२०७६ असोज १ गते

विद्यालय बनाउन पहिला आफैं मोडल बनेको छु

 


डोरबिक्रम श्रीष
प्रधानाध्यापक, सिद्धबाबा उमावि, तम्धास, गुल्मी

विद्यालयको समग्र अवस्था कस्तो छ ?

भौतिक र शैक्षिक अवस्था कुनैपनि विद्यालयको यथेष्ट र पर्याप्त छैन । सायद हुँदापनि हुँदैन होला । एउटा बनायो अर्को अवश्यकता परिहाल्छ । आवश्यकताहरु थपिनै रहन्छ । विद्यार्थीलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गरौं । अहिलेको युग भनेको सूचना प्रविधिको हो । हामीले सिकाइमा सूचना प्रविधिको प्रयोगलाई पनि फोकस गरेर लगिरहेका छौं । अभिभावकहरुको अंग्रेजी भाषाप्रतिको मोहलाई पनि सम्बोधन गर्दै लगिएको अवस्था हो । सिद्धबाबा उमाविले आजसम्म समुदाय, विद्यार्थी र अभिभावकको विश्वास जितिरहेको अवस्था छ । हाम्रो विद्यालयमा जिल्लामै सबैभन्दा बढी विद्यार्थी छन् । यहाँ अहिले १४०० विद्यार्थी छन् । एसएलसीमा विगतदेखि नै ९० प्रतिशतको हाराहारीमा र गत वर्ष ग्रेडिङ प्रणालीमा पनि हाम्रा विद्यार्थीको सी प्लसभन्दा कम आएन । यसको अर्थ अब बाँकी सुधार गर्नपर्ने छैन भनेको होइन । हामी विद्यालय परिवार अझ सुधारका लागि लागिरहेका छौं । हामीकहाँ अझ खेलमैदान पर्याप्त छैन । कक्षाकोठा पनि पुग्दो छैन । अहिलेको अवस्था अनुसार व्यवस्थापन गर्नुपर्ने ल्याबहरु, पुस्तकालय र वाचनालयहरुको पर्याप्त व्यवस्थापन गर्न सकिएको छैन । तथापि वरिपरिका अन्य विद्यालयका तुलनामा हामी केही अगाडि नै छौं ।


विद्यालयलाई समुदायको सहयोग कस्तो छ ?
समुदायको धेरै लाखौं/करोडौं ठूलो सहयोगभन्दा पनि निरन्तर सहयोग र चासो रहँदै आएको छ । समुदायकै सहयोगमा स्थापना भएको विद्यालयलाई यहाँसम्म ल्याउन विभिन्न तहमा सघाऊ हुँदै आएको छ । दरबन्दीविनै समुदायले विद्यालय सञ्चालन गर्दै राम्रो बनाउँदै लगेपछि जिल्ला शिक्षा कार्यालयलाई पनि सहयोगका लागि दबाब भयो । अनि बिस्तारै दरबन्दी उपलब्ध गराउँदै गयो । बिस्तारै भौतिक सुविधाहरु, कम्प्युटर ल्यावहरु सहयोग गर्दै गयो । समुदायले पनि परेको खण्डमा धेरै सहयोग गर्दै आएको छ । १० एउटा यस्तो पनि उदाहरण छ कि गोर्खा वेलफेयर स्कीमले जग्गा भए एउटा आठ कोठे भवन बनाइदिन्छु भनेको थियो । जग्गा नभएपछि समुदायको भेलाले ३० जना समुदायको जग्गाको लालपुर्जा वैंकमा राखेर ऋण निकालेर विद्यालयका लागि जग्गा किनियो । पछि बिस्तारै विद्यालयले एक–एक जनाको गरी उनीहरुको लालपुर्जा बैंकबाट निकाल्यो । अभिभावक, शिक्षक समूह सबैको मेल छ ।


विद्यालयको पहिलेको अवस्था कस्तो थियो ? कहिलेदेखि सुधारको सुरुवात ग¥यो ?
विद्यालय २०४३ सालमा दिलकुमारी थापाले प्रदान गरेको २÷३ रोपनी जग्गामा स्थापना भएको हो । त्यसमा जम्मा ४/५ कोठाहरु मात्रै बनेको थियो । विद्यालयले शुरुदेखि नै सिकाइलाई सुधार गर्दै लगेपछि बिस्तारै विद्यार्थीहरुको संख्या बढ्दै गयो । थोरै जग्गा, पाँचवटा कोठा मात्रै, शौचालय, ल्याव छैन । ०५२/५५ त्यस्तो अवस्था थियो । पछि अभिभावकहरुले विद्यालयमा भौतिक सुविधा थप्नु पर्छ बरु आवश्यक सहयोग गर्छौं भनेपछि बिस्तारै भौतिक सुविधा थपिँदै गए । र, हालको अवस्थामा पुग्यो ।


विद्यालयको प्रगतिको कारण के हो ?
सामुहिक प्रतिबद्धता र सहकार्यले नै विद्यालयले निरन्तर सुधार र सफलता चुम्दै गएको हो । एउटा पक्ष मात्रै लागेर केही हुँदैन । समुदायको सहयोग, प्रधानाध्यापकको कुशल नेतृत्व, शिक्षकहरुको सामुहिक प्रयासको मेल नै आजको सिद्धबाबा हो । ०६० सालमा विद्यालय समुदायमा हस्तान्तरण भएपछि हामीले विद्यालयलाई योजनाबद्ध सुधार गर्दै लग्यौं । सबै एकजनाले वा एकपक्षले गर्ने भन्दापनि जिम्मेवारी बाँडेर विद्यालयले सिस्टम तयार ग¥यो । सिस्टमले काम गर्न थालेपछि प्रगति हात पर्दै गयो । यो सबैको प्रयासले मात्रै सम्भव भएको हो ।


विद्यालयहरु एकपटक चरमोत्कर्षमा पुग्ने र बिस्तारै गिर्दै जाने अवस्था छ । विद्यालयलाई यही अवस्थामा टिकाउँदै थप सुधारका लागि योजना के छ ?
हाम्रो मुख्य समस्या नै विद्यालयलाई यो अवस्थाबाट खस्कन नदिई अझ सुधार गर्दै लग्नु हो जुन चुनौतीपूर्ण छ । हाम्रो मुख्य ध्यान यसैमा केन्द्रित गरेका छौं । हामीले कम्तिमा पनि ५००० सहयोग गर्ने दातालाई सम्मान गर्ने, वार्षिक पत्रिकामा नाम छाप्ने, तस्बिरसहितको अभिलेख राख्ने गर्दै आएका छौं ।

विद्यालय राम्रो हुन एकजना प्रधानाध्यापकको भूमिका कस्तो हुनु पर्छ ?
प्रधानाध्यापक पहिले आफू मोडल बनेर उसले नेतृत्व गर्न सके मात्रै विद्यालय राम्रो बन्दैे जान्छ । प्रअ भनेको समन्वयकर्ता पनि हो । अभिभावक, विद्यार्थी, शिक्षक, दाता, स्रोतकेन्द्र, विव्यस, पिटिए र जिशिका सबैसँग समन्वय कार्य गर्नुपर्ने भएकाले उसको भूमिका महत्वपुर्ण हुन्छ । कामचाहिँ सबैले गर्नुपर्छ । त्यसका लागि समन्वय प्रअले गर्नुपर्छ ।


तपाईँले विद्यालयमा सिस्टम व्यवस्थापन र विभिन्न पक्षसँग समन्वयका लागि के–के गर्नुभयो ?
म समूहमै काम गर्छु । समुदायसँग सम्बन्ध सुधार गर्न एउटा समिति नै बनाइएको छ । विद्यालयको तनाब व्यवस्थापन गर्न पनि समिति छ । विद्यालयमा छात्रवृत्ति व्यवस्थापनका लागि छुट्टै समिति छ । कसलाई के दिने भन्ने कुरा त्यसले समन्वय गर्छ । सल्लाहकार समिति, निर्माण समिति, सामाजिक परीक्षण समिति, आर्थिक सहयोग संकलन समिति, यस्ता विभिन्न समितिहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यालयले सुधार गर्दै गएको छ । मैले सिस्टमको समन्वय, निरीक्षण र अनुगमन गर्ने, आवश्यक सल्लाह दिने काम गर्छु । विद्यालयमा साँस्कृतिक क्लब, जुनियर सर्कल, स्काउट बालक्लब, इको क्लब छ । सरसफाईको जिम्मा इको क्लबले लिन्छ । विद्यालयमा प्लास्टिक हुनहुन्न भनेर त्यो हटाउने गरिएको छ । साँस्कृतिक कार्यक्रम र प्रतियोगिता साँस्कृतिक क्लबले गर्छ । अतिरिक्त क्रियाकलापअन्तर्गत क्लबले नै हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्ने गर्छ ।


