धर्मेन्द्र जंग रायमाझी
प्रधानाध्यापक
राष्ट्रिय मावि शमीपुर,कालिका नगरपालिका-१, चितवन

विद्यालयको समग्र अवस्था सन्तोषजनक छैन । कक्षाकोठाहरू अपर्याप्त छन् । भौतिक अवस्था सन्तोषजनक नभएता पनि शैक्षिक अवस्था भने सुधारोन्मुख छ । स्कुल बस २ वटा छन् । ५०८ विद्यार्थीका लागि ३० जनाको शिक्षक कर्मचारी समूह कार्यरत छ । जसमा ८ जना प्रा.वि तहका, १ जना संघीय नि.मा.वि. तह, १ जना नगरस्तरीय मावि स्वयंसेवक, ४ जना बालविकास, १ जना विद्यालय सहयोगी र अन्य निजीस्रोतका छन् ।

शैक्षिक सुधारको लागि विद्यालयमा भएका फरक अभ्यासहरू के के छन् ?
वि.सं. २०४६ सालमा १ कक्षाको अनुमति प्राप्त गरेर कक्षा ५ सम्म सञ्चालनमा आएको विद्यालय वि.सं. २०५७ सालमा आइपुग्दा विद्यार्थी सङ्ख्या घटेर १६ जना पुगेको थियो । वि.सं. २०६८ सालमा विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन सुरु ग¥यो । त्यसपछि क्रमशः विद्यार्थीहरु फर्किन थाले । क्रमशः विद्यालयले कक्षा ६, ७, ८ को अनुमति प्राप्त गर्यो । विद्यालयमा पढाउने भन्दा पनि सिकाउन थालियो । व्यवहारिक ज्ञानमा बढी जोड दिन थालियो ।

कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा, विदाको दिन पनि कक्षा सञ्चालन गर्न थालियो । शैक्षिक सत्रको सुरुमै वार्षिक कार्ययोजना निर्माण गरिन्छ भने शिक्षकलाई शैक्षिक सामग्री निर्माण, व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षण तालिम दिन थालियो । जुन अहिले निरन्तर छ । विद्यालयमा तहगत इञ्चार्ज, कक्षागत इञ्चार्जलगायत कार्य विभाजन गरिने गरिएको छ । अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विभिन्न समितिहरु गठन गरिएको छ । कक्षा संचालन समिति, बालक्लब, रेडक्रस, स्काउट, स्वयंसेवक, इको क्लब जस्ता क्लबहरु गठन गरिएको छ । उनीहरुले आआफ्नो काम गर्छन् । वर्षको अन्त्यमा प्रतिवेदन बुझाउँछन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यालय सल्लाहकार समिति गठन गरिएको छ । हरेक निर्णयमा यी सबैपक्षको एकमना निर्णय हुने गरेको छ ।

कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
विद्यालयको वास्तविक अवस्थाको चित्रण गर्ने भनेकै विद्यालयको कक्षाकोठा कत्तिको बालमैत्री र सिकाइमैत्री छन् भन्ने कुराले हो । विद्यालयमा छुट्टै बालकक्षाहरूको व्यवस्था गरिएको छ । बालकक्षाहरू उत्कृष्ट छन् । पर्याप्त सिकाइ सामग्री, सिकाइ प्रविधि र शैक्षिक सामग्री सजाएर चिटिक्क पारिएका छन् । खानेपानी र शौचालयको राम्रो व्यवस्था छ । विद्यालयलाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको छ । विद्यालयमा स्मार्ट टि.भी, प्रोजेक्टर, स्मार्टबोर्डको व्यवस्था गरिएको छ ।

कक्षाकोठा सिकाइ सामग्रीले आफैँ बोल्ने खालका छन् । विद्यार्थीलाई कक्षामा बसूँ बसूँ, पढूँ पढूँ लाग्ने वातावरण सिर्जना गरेका छौँ । हाम्रा विद्यालयको कक्षाकोठा व्यवस्थापनको तरिका हेर्न नै धेरै शिक्षकहरू आउने गर्नु भएको छ । हाम्रो विद्यालयको लक्ष्य भनेकै हाम्रा विद्यार्थीहरु विद्यालय आउँदा रमाएर आउन र छुट्टि भएपछि पनि घर जान मन नगरुन् भन्ने हो । शिक्षक साथीहरूले यसका लागि धेरै मिहिनेत गर्नु भएको छ । अन्य राम्रा विद्यालयको भ्रमण गरी त्यहाँका राम्रा अभ्यासहरू विद्यालयमा लागू गर्ने प्रयास गर्नुभएको छ । इन्टरनेट र युट्युबमा खोजेर नयाँ नयाँ सिकाइ सामग्रीहरु बनाउने, नयाँ नयाँ शिक्षण विधि प्रयोग गर्ने गर्नु भएको छ ।

