२०७६ असोज २७ गते

पर्याप्त भौतिक पूर्वाधार हुने हो भने हामी नजिकका सबै निजी विद्यालय सुकाइदिन्छौं

 



डा. गीता खरेल
प्रधानाध्यापक

रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं



अरु सामुदायिक विद्यालय भन्दा रत्नराज्य के मानेमा फरक छ ?
हामी अन्य विद्यालयसँग प्रतिस्पर्धा गर्न भन्दापनि आफूले राम्रो गर्नुपर्छ भनेर लागिरहेका छौं । हामी जागिरे मानसिकताभन्दा माथि उठेर निरन्तर विद्यालय सुधार अभियनमा छौं । सामुदायिक विद्यालय पनि निजीभन्दा कम छैनन्, अझ राम्रा छन र धेरै राम्रा काम गर्न सक्छन् भनेरै लागिएको अवस्था छ । त्यसैले, हाम्रो प्रतिस्पर्धा पनि सामान्य रुपमा अन्य सामुदायिक विद्यालय भन्दा पनि निजी विद्यालयहरुसँग नै हो । यस वर्ष हामीले ५७५ जना नयाँ विद्यार्थी भर्ना गरेका छौं । जसमा ४५० बढी निजी विद्यालय छाडेर आएकै विद्यार्थीहरु छन् । भवन अभावमा हामीकहाँ भर्ना नपाएर सयौं निजी विद्यालयका विद्यार्थी फेरि उतै फर्केका छन् ।


विद्यालयका राम्रा अभ्यासहरुे के–के छन् ?
मैले अघि नै भनेँ नि, हाम्रो प्रतिस्पर्धा निजी विद्यालयसँगै हो । हामी सकभर निजी विद्यालयभन्दा कम सुविधा र शिक्षा दिन नपरोस् भनेर निरन्तर क्रियाशील रहँदै आएका छौं । हामीकहाँ अंग्रेजी मध्यममै पठनपाठन हुने गरेको छ भने कक्षा ३ देखि नै कम्प्यूटर शिक्षा दिँदै आएका छौं । मल्टिमिडिया र प्रोजेक्टरको माध्यमबाट सिकाउँदै आएका छौं । हाम्रो विद्यालयमा विद्यार्थीले मात्रै होइन, शिक्षकले समेत गृहकार्य गर्नुहुन्छ । भोलि के पढाउने, के शैक्षिक सामग्री प्रयोग गर्ने, इन्टरनेटबाट के खोजेर पढाउने, कसरी पढाउदा बुझ्छन् भनेर पूर्व तयारी गरेपछि मात्रै शिक्षकहरु कक्षाकोठामा प्रवेश गर्नुहुन्छ । विद्यार्थीहरुलाई डायरी उपलब्ध गराएका छौं । अभिभावकले गृहकार्य आफैं चेक गर्ने, गरे/नगरेको हेर्ने गर्नु हुन्छ । इन्टरनेट र पुस्तकालयमा आधारित सिकाइ गर्दै आएका छौं । विभिन्न हाउसमा छुट्याएर विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र परियोजना, खोजमुलक कार्यमा समेत सहभागी गराउँदै आएका छौं । हामी कक्षाकोठको सुधारमै बढी केन्द्रित हुँदै आएका छौं । त्यसैले, हाम्रा एसइइ परीक्षाको नतिजा र अन्य कक्षाहरुको सिकाइ उपलब्धि उत्कृष्ट रहँदै आएको छ । हामी पाठ्यपुस्तकमा मात्रै सीमित भएर सिकाउँदैनौं । पाठ्यक्रममा आधारित भएर आवश्यक सबै सिकाउँछौं । हामी विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण सिकाइ गर्दै जीवनपयोगी सीप दिन्छौं ।

सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
वास्तविक रुपमा भन्ने हो भने सिकाइ र भौतिक पूर्वाधारको नजिकको सम्बन्ध हुन्छ । विद्यालय परिसर, कक्षाकोठा, खानेपानी, शौचालय, खेलमैदान, शान्त वातावरण आदिले शिक्षामा प्रत्यक्ष असर पार्छ जस्तो लाग्छ । हामीकहाँ विद्यार्थीको चाप थेगिनसक्नु छ । हामीले भौतिक पूर्वाधार र कक्षाकोठाको अभावमै आएजतिका विद्यार्थीहरु भर्ना गर्न सकिरहेका छैनौं । हामीकहाँ अहिले २१ सय विद्यार्थी छन् । कक्षा नौमा ए,बि,सि,डि र इ गरी पाँच सेक्सन बनाएर पढाइरहेक छौं । अन्य कक्षाहरुको हालत पनि त्यस्तै छ । यदि हामीकहाँ पर्याप्त भौतिक पूर्वाधार हुने हो भने हामी नजिकका सबै निजी विद्यालयहरु सुकाइदिन्छौं । यो हाम्रो घमण्ड होइन । गरेरै देखाउनेछौं ।