प्रधानाध्यापकले सबै कामको जिम्मा लिने र सबै जिम्मेवारी ओगट्दा राम्रो काम नभइरहेका अवस्थामा विद्यालयमा जिम्मेवारी भाग लगाएर बाँड्दा काम गर्न कत्तिको सहज छ ?
प्रअ वा विव्यसले सबै गर्न सक्दैनन् । सबै गर्न खोजे कुनैपनि प्रभावकारी हुँदैन पनि । हामीले सबै जिम्मेवारी विभिन्न समितिहरुमा बाँडेका छौं जस्तो कि भवन निर्मण समितिले गर्छ । त्यहाँ विव्यससमेत आउँदैन । यो अनिवार्य छ । म प्रधानाध्यापक नभएपनि विद्यालय सिस्टममा चल्छ । परीक्षा समितिले परीक्षाको तयारी, निर्माण समितिले भवन बनाउने, साँस्कृतिक समितिले साँस्कृतिक प्रतियोगिताको तयारी, विभिन्न तहका सहायक प्रअहरुले विद्यालयको तहगत अनुगमन गरिराखेका छन् । सामुदायिक विद्यालयमा खाँचो भनेकै सिस्टमको हो । विव्यसको अध्यक्ष र प्रअ मात्रैले सबै काम गर्दा विद्यालयप्रति अरुको अपनत्व हुँदैन । हामीले जिम्मेवारी बाँडफाँड गरेपछि सबैको अपनत्व बढेको छ ।


सक्षम प्रधानाध्यापक बन्न के गर्नुपर्ला ?
धेरै केही गर्नु पर्दैन । खुरुखुरु आफ्नो जिम्मेवारी पूरा गरे मात्रै पुग्छ । आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गरे विद्यालय आफै सुध्रन्छ । म केही नयाँ गर्दिनँ । हरेक दिन समयमा वा समयपूर्व विद्यालय पुगी पहिले शिक्षक साथीहरुसँग सानो छलफल गर्छु । दिनभरी के गर्ने ? आज नयाँ के गर्ने ? भनेर । त्यसको साझँ फेरि रिभ्यु गर्छु । हरेक दिन केही कक्षाहरुमा पढाउने र केहीको अवलोकन गर्ने गर्छु । विभिन्न विभाग छुट्याएर सहायक प्रअलाई जिम्मेवारी दिएको छु । त्यसको निरीक्षण र फिडब्याक लिन्छु । विद्यार्थीहरुसँग हरेक दिन अन्तक्र्रिया गर्छु । यति गर्दा नै विद्यालय राम्रो बनेको छ । कुनै शिक्षक नआए अर्को शिक्षकलाई त्यस कक्षामा पठाउँछौं । त्यसको लागि हामीले थप खाजा खर्च दिने व्यवस्था गरेका छौं । हरेक दिन साँझ हरेक कक्षाको लगबुक, डायरी हेर्छु । उपचरात्मक कक्षाहरु राख्ने गरेका छौं । त्यसको अनुगमन गर्छु ।


शिक्षकहरुले राजनीति गरेर विद्यालय बिग्रियो भन्ने आरोप छ । तपाईँको विद्यालयमा कस्तो छ ?
हाम्रो विद्यालय परिसर राजनीतिमुक्त छ । पहिले म र विव्यसका प्रतिनिधि नै मोडल भएपछि राजनीति निषेध गर्न गाह्रो छैन । पहिले दलका प्रतिनिधिहरुले संगठनहरु खोल्ने प्रयास गरेपनि हाल छाड्नुभएको छ । हामी विद्यालयमा विशुद्ध शैक्षिक क्रियाकलाप मात्रै गर्छौं ।