विद्यालयको सिकाइ उपलब्धिको अवस्था कस्तो छ ?
विद्यालयको खास समस्या भौतिक पूर्वाधारको कमी हो । त्यसको वावजुद हाम्रो लक्ष्य भनेको सिकाइ सुधार गर्नु हो । त्यसैले हाम्रा शिक्षक र विद्यार्थी त्यसैमा मिहिनेत गरिराख्नु भएको छ । हरेक कक्षा र विषयको सिकाइ उपलब्धि ५० प्रतिशत माथि छ । त्यसलाई सय प्रतिशत पुर्याउने गरी जुटिरहेका छौँ । त्यसका लागि कमजोर विद्यार्थीहरुको पहिचान, उनीहरुका लागि अतिरिक्त कक्षा, उपचारात्मक कक्षाको व्यवस्था गरिएको छ । शिक्षकहरुलाई पाठयोजना र शैक्षिक सामग्री विना कक्षाकोठामा प्रवेश नगर्ने अवस्था सिर्जना गरिएको छ । अभिभावक सचेतना, सिकाइका लागि संयुक्त पहलकदमीका प्रयास भएका छन् ।

विद्यार्थीको घरमा पनि सिकाइ वातावरण बनाउन शिक्षकहरुले विद्यार्थीको घरघरमा पुगेर अभिभावकलाई सम्झाउने, सिकाइ तालिका अनुगमन गर्ने गर्नु हुन्छ । हरेक शैक्षिक सत्रको सुरुमा हरेक शिक्षकहरुसँग सिकाइ उपलब्धि बढाउनेबारे करार सम्झौता गर्ने गरिएको छ । शिक्षकले पनि हरेक विद्यार्थीसँग सम्झौत ागर्ने गर्नुहुन्छ । हरेक परीक्षाको नतिजापछि त्यसबारे अभिभावकसहित छलफल हुने गर्दछ । एसईईमा उत्कृष्ट नतिजा हाँसिल भइरहेको छ । यो वर्ष पनि ६ पालिकामा सामुदायिक विद्यालयतर्फ प्रथम र जिल्लामै चौथो स्थान हासिल गर्न सफल भएका छौँ । अहिले हाम्रा शिक्षक, विद्यार्थीमा शमीपुर स्कुलका शिक्षक र विद्यार्थी हौँ भन्दा गर्व गर्ने अवस्था बनाएका छौँ ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था देशभर खस्किदै गइरहेको देखिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
यो कुरामा म सहमत छैन । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गइरहेको छ । लगानीअनुसारको प्रतिफल भने प्राप्त नभएको कुरालाई भने स्वीकार गर्नैपर्छ । यसको मुख्य कारण भने सरकारको शिक्षा नीति हो । जुन आफ्नो मूल जिम्मेवारीबाट पन्छिने खालको रहेको छ । सरकारले एकातिर शिक्षामा लगानी घटाउँदै लगेको छ भने अर्कोतर्फ निजी विद्यालयहरुलाई संरक्षण गरिरहेको छ । सरकारले कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा त गरेको छ तर व्यवहारमा लागू गर्न सकेको छैन । विद्यालयहरुमा विद्यार्थी शिक्षक अनुपातमा दरवन्दी दिन सकेको छैन । मसलन्द खर्च कम छ । बस दिइएको छ तर त्यसका लागि आवश्यक अन्य सुविधा दिइएको छैन ।

