काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं,’ सुवेदीले भने ।

सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका हुन् । ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।

सोमबार साँझ बसेको महासंघको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

यस्तै महासंघले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ । महासङ्घले विद्यालय शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनमा समर्थन र सहभागिताका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसँग अनुरोध समेत गरेको छ ।

दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्