काठमाडौं । शिक्षा पत्रकार समूहको पुस्तक चर्चाको पहिलो शृंखलामा वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ बारे चर्चा गरिएको छ । २०८० सालको मदन पुरस्कार प्राप्त यसकृतिबारे लेखक स्वयंले चर्चा गरेका थिए ।

कार्यक्रममा लेखक मैनालीले ‘मुकाम रणमैदान’मा अङ्ग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरताका गाथालाई लिपिबद्ध गरिएको जानकारी दिए । पुस्तकमा स्वदेशी वा विदेशी इतिहासकार, अनुसन्धाता, लेखक कसैले पनि नलेखेको, नदेखेको वा लेख्न नसकेको विषय समेटिएको उनको भनाइ थियो ।

१८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा नेपाली र अङ्ग्रेज सिपाही तथा कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई किताबको विषयवस्तु बनाइएको उनले बताए । मैनालीले भने, ‘यो किताबका निम्ति नेपाल–अङ्ग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने, देखी जान्ने मानिसका बयानमा म भर परेको छु।’

उनले थपे,‘कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बिच कतैकतै भेटिने, कतैकतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका ती चिठीका शब्दशब्दका अर्थ बुझेर मैले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा किताबमा समेटेको छु।’

यो किताब लेख्न आफूले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सिप, असाध्यै धेरै मानिसले तयार गरेका असङ्ख्य कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत अनि संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फिचर लेखकको कला उपयोग गरेको उनले स्पष्ट पारे ।

खोज पत्रकारितामार्फत आफ्नो पहिचान बनाएका मैनालीले पुस्तकका कुनै पनि वाक्य यसअघि कतै प्रकाशित नभएको र ती ताजा र चोखा रहेका भन्दै पत्रकारका लागि अझै महत्वपूर्ण रहेको बताए । ‘यो हरेक नेपाली नागरिकले पढ्नैपर्छ, पत्रकारले त झन् नपढी हुँदैन, नैतिकता र नेपाल देश बुझ्न चाहनेहरुले किताब पढ्नुपर्छ । ’ मैनालीले भने । पुस्तक मुद्रितसँगै इलेक्ट्रोनिक र श्रव्य संस्करण पनि उपलब्ध रहेको उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहले हराउँदै गएको पुस्तक पढ्ने संस्कृतिको जर्गेना र पुस्तक पढ्ने बानीको विकासका लागि समूहले पुस्तक चर्चाको शृङ्खला सुरु गरेको जानकारी दिइन् । अब शृङ्खलालाई नियमित गर्ने भन्दै उनले यसबाट बजारमा आएका महत्वपूर्ण पुस्तकबारे पाठक र पत्रकारलाई जानकारी मिल्ने बताइन् ।

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा, बिबिसी नेपाली सेवाका सम्पादक जीतेन्द्र राउत, नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौत, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, पुस्तक व्यवसायी महासंघका प्रतिनिधि, सिकाइ समूहका प्रमुख सुदर्सन घिमिरे, आजका शिक्षाका सम्पादक सुदर्शन सिग्देल, शिक्षा मन्त्रालयका पुस्तकालय शाखाका प्रमुखलगायत दर्जनबढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्