भर्ना अभियानबाट एकदिन भर्ना गरेपनि विद्यार्थीलाई वर्षभरि टिकाउने, गुणस्तरीय शिक्षा दिने कुनै तयारी देखिँदैन । बालबालिका भोको पेट घण्टौँ हिँडेर विद्यालय आउन बाध्य छन् । दिवा खाजा सकारात्मक छ । तर बजेट एकदमै कम छ । पाठ्यपुस्तक समयमा पाइँदैन । सामुदायिक विद्यालयहरुमा विद्याथीृ पाउनै मुस्किल हुन्छ । बल्ल तल्लक कक्षामा भित्राएका बालबालिकालाई शिक्षा दिनुपर्ने अवस्था छ । तर प्रतिस्पर्धा परीक्षा लिएर राम्रा राम्रा विद्याथीृ छानेर भर्ना गरेका निजी विद्यालयहरुसँग गर्नु परिरहेको छ । तर पनि सामुदायिक विद्यालयले राम्रो गरिरहेका छन् । यो प्रशंसायोग्य छ ।

अभिभावकले त अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन ति?
पूर्ण रूपमा नपत्याएको भन्न चाहिँ मिल्दैन । देशका बालबालिकामध्ये ठुलो हिस्सा अझै पनि सामुदायिक विद्यालयमै पढ्छन् । सामुदायिक विद्यालयहरुको नतिजा पनि राम्रो हुँदै गइरहेको छ । भर्ना हुनै सोर्सफोर्स लगाउनुपर्ने सामुदायिक विद्यालयहरु पनि छन् । तर, निजी विद्यालयलाई सामाजिक प्रतिष्ठाको विषय बनाइएको छ । धनी विद्यार्थी मात्रै पढ्ने भनेर स्थापित गर्न खोजिएको छ । अलिकति कमाउन साथ अभिभावक निजीमा पढाउन चाहन्छन् । पहिलेको अवस्थामा भने धेरै परिवर्तन आइसकेको छ । अँचेल निजीमा हुने टाई, बेल्ट र जुत्ता, स्कुल बस, अङ्ग्रेजी माध्यम, प्रविधिमैत्री सिकाइ सामुदायिक विद्यालयमै हुन थालेको छ । अझ दिवा खाजा, अतिरिक्त क्रियाकलाप, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्तिलगायतका सुविधा सामुदायिक विद्यालयमा मात्रै उपलब्ध छन् ।


तथापी विद्यालयको भौतिक अवस्था, शिक्षकको अवस्था र अभिभावकलाई सामुदायिक विद्यालयमा पढाउँदा इज्जत जान्छ भन्ने मनोविज्ञानले गाँजी रहेको छ । वास्तवमा हाम्रो विद्यालयको शैक्षिक अवस्थाको बारेमा बुझेर शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना हुन आउँछन् तर भौतिक अवस्था हेरे पछि कतिपय अभिभावकले फिर्ता लैजाने गर्नुहुन्छ । अभिभावकमा अझैपनि निजी स्कुलमा धेरै पढाइ हुने, बिदा कम हुने, अतिरिक्त क्रियाकलाप कम हुने तर सामुदायिकमा कम पढाइ, धेरै कार्यक्रम र धेरै बिदा हुने मनोविज्ञान छ । तर आशा छ । आगामी शैक्षिक सत्रबाट विद्यार्थीको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि हुनेछ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबारे बारम्बर प्रश्न उठ्ने गर्छ । सुधारको लागि के गर्नुपर्ला ?
मैले अघि पनि भनिसके, समस्या शिक्षकमा या शिक्ष्णमा होइन शिक्षा नीतिमा छ । सुधार पनि त्यहीबाट सुरु गर्नु पर्छ । शिक्षक छनोट प्रक्रियालाई अझैै बढी विश्वसनीय र वैध बनाउनु जरुरी छ । उत्कृष्ट छनोट विधिबाट शिक्षक छान्ने र उनीहरुलाई आधुनिक प्रविधिमैत्री, बालमैत्री, मनोविज्ञानसम्बन्धी शिक्षण तालिम दिनुुपर्दछ । पुरस्कार र दण्डको व्यवस्था गर्ने, शिक्षकको मनोबल वृद्धि गर्ने, राजनीतिबाट अलग राख्ने काम गर्न ढिला गर्नु हुँदैन । शिक्षकको मनोबल बढाउन सकिएको छैन ।

राम्रो गर्नेलाई सम्मान र पुरस्कार तथा नराम्रो गरिरहेकालाई दण्ड र सजायको व्यवस्था गर्न आवश्यक छ । भन्न त शिक्षकले राजनीति गर्न हुन्न भनिन्छ तर व्यवहारमा शुद्ध नियुक्ति देखि नै राजनीतिको सिकार बनाइन्छ । क्षमताको, योग्यताको आधारमा बढुवा र जिम्मेवारी दिन सके यस्ता आरोपहरु निस्तेज बनेर जानेछ । राम्रा गरिरहेका शिक्षकहरुलाई पनि हौसला मिल्नेछ । थप मिहिनेतका लागि मनोबल बढ्नेछ ।

