काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुनः विद्यालय शिक्षा विधेयकबारे छलफल सुरु भएको छ । समितिमा बुधबारदेखि विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल सुरु भएको हो ।

अन्य विधेयकहरु माथिको छलफल सकिएसँगै शिक्षा विधेयकमाथिको छलफल सुरु गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । ०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयक माथि १५७ सांसदहरुले संशोधन हालेका छन् । प्रतिनिधि सभाले विधेयक माथि दफावार छलफल गरेर टुङ्ग्याउन समितिमा पठाएको थियो ।

समितिले सरोकारवालासंग एक चरणको छलफल सकिसकेको छ । त्यस्तै संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासँग पनि छलफल सकिएको सभापति थापाले बताए । बुधबारदेखि सुरु भएको छलफलमा बाँकी संशोधन कर्ताहरुसँग छलफल सुरु भएको छ ।

विद्यालय शिक्षा विधेयक माथि पछिल्लो पाँच महिनादेखि छलफल हुनै सकेको थिएन । सुमना श्रेष्ठ शिक्षा मन्त्री भएको बेलामा यो विधेयक माथि एक पटक पनि छलफल हुन सकेन । विद्या भट्टराई शिक्षा मन्त्री भएको तेस्रो दिनमै विधेयक माथि छलफल सुरु भएको हो ।

‘अब विधेयक माथि नियमित छलफल हुने सभापति थापाले बताए । यो विधेयकमा निजी विद्यालय गुठीमा हुने कि कम्पनीमै रहने ? शिक्षक संघको हुने कि स्थानीय तहको हुने, विद्यालय कर्मचारी, इसीडी, कक्षा ११ र १२ पढाउने शिक्षकको व्यवस्थापन कसरी गर्ने ?भन्ने विषय विवादित छ ।बुधबारको छलफलमा सांसदहरु बाशुदेव घिमिरे, प्रतिक्षा तिवारी, राजेन्द्र पाण्डेलगायतले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस्