लोप हुन पुगेका छन् ।
पाठ्यक्रमविकास केन्द्रले मातृभाषामा अधारित बहुभाषिक शिक्षाका लागि २५ वटा पाठ्यपुस्तक, अनौपचारिक शिक्षा केन्द्रबाट १४ भाषाका पाठ्यपुस्तक, शैक्षिक जनशक्ति केन्द्रबाट १५ भाषामा पाठयपुस्तक र मातृभाषामा बाल सन्दर्भ सामग्रीका रूपमा १५ वटा भाषामा मातृभाषाका पाठ्यपुस्तक तयार गरेको छ । नेपालमा नेपाली भाषा पहिलो भाषामा रूपमा २०६८ को जनगणना अनुसार ४४.६ प्रतिशत जनसंख्याले मात्र मानिसहरू बोलेका छन् । नेपालका अधिकांश मातृभाषाहरू मौखिक परम्परामा आधारित छन् र केही मातृभाषाहरू लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन ।
नेपाली भाषा संरक्षणको लागि पृथ्वीनारायण शाहले नेपाली भाषालाई राजभाषा वा राष्ट्रभाषाका रूपमा प्रचलनमा ल्याएका थिए । (नेपालको शिक्षाको इतिहास भाग १ पेनं २८) । नेपाली भाषा प्रकाशनी समितिबाट छपाइएको दुईपाने दुईपैसे पुस्तिकामा नेपाली कसरी शुद्ध लेख्ने भनी श्री बालकृष्ण समले १९८७ सालमा दरबार स्कूलका लड्काहरूलाई निःशूल्क बाँडेका थिए । नेपाली भाषामा लेखेको नाटक मुकुन्द ईन्दिरा समले दरबार स्कुलका छात्रहरूबाट संवत १९९४ सालमा दरबार स्कुलसँगै दक्षिणपट्टी भोटाहिटीमा निर्मित मजलिस घरमा मञ्चन गराउका थिए । (नेपालको शिक्षाको इतिहास भाग १ पेनं ४८ र ४९)
राजा रणबहादुर शाहको पालामा दोभाषेद्वारा काम चलाइने गरेका थिए । विक्रम संवत् १८७२ सुगौली सन्धिपछि तराईका सिमान्त जिल्ला अमिनिया राखिएका दुई मुरलुकको सरहदसँग सम्बन्धित मुद्दा हेर्ने फारसी, अरबी र उर्दू भाषा जान्ने मुन्सीहरूले विस्तार–विस्तार अंग्रेजी भाषाको ज्ञान हासिल गर्न थालेका थिए । दोभाषेबाट मुन्सीहरू पछि गएर परराष्ट्रको काम हेर्ने भएकाले प्रजातन्त्र पूर्व परराष्ट्रसम्बन्धी काम गर्ने अड्डाको नामै मुन्सीखाना रहन गएको हो । (नेपालको शिक्षाको इतिहास भाग–१ पेज नं. ४१)
आफ्नो माटोसितको सम्बन्ध टुट्दै गएका कारण नेपाल उत्पत्तिका भाषाहरूको शब्द भण्डार घटेको, व्याकरण खण्डित भएको र उच्चारण पद्धतिमा समेत विचलन आएको छ । ‘अंग्रेजीप्रतिको अनावश्यक मोह, औपनिवेशिक मानसिकता र बजारले सिर्जना गरेका भ्रमका कारण नेपालको भाषिक विविधता र बहुभाषिक जीवन पद्धति संकटमा पर्दै गएको छ ।’ (भाषा आयोगको प्रतिवेदन–तेस्रो)
अन्त्ययमा, हरेक मानिसहरूले उच्च शिक्षामा अंग्रेजी पढाउने मोह पाल्नु र विश्व बजारसँग प्रतिस्पर्धा गरी अरू भन्दा अब्बल हुनु गर्वको विषय हो । विद्यालय शिक्षामा अंग्रेजी भाषाका नाममा दुधे बालकलाई जिब्रो बटार्न लगाएर हाम्रा भाषाहरूलाई कमजोर बनाउदै जानु लज्जाबोधको बिषय हो ।
सामुदायिक विद्यालयमा शिक्षकहरूको क्षमता, योग्यतामा परख नगरी जबरजस्ती अंग्रेजी भाषाको भारी बोकाउनु कदापि राम्रो होइन । मानिसहरूमा अत्याधिक अंग्रेजी भाषा पढाउने मोहका कारण हुने खाने वर्गका छोराछोरीले पढेका विद्यालय, लुगा र भाषा जस्तै हुँदा खाने वर्गले दैनिक मजदुरी गरेर भएपनि छोराछोरीलाई शिक्षा लिन लगाउनु सामाजिक बाध्यता जस्तै भएको छ ।
नेपालमा एक लाखभन्दा बढी वक्ता संख्या भएका भाषा १९ वटा छन् । यो संख्या नेपालको कुल जनसंख्याको ९५.९१ प्रतिशत हुन आउँछ । बाँकी जनसंख्याले बोल्ने भाषामध्ये अत्यन्त थोरै वक्ता भएका दुरा, कुसुन्डा, तिलुङजस्ता २४ वटा भाषा अस्तित्व मेटिने स्थितिमा पुगेका छन् । कुसुन्डा भाषा बोल्ने दुई जना मानिसहरू मात्र छन् ।(भाषा आयोगको प्रतिवेदन–तेस्रो)
साहित्यकार, शिक्षक, भाषाविद, विद्यालय सञ्चालक, अभिभावक, समाजले नै नेपाली भाषालाई र अरू मातृभाषाहरूलाई समान महत्व दिइनु पर्छ । भाषा संरक्षणका लागि हामी सबैको बराबर योग्दान हुनुपर्दछ ।
-नयाँकिरण कमलकुसुम मावि, भोजाड,चितवन