सामुदायिक विद्यालयका खास समस्याहरु के हुन् ?
सामुदायिक विद्यालयका हामी शिक्षकहरु जागिरे मानसिकताका भयौं । हामीलाई हामीभित्रको योग्यता र जिम्मेवारीको बोध भएन । समुदायिक विद्यालयका शिक्षकहरु एक से एक छन् । सामुदायिकमा जागिर खान नपाएपछि मात्रै शिक्षकहरु निजीमा जाने हुन् । तर, त्यहाँ पेशाको सुनिश्चिता नभएकाले पेशा जोगाउन शिक्षकहरु मिहिनेत बढी गर्छन् । तर, तिनै शिक्षकहरु सामुदायिकमा आए फेरि अल्छि बन्छन् । सुविधा पनि धेरै छ । जागिरको सुनिश्चिता पनि धेरै छ । तर, शिक्षकमा जिम्मेवारी बोध भएन । दलको झण्डा बोक्ने, राजनीति गर्ने र दलकै आडमा अल्छि गर्ने शिक्षकहरुका कारण सामुदायिक विद्यालयहरुले अपेक्षित सुधार गर्न नसकेका हुन जस्तो लाग्छ । हामीकहाँ विद्यालय समयमा राजनीति गर्न पूर्ण प्रतिबन्ध छ ।

सामुदायिक विद्यालयले समुदायको विश्वास आर्जन गर्न किन नसकेका होलान् ?
मुख्य कुरा गुणस्तरीय सिकाइ नै हो । अभिभावकहरु आधा पेट खाएर पनि सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन् । सामुदायिक विद्यालयको सिकाइ स्तर कमजोर भएकाले नै अभिभावकहरु निजी विद्यालयप्रति आकर्षित भएका हुन् । यदि हामीले सामुदायिक विद्यालयको सुधार ग¥यौं भने निजी स्कूलहरु आफैं बन्द हुन्छन् । हामीकहाँँ उद्योगी, व्यापारीदेखि लिएर सांसदसम्मका छोराछोरी पढिरहेका छन् । धेरै अभिभावकहरुले निजीबाट झिकेरसमेत यहाँ भर्ना गर्नुभएको छ । हाम्रो र निजी स्कूलबीच अन्तर नपाएकाले नै यो विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै गइरहेको छ । हाम्रा शिक्षकहरुले समेत निजी विद्यालयबाट झिकेर छोराछोरी यहाँ भर्ना गर्नुभएको छ । हाम्रो विद्यालयमा पाँचजना सांसदका छोराछोरीसमेत अध्ययन गरिरहेका छन् ।


सामुदायिक विद्यालयले निजीसँग कहिले प्रतिस्पर्धा गर्नसक्ने होलान् ?
न सबै निजी विद्यालयहरु उत्कृष्ट छन् न त सबै सामुदायिक विद्यालयहरु कमजोर नै । हो, निजीले राम्रो गरेका छन् । तर, उनीहरुले राम्रो गरेका छन् भन्दैमा त्यसबाट डराउने, रिस गर्ने, हरेश खाने होइन । उनीहरुले कसरी राम्रो गरेका हुन् भनेर उनीहरुको राम्रा अभ्यास सिक्ने हो । अमृत रोपेपछि विष फल्दैन । राम्रो गरे राम्रै परिणम आउने हो । यदि नराम्रो परिणम आयो भने हामीले राम्रो गरेनछौं भनेर सुधार गर्ने हो । निजी विद्यालयहरु बन्द गर्नु समाधान होइन, सामुदायिक विद्यालयहरु राम्रो गर्न सके निजी आफैं बन्द हुन्छन् । त्यसैले सामुदायिक विद्यालय सुधारमा लाग्नै पर्छ । यो असम्भव छैन । मिहिनेत गर्नुप¥यो ।


