नवलपुर । देवचुलीस्थित दिव्यज्योति आधारभूत विद्यालयले शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरेको छ । विपन्न र जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकास र छात्रवृत्तिमा सहयोग गर्ने हेतुले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालय स्थापनादेखि हालसम्म विद्यालयको शैक्षिक उन्नयनका लागि अनवरत आर्थिक र भौतिक सहयोग गरेका डा. केशवराज भुर्तेलले स्वर्गीय पिता दिनानाथ भुर्तेल र स्वर्गीय माता बसुन्धरा भुर्तेलको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेका हुन् । भुर्तेल परिवारका छोराहरु डाक्टर केशवराज भुर्तेल, नारायणदत्त भुर्तेल, ईन्जिनियर हुमकान्त भुर्तेल तथा डा. डिल्लिराम भुर्तेल संरक्षक रहेको उक्त अक्षयकोष एक भव्य समारोहकाबिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरणको अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेल तथा प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठलाई अक्षयकोष हस्तान्तरण गरिएको हो ।
देवचुली नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ श्रेष्ठ तथा विव्यस अध्यक्ष पौडेलले अक्षयकोष स्थापनाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १२ का शैक्षिक तथा सामाजिक व्यक्तित्व रामप्रसाद भुर्तेल तथा ऋषि भुर्तेलले समेत विद्यालयमा स्थापित अक्षयकोषको सही सदुपयोग हुने विश्वास व्यक्त गर्दै कोषलाई अझै बढाउँदै जानुपर्ने धारणा राखेका थिए ।