शिक्षकको वेला वेलामा क्षमता परीक्षण हुनुपर्ला कि नपर्ला ?
अवश्य नै हुनुपर्दछ । जसरी एउटा मोबाइललाई चार्ज, रिचार्ज गरिरहनुपर्दछ भने एक पटकको ज्ञान सँधै सही र सान्दर्भिक हुँदैन । समयसापेक्ष ज्ञान आर्जनको व्यवस्था हुनुपर्छ । शिक्षकलाई पनि अध्ययनशील, अनुसन्धानमुखी, प्रविधिमैत्री बनाउनुपर्छ । अझ भनौ शिक्षकहरु आफैँ वेला वेलामा तिखारिने, निखारिने हुनुपर्छ । ५/५ वर्षमा शिक्षकको क्षमता परीक्षण गरिनुपर्छ । एकपटकको पढाइ र सर्टिफिकेटको आधारमा जीवनभर पढाइरहने प्रवृत्ति बदलिनु जरुरी छ । समय बदलिरहेको छ । अहिलेका विद्यार्थी धेरै तगडा छन् । प्रविधिले उनीहरुलाई जुझारु बनाउँदै लगेको छ । शिक्षक समयसापेक्ष र प्रविधिमैत्री नबने शिक्षकलाई विद्यार्थीले नै उछिन्ने अवस्था छ । अहिलेको पाठ्यक्रम र बदलिँदो शिक्षामा घुलमिल हुन शिक्षकले विद्यार्थी भन्दा धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ ।

सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्णरूपले सन्तुष्ट त हुन सकिएको छैन । तथापी सरकारको नीति तथा कार्यक्रमलाई अक्षरशः पालना गर्नैपर्छ । समयअनुरूप तालिम, पाठ्यक्रम, परीक्षा प्रणालीलाई संसोधन गरिनुपर्छ । समग्रमा वर्षभरिमा सिकेका ज्ञानलाई १.३ घण्टामा कसरी प्रस्तुत गर्न सकिन्छ होला र ? यस बाट सिकाइ मापन पूर्ण होला र ? भौगोलिक अवस्थाले पनि सिकाइ मूल्याङ्कनमा प्रभाव पार्ने हुँदा परीक्षा प्रणाली पनि एउटै गर्दा सोचे जस्तो परिणाम आउँदैन जस्तो लाग्छ । त्यसैले शिक्षाकै पुनर्संरचना आवशयक छ । शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कन प्रणाली सबैमा सुधार आवश्यक छ । विदेशको फोटोकपी होइन मुलुक सुहाउँदो हाम्रै आफ्नो माटो सुहाउँदो शिक्षा नीति चाहिन्छ । विद्यालयका समस्या एकातिर हुने र नीति अर्कातिर बन्नाले समस्या भइरहेको छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रधानाध्यापकको कस्तो भूमिका रहन्छ ?
मेरो विचारमा प्रधानाध्यापक नेता होइन नेतृत्व हो र हाकिम होइन असल संगठकको भावना/गुणा विशेषता बोकेको हुनुपर्दछ । प्र.अ.मा अहंमता होइन सामूहिक भावना पैदा गर्ने भावना हुनुपर्छ । मेरो भन्दा पनि हाम्रो भन्ने सोच हुनु पर्दछ । असल प्र.अ. को पेट पोल्नुपर्दछ । शिक्षकहरुको मनोवल उच्च राख्न लागिरहनुपर्दछ । झोला बोकर नेता बनेर होइन सहयोगी बनेर आफैँ खटिनुपर्दछ । राजनीति आएकालाई बोकेर विद्यालयमा प्रवेश नगर्ने हुनुपर्दछ । हुन त सामुहिक प्रयासबाट सुधार हुने हो तर प्रअ आफैँ रोल मोडल बन्न आवश्यक छ ।

विद्यालय राम्रो बनाउन प्र.अ.को महत्वपूर्ण भूमिका रहन्छ । भनिन्छ नि मियो अनुसार दाई । प्र.अ. कुशल प्रशासक, नेतृत्वकर्ता, पारदर्शिता, दुरदर्शी, समान व्यवहार गर्ने, समन्वयकारी भूमिकामा निर्वाह गर्ने हुनुपर्दछ । जसले आफ्नो सहकर्मी साथीहरुलाई समेटेर, टिम वर्क गरी अभिभात्वक भूमिका निर्वाह गर्नु पर्दछ । राम्रो गर्नेलाई स्याबासी र कमजोरी पक्षलाई पनि एकान्तमा राखेर बुझाउने गर्नु पर्दछ । सहकर्मीको पीडामा मलम लगाउने र विद्यालय हाम्रो हो र हामीले नै गर्नुपर्छ भन्ने भावना जगाउन सक्नु पर्छ । तालुकदार निकायसँग सहकार्य गर्ने, वि.व्य.स, शि.अ.सं, समुदाय र अभिभावकसँग सम्न्वय गर्ने गर्नु पर्दछ । तसर्थ प्र.अ. एउटा अनुगमनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, सहजकर्ता र अभिभावकत्व दिलाउने व्यक्ति हुनाले एकजना प्र.अ. को भूमिका महत्वपूर्ण रहन्छ ।

यो विद्यालयमा नै किन पढाउने ?
यसमा मेरो फरक धारणा छ । विद्यार्थीको रोजाइ अभिभावकको चाहनाअनुरूप विद्यार्थीले पढ्न पाउनुपर्दछ । तथापी हाम्रो विद्यालयको शैक्षिक वातावरण विद्यालय व्यवस्थापत समिति प्रत्यक्ष निगरानी, शिक्षक/कर्मचारीको एकता, त्याग, लगनशीलता, अनुशासन, व्यवहारिक शिक्षा, युग सुहाउँदो शिक्षण विधि, संस्कारसहितको शिक्षा प्रदान गरिने भएकोले अभिभावकज्यू हरुले शमीपुरलाई पहिलो रोजाइ बनाउन सक्छन् र हामी उहाँहरुको विश्वासलाई जितेर अगाडि बढीरहेका छौं । लागिरहेका छौं ।

यस विद्यालयमा विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा रमाउने वातावरण रहेको छ । बालमैत्री पारिवारिक वातावरणमा शिक्षण, कक्षाकोठामा बालमैत्री डेक्स बेञ्च, शैक्षिक सामग्रीले कक्षाकोठा बसुँबसुँ पढुँपढुँ लाग्ने अवस्था छ । प्रविधि मैत्री शिक्षण स्मार्ट कक्षा, अंग्रेजी माध्यमबाट शिक्षण, वातावरण रमाइलो र पारिवारिक रहेको छ । तालिमप्राप्त शिक्षकहरुबाट विद्यार्थी केन्द्रित शिक्षण, दिवा खाजाको व्यवस्था, विद्यार्थीहरुको नियमिततामा जोड, अनुशासन पालना, विद्यार्थीहरुको रूची, क्षमता अनुरूपको शिक्षण, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरुलाई विद्यालय बोझको रूपमा नलिई रमाई रमाई आउने वातावरण स्थापित गरिएको छ । पुस्तकालय, कम्प्युटर ल्याब, स्वच्छ खानेपानी र पानी सहितको छात्र–छात्रालाई शौचालयको व्यवस्था, सरसफाईमा विशेष ध्यान पुर्याएको, सानो खेल मैदान, विद्यालयको वातावरण स्वच्छ हरियालीयुक्त छ । कुनै पनि निजी विद्यालय भन्दा राम्रो शिक्षण र वातावरण भएकोले विद्यार्थीहरु यो विद्यालयमा नै पढाउनुपर्छ ।

तपाईँ यस विद्यालयमा कहिले प्रधानाध्यापक बन्नुभयो ? तपाई प्रधानाध्यापक बनेपछि के के सुधार गर्नुभयो ?
म वि.सं. २०७४ फागुन १४ गतेदेखि यस विद्यालयको प्र.अ.को जिम्मेवारीमा छु । कक्षा ५ सम्म रहेको विद्यालयलाई कक्षोन्नति गर्दै कक्षा १० सम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको छ । जम्मा ३ वटा प्रा.वि. दरबन्दी भएकोमा हाल ८ वटा दरबन्दी, दुईवटा वाल विकास बाल ४ वटा वालविकास दरवन्दी, एक संघीय निमावि अनुदान कोटा, १ जना नगर निजीश्रोत शिक्षक प्राप्त भएको छ । २ वटा स्कुल बस प्राप्त भएको छ । पुस्तकालय, आइसीटी ल्याब परेको छ । ४ कोठे पक्की भवन, एउटा ट्रस भवन प्राप्त भएको छ । पहिलो वर्ष मै एसईईको नतिजा उत्कृष्ट रह्यो । यस वर्ष पनि सामुदायिक विद्यालयमा ६ वटा पालिकामा प्रथम र समग्र चितवनमा उत्तीर्ण प्रतिशतको आधारमा चौथो सामुदायिक विद्यालय बन्न सफल भएको छ ।

कक्षी ८ को नतिजा पनि आफ्नो पालिकामा सामुदायिक विद्यालयमा प्रथम बनेको छ । शिक्षकहरुमा विद्यालय मेरो हो र मैले गर्नु पर्छ भन्ने भावनाको विकास, शिक्षक र विद्यार्थी बीच अपनत्वको भावना विकास गराउन पहलकदमी लिएँ । स्वच्छ खानेपानी र शौचालयको व्यवस्था, विद्यार्थीहरुलाई रमाई रमाई विद्यालय आउने वातावरण, अभिभावक र समुदायको विश्वास जिति उल्लेख्य विद्यार्थी सङ्ख्या बढाएको अवस्था छ ।


वि.सं. २०६७ सालतिर मर्ज गर्ने पत्र प्राप्त भएको विद्यालय हाल यस अवस्थामा आउन म आफैले मात्र गरेर भएको भने होइन । मलाई नजिकबाट सहयोग गर्ने कोर टिम, सम्पूर्ण शिक्षक/कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्का, शिक्षक अभिभावक संघ, विद्यालय सल्लाहकार समिति, कालिका नगरपालिकाको पूर्व वडाध्यक्ष लीलाबहादुर गुरुङ, वर्तमान अध्यक्ष सन्तवीर स्याङदान तथा उहाँको टिम, निवर्तमान नगर प्रमुख खुमनारायण श्रेष्ठ, वर्तमान नगरप्रमुख विनोद रेग्मी, शिक्षा शाखालगायत सबैको मिहिनेतले यो सम्भव भएको हो ।

राम्रो प्र.अ. वन्नका लागि तपाईँका सुझावहरू के के छन् ?
सबैभन्दा पहिले राजनीतिको झोला नबोकौँ । शिक्षक/कर्मचारीको साथी बन्दै व्यवस्थापन समितिसँग हातेमालो गरेर अगाडि बढौँ । विद्यार्थीहरुको प्रिय बन्न उनीहरूको सुझाव ग्रहण गर्ने, स्रोतहरूको खोजी गर्ने, आफ्ना जिम्मेवारी छ बाँडेर काम गर्ने गरियो भने अवश्य नै विद्यालयमा सुधार देखिन्छ ।

विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के के छन् ?
विद्यार्थीका उपलब्धिमा वृृद्धि, विद्यालय सुधार योजना अनुसार विद्यालयलाई अझ परिस्कृत परिमार्जन गर्नका लागि वार्षिक कार्ययोजनाअनुरुप चल्ने, सरकारको ऐन नियम र कानुनअनुरुप विद्यालयको शैक्षिक तथा आर्थिक, प्रशासन चुस्त, दुरुस्त र पारदर्शी बनाउने, विद्यालय आएका बालबालिका घर फर्कन गाह्रो मान्ने आकर्षक बालमैत्री, खेलकूदमैत्री विद्यालय निर्माण गर्ने, विद्यालय सुन्दर, सफा, ज्ञानआर्जन, व्यवाहारिक सिप सिक्ने, नृत्य, कला, संगित, भाषा, विज्ञान सिक्ने सिकाउने थलोको रुपमा रुपान्तरण गर्ने, प्रत्येक कक्षाकोठामा स्मार्टबोर्ड, प्रोजेक्टर, सि.सि. टिभी र बुक कर्नर जडान गरी दिगो सिकाइ गराउनेतर्फ उन्मुख हुने योजना छ ।

हाम्रो विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने योजना रहेको छ । यसको लागि विद्यालयले हालसम्म गर्न नसकेका कार्यहरुलाई सम्पादन गर्दै लैजाने, चुनौतीहरुलाई सामना गर्दै प्रविधिमैत्री बनाउँदै लग्ने, शिक्षण