सामुदायिक विद्यालयको सुधारमा समुदायको कस्तो भूमिका रहन्छ ?
ठूलो भूमिका रहन्छ । समुदायको सहयोग, चासो र सहकार्यविना विद्यालय आफैंले कायापलट गर्न सक्दैनन् । भूकम्पले भवन भत्काएपछि हामी नयाँ भवनका लागि सहयोग माग्न अभिभावकहरुको घर–घर धायौं । शुरुमा मैले एक लाख रुपैयाँ सहयोग गरेर थालनी गरे । पछि एक अभिभावक एक ईंट्टा सहयोग अभियान चलायौं । अभिभावकहरुले धेरै सहयोग गर्नुभयो । हामीले भवन बनाउन सक्यौं । सांसद राधेश्याम अधिकारीले त तीनै वर्षको सांसद विकास कोषको रकम सहयोग गरेर हामीलाई भवन, सभाहल र ग्राउण्ड बनाउन सहयोग गर्नुभयो ।  विद्यालयमा खानेपानी, शौचालयदेखि डेस्क–बेञ्चसम्म समुदायले सहयोग गरेको छ ।

सामुदायिक विद्यालयमा नेतृत्वको कमी भएको हो ?
कमी नै भएको हो भन्ने त लाग्दैन । तर, विद्यालय सुधारका लागि असल नेतृत्वको आवश्ययकता भने पर्छ । सही नेतृत्वको सही निर्णय र प्रयासबाटै सुधार हुने हो । प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षलगायतका नेतृत्वले आफ्नो भूमिका पूरा नगरेकाले नै समस्या आउने हो । हाम्रो विद्यालयको सन्दर्भमा नेतृत्वको टिमवर्क छ । अझ शिक्षक र विद्यार्थीको पनि टीमवर्क छ । स्वार्थभन्दा माथि उठेको नेतृत्वले नै अरुभन्दा फरक गरेर देखाउने हो । राजनीतिमुक्त नेतृत्व आवश्यक छ । विद्यलयमा हामी सबैको चिन्ता, चासो र क्रियाकलाप गुणस्तरीय सुधारमा केन्द्रित रहँदै आएको छ । त्यसैले, परिणाम पनि राम्रै देखिएको छ ।

महिला प्रधानाध्यापकका समस्या र चुनौती हुन्छन् या हुँदैनन् ?
महिला भएकैले समस्या पर्छ जस्तो लाग्दैन । ठूलो कुरा इमान्दारिता, मिहिनेत, जिम्मेवारी बोध र निस्वार्थ सेवा नै हो । महिला–पुरुष जो भएपनि राम्रो गरे केही समस्या पर्दैन । महिला प्रअहरुका विद्यालयहरु पनि उत्कृष्ट छन् । पहिलाको जस्तो समस्या हिजो–आज छैन ।

अन्य सामुदायिक विद्यालयहरुलाई के सुझाव दिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा इच्छा शक्ति नै हो । अनि निरन्तरको मिहिनेत हो । सुधार गर्ने हामीले नै हो । अरु कोही आउँदैन । गरे असम्भव भन्ने कुरा केही छैन । स्वार्थबाट माथि उठे अनि निरन्तर शिक्षण सिकाइ सुधारमा लाग्ने हो भने परिणाम राम्रै हुन्छ ।

विद्यालयको अबको योजना ?
हामी योजना र लक्ष्य मात्रै बनाउँदैनौं । पूरा नभएसम्म निरन्तर खट्छौं । र त्यो पूरा गरेरै छाड्छौं । हामीले पाँच वर्षभित्र टाढाका विद्यार्थीहरुका लागि विद्यालयमा होस्टेल बनाउने, एउटा स्कूल बसको व्यवस्था गर्ने, हाम्रा समुदायका एकजना पनि विद्यार्थी अन्य विद्यालयम जानु नपर्ने वातावरण बनाउने लक्ष्य राखका छौं । साथै, एक शिक्षक एक ल्यापटपको व्यवस्था गरी शिक्षक–विद्यार्थी र सिकाइलाई प्रविधिमैत्री बनाउने योजना छ । यसका लागि दाताहरुसँग सहयोगको अपेक्षासमेत गर्दछु ।


प्रस्तुतिः रोशन क्षेत्री गाउँले



साभार : आजको शिक्षा साप्ताहिक

Comments: