सिकाइका समस्या हरेक तहमा उत्तिकै व्याप्त छ । तर, तल्लो कक्षाहरु खास गरेर कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरुमा हुनुपर्ने न्यूनतम सिकाइ सीपको स्तर ज्यादै कमजोर रहेको छ । हामीले सामान्यतः बुझ्ने गरेका सिकाइका सीप चारथरिका छन्ः सुनाइ, पढाइ, लेखाइ र बुझाइ । तर, यी चार थरिका सीपहरु साक्षरता सीप अर्थात् Literacy Skills अन्तर्गत पर्छन् । साक्षरता सीप भनेको हामीलाई चाहिने अन्य महत्वपूर्ण सीप सिक्नका लागि माध्यम मात्र हो । त्यसैले, साक्षरता सीपलाई आधारभूत सीप (Foundational Skills) पनि भन्ने गरिन्छ । हामी यहीनेर चुकेका छौं ।
हाम्रो पाठ्यक्रमले तल्लो कक्षादेखि नै आधारभूत सीपमा भन्दा पनि विषयको ज्ञान (Content Knowledge) मा बढी जोड दिएको छ । कक्षा एकदेखि नै भाषासहित सातवटा विषय (नेपाली, विज्ञान, गणित, अंग्रेजी, सिर्जनात्मक कला, कम्प्यूटर र सामाजिक शिक्षा) पढाइनुले स्पष्ट पार्छ कि हाम्रो ध्यान कतातिर छ भनेर । विषयको ज्ञान अवश्य पनि महत्वपूर्ण छ । तर त्यसबेला मात्रै, जब हामी राम्रोसँग पढ्न र बुझ्न सक्छौं । अर्थात्, जब हामी आधारभूत सीपमा निपुण हुन्छौं तब मात्र विषयगत ज्ञान प्राप्त गर्न सक्षम हुन्छौं ।
सिकाइको कुरा गर्दा हामी धेरैले पढेको वा बढी चर्चामा रहेको भनेको educational psychologist Dr Benjamin Bloomsको Bloom’s Taxonomy नै हो । डा. ब्लुमले सिकाइका ६ वटा आयाम अर्थात् विद्यार्थीमा हुनुपर्ने न्यूनतम सीप (सम्झिन, बुझ्न, प्रयोग एवं विश्लेषण, मूल्याङ्कन गर्न र सिर्जना गर्न सक्ने) का बारे चर्चा गरेका छन् । यी ६ वटै सीप सिक्नका लागि चाहिने आधारभूत सीप भनेको फेरि पनि साक्षरता सीप नै हो ।
माथि नै भनियो, आधारभूत सीप भनेको अन्य सीप सिक्नका लागि विद्यार्थीको तयारी हो । तर विद्यार्थीले सिक्नुपर्ने सीपका लागि तयार नै नगरी ज्ञान (Knowledge|for Content Knowledge) को भारीअनायासै र कदाचित जबर्जस्ती थोपरी दिएका छौं । शिक्षकलाई दिइने तालिमले पनि विषयगत सिकाइमा जोड दिएको छ भने विद्यार्थी मूल्याङ्कन विधिले पनि पाठ्यक्रमले तय गरेका विषयगत ज्ञानलाई नै बढी महत्व दिएर विद्यार्थीलाई पास वा फेल गरेको पाइन्छ । त्यसैले विद्यार्थीहरु सिकाइ सीपमा दक्ष नभइकनै विषयगत ज्ञान घोकेकै भरमा कक्षा चढ्ने गरेका छन् ।
सिकाइ कसैबाट प्राप्त गर्ने विषयभन्दा पनि एउटा सक्रिय, सिर्जनात्मक प्रक्रिया हो भन्ने कुरा भिगोत्स्की, पियाजे, जोन डिवि, बु्रनर जस्ता मनोविज्ञान, दर्शन, शिक्षा तथा समाजशास्त्रका विद्वानहरुले गरेका छन् । हावर्ड गार्डनरले ‘फ्रेम्स अफ माइण्डः द थ्योरी अफ मल्टीपल इन्टेलीजेन्सेज’ मा मानिसमा जन्मजात हुने विभिन्न सात (पछि थप गरेर नौ) थरीका दक्षताका बारेका कुरा गर्दै सिकाइको तरिका एकैनासको हुँदैन । तसर्थ, विद्यार्थीको सिकाइको शैलीको पहिचान गर्न जरुरी छ तब मात्र प्रभावकारी सिकाइ हुन सक्छ । सिकाइलाई अन्तक्र्रियाद्वारा सहज बनाउन सकिन्छ भनेका छन् । यी भनाइविपरित, पाठ्यपुस्तककै भरमा हाम्रो सिकाइ सीप र विषयगत ज्ञानका कुराहरु टिकेको छ ।