शिक्षकहरु आफू सरकारीमा पढाउने र छोराछोरी निजीमा लैजाने परिपाटी छ । सिद्धबाबामा के छ ?
विव्यस र शिक्षक परिवारले हाम्रै विद्यालयमा अनिवार्य छोराछोरी पढाउनै पर्छ । यसबारे निर्णय नै गरेका छौं । मेरो पनि एउटा छोरी १० मा र अर्काे ४ मा पढ्छन् । आफ्नो बच्चा त बाहिर राखेको छ, त्यसमा हाम्रोचाहिँ किन पठाउने ? भन्ने अभिभावकहरुको गुनासो पछि र शिक्षकले पनि आफ्ना बालबच्चालाई अंग्रेजी माध्ययममा पढाउने रुचि देखाएपछि हामीले विद्यालयमा पूर्ण अंग्रेजी माध्यममा पठनपाठन गर्दै आइरहेका छौं । विद्यालयमै छोराछोरी अनिवार्य गरेका छौं ।


अंग्रेजी माध्यममा लग्दा के समस्या आए ?
केही पुराना शिक्षकहरुमा त्यस्तो समस्या देखिएकै हो । हामीकहाँ सरकारी स्रोतका १८ जना र बाँकी निजी स्रोतका शिक्षक छन् । हामीले निजी स्रोतमा शिक्षक राख्दा अंग्रेजी माध्यमलाई प्राथमिकतामा राख्यौं । विद्यालयलाई २०६० सालमा अंग्रेजी माध्यममा लग्दा केही सिनिएर शिक्षकहरुलाई विद्यालयमै अंग्रेजी शिक्षण तालिम दियौं । म अंग्रेजी शिक्षक नै भएकाले मैले पनि हरेक शिक्षण क्रियाकलापका लागि अंग्रेजी भाषा प्रशिक्षण दिए । केही वर्ष पछि बानी पर्दै गयो । गाह्रो हुने माथिल्लो तहका शिक्षकलाई तल्लो तहमा झारेर भएपनि व्यवस्थापन गरियो ।


विद्यालयले गरेका राम्रा अभ्यासहरु के–के हुन् ?
विद्यालयमा चारवटा स्मार्टबोर्ड, मल्टिमिडिया प्रोजेक्टर, कम्प्यूटर ल्याब बाहेक पनि हरेक कक्षाहरुमा एउटा कम्प्यूटर र प्रोजेक्टर राखेका छौं । मिडासका डिजिटल कक्षा, इन्टरनेटमा आधारित सिकाइ गर्दै आएका छौं । प्रत्येक विद्यार्थीका लागि पोर्टफोलियो निर्धारण गरेका छौं । विद्यार्थीले वर्षभरिमा के–के सिक्यो ? के–के चित्र बनायो ? कति परीक्षा दियो ? कस्तो उपलब्धि हासिल ग¥यो ? कुन–कुन प्रतियोगितामा भाग लियो ? भन्ने देखिनेगरी हरेक कक्षाहरुमा राख्ने गरेका छौं । विद्यार्थीका लागि पुस्तकालय कक्षा अनिवार्य गरेका छौं । एक विद्यार्थीले एक महिनामा एउटा पुस्तक सक्नै पर्छ । सानाले बालकथा र ठूला कक्षाकाले उपन्यास वा अन्य किताब पढ्नैपर्छ र त्यसलाई एसेम्बली वा कक्षाकोठामा डेलीभरी पनि गर्नुपर्छ । एक कक्षामा भर्ना भएको विद्यार्थी १२ पास गर्दासम्म कम्तिमा पनि एक सय बढी बाहिरी पुस्तक पढेर निस्कन्छ । यसले पढ्ने बानीको पनि विकास गर्छ । पुराना चिजहरुको संरक्षण, सम्बद्र्धन गर्न र सिकाइसँग जोड्न विद्यालयमा एउटा मिनी म्युजियमको व्यवस्थापन गरिरहेका छौं । अभिभावकहरुको सीप र सिकाइलाई विद्यार्थीको सिकाइसँग जोडिरहेका छौं । अभिभावकहरुले कृषि, मुडा र सुइटर बुन्न सिक्न तथा गाविस अध्यक्ष र हेल्थपोष्टका सहयोगीहरुबाट प्राथमिक उपचार विधिहरु सिकाउँछौं ।                          प्रस्तुति : रोशन गाउँले

साभार : आजको शिक्षा साप्ताहिक

Comments: