काठमाडौं । शिक्षा पत्रकार समूह (ईजेजी) २५ वर्ष पूरा गरेको अवसरमा भव्य रुपमा रजत वर्ष मनाएको छ । यसैक्रममा समुहले ४ ओटा पुस्तक विमोचन, ३ विधामा राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१, ११ जना शिक्षविद र १० जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ भने १ जनालाई कदरपत्र प्रदान गरेको छ ।

रजत वर्ष विशेष कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तक विमोचनसँगै पुरस्कात, सम्मान र कदरपत्र प्रदान गरेकी थिइन । समारोहमा राष्ट्रिय शिक्षा मिडिया अवार्ड –२०८१ छापातर्फ–अन्नपूर्ण पोष्ट दैनिक, टेलिभिजनतर्फ– कान्तिपुर टेलिभिजन र रेडियोतर्फ– रेडियो मुक्ति, रुपन्देही पुरस्कृत भएको छ । यससँगै समूहले पुरस्कार तथा सम्मान कोषका दातालाई शिक्षा सेवी नारायणप्रसाद राईलाई कदरपत्र वितरण गरेको छ ।

यसैगरी, समारोहमा महामारीमा शिक्षा (कोरोनाकालको अवस्थाको पठन पाठनको अवस्था, प्रविधिको प्रयोगको अवस्था), शिक्षाका सारथी (छानिएका २५ प्रधानाध्यापक), विद्यालय चित्र (शैक्षिक अभ्यास नियाल्ने आँखीझ्याल) र शिक्षा चित्र (स्थानीय तहको शैक्षिक प्रयास नियाल्ने आँखीझ्याल) पुस्तक विमोचन गरिएको छ ।

यससँगै रजत वर्षको अवसरमा ११ जना विज्ञ सल्लाहकारमा पूर्व उपकुलपति केदारभक्त माथेमा, प्राडा. विद्यानाथ कोइराला, प्राडा. हृदयरत्न बज्राचार्य, प्राडा. मनप्रसाद वाग्ले, डा. सुमनकोमल तुलाधर, प्राडा. विनय कुसियैत, डा. विष्णु कार्की, प्राडा. सुसन आचार्य, प्राडा. नन्दबहादुर सिंह, डा. मीनबहादुर बिष्ट र डा. रघु मैनालीलाई सम्मान गरिएको छ ।

यसै अवसरमा पूर्वअध्यक्ष राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, भूपराज खड्का, नारायण अमृत, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, दिपक दाहाल, रोश्ना सुब्बा, तुलाराज अधिकारीलाई सम्मान गरेको छ ।

शिक्षा पत्रकार समूह शिक्षा क्षेत्रमा कार्यरत पत्रकारहरुको साझा संस्था हो । पत्रकारिता, बहस पैरवी र अध्ययन अनुसन्धानमार्फत शिक्षा क्षेत्रको सुधारका लागि समूहले विगत २५ वर्षदेखि काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्