सन् २०१३ मा सेभ द चिल्डे«नले प्रकाशित गरेको एक अध्ययन ‘Ending the Hidden Exclusion (2013),’ ले विद्यार्थीहरुको कमजोर सीप सिकाइप्रति लक्षित गर्दै यसो भनेको छ, ‘बालबालिकाहरु विद्यालय बाहिर रहनु अवश्य पनि अन्याय हो तर लाखौं यस्ता बालबालिका छन् जो विद्यालयभित्र रहेर पनि अधारभूत सीप सिक्ने अवसर पाउन सकेका छैनन् । यस्ता बालबालिका विश्वभर लगभग १३ करोड रहेका छन् । जो विद्यालय भित्र रहेर पनि आधारभूत सीप सिक्नबाट बञ्चित छन्, यो एउटा कहालीलाग्दो यथार्थ हो जसले विगत दशकमा गरिएको विद्यालय भर्ना अभियानको प्रयासलाई ओझेलमा पारेको छ ।’ अर्को शब्दमा भन्ने हो भने, यसरी बालबालिकालाई विद्यालय भित्र ल्याएर आधारभूत सीप सिक्नबाट बञ्चित गरिनु निश्चय पनि अपराध हो ।
दयनीय भौतिक संरचना, टड्कारो रुपमा देखि नै पुस्तकालय वा पुस्तक तथा पठन सामग्रीको अभाव, कमजोर तथा अभावग्रस्त शैक्षिक वातावरण आदी सामुदायिक विद्यालयहरुमा सहजै देख्न सकिने कुराहरु हुन् । यी पूर्वाधारसँग सम्बन्धित कुराहरु शिक्षाको गुणस्तरका सवालमा जति महत्व राख्छन्, त्यति नै वा अझ बढी महत्व राख्छ दक्ष शिक्षकको आपूर्ति, शिक्षकमा भएको सिकाइसम्बन्धी सीप तथा पढाइ विधिले ।
अबको बाटो
पहिलो कुरा, शिक्षकको सोचाइ र कक्षाकोठामा गरिने व्यवहारलगायत शिक्षण विधिमा परिवर्तन गर्न जरुरी छ । शिक्षकलाई ज्ञान दिने वर्गभन्दा पनि ज्ञान सिर्जना गर्ने सहयोगी पात्रका रुपमा पुनः प्रबोधिकरण गर्न जरुरी छ । विद्यार्थीलाई ज्ञान लिने वर्गभन्दा पनि ज्ञान सिर्जना गर्ने सक्रिय सहभागीका रुपमा स्थापित गर्न जरुरी छ । पाठ्यपुस्तकमा भन्दा सीपमा आधारित, घोकाइमा भन्दा सिकाइ नतिजामा आधारित विषयवस्तुमा भन्दा दक्षतामा आधारित शिक्षा प्रणालीको विकास गर्न जरुरी छ ।
दोस्रो कुरा, पढाउने हो कि, सिकाउने हो ? पढाउने हो भने शिक्षक दह्रो हुनु प¥यो । त्यसो हुँदा शिक्षकमा विषयसम्बन्धी ज्ञान पढाउने सीप हुनु अनिवार्य छ । तर यदि सिकाउने हो भने विद्यार्थीलाई दह्रो बनाउनुप¥यो । सिकाउनका लागि शिक्षकमा विषयसम्बन्धी ज्ञानभन्दा बढी बेग्लै सीप र साेंचको आवश्यकता पर्दछ । विद्यार्थीको आवश्यकता, क्षमता र लगावको पहिचान गर्न सक्ने सीप शिक्षकमा हुनु पर्दछ । हामीले पढाउने बुद्धि दियौं । पढाउनकै लागि शिक्षक तयार ग¥यौं । त्यसैले, शिक्षकको योग्यता बढी खोज्न थाल्यांै । भएभरका सुविधा दिएर शिक्षकलाई दह्रो बनायौं । विद्यार्थीलाइ कमजोर बनाइरह्यौं । विद्यार्थीलाई दह्रो बनायौ भने अहिलेको शिक्षक दरबन्दीको समस्या आफैं समाधान हुन्छ । समाज, घरपरिवार, रीति थितिलाई खुला पुस्तकका रुपमा लिन सक्यौं भने पाठ्यपुस्तकको झमेलामा अल्झिरहनु पर्दैन ।
समग्रमा भन्नुपर्दा शिक्षण सिकाइको जग अतिनै कमजोर छ । तसर्थ, एसएलसीको नतिजामा भन्दा तल्लो कक्षामा सिकाइको स्तर बलियो बनाउनु जरुरी छ । तसर्थ, सिकाइ सीप विकासका लागि निश्चित मापदण्ड तथा शिक्षण विधि तय गर्ने । प्रारम्भिक कक्षामा रहेको अहिलेको विषयगत पाठ्यभारलाई सिकाइ सीपमा केन्द्रित गर्ने । विषयगत ज्ञानलाई कक्षा ४ देखि बिस्तारै थप्दै लैजाने । सिकाइ सीप केन्द्रित शिक्षक विकासका कार्यक्रम लागू गर्ने । आधारभूत सीप विकासका लागी विभिन्न भाषामा प्रशस्त सामग्री विकास गर्ने । विद्यालयमा पुस्तकालय अनिवार्य गर्ने । शिक्षण विधि परिवर्तन गर्ने । अन्त्यमा, हामीले चाहेपनि नचाहे पनि, विद्यार्थी र शिक्षकको दुबैको निरन्तर मूल्याङ्कन गर्नु पर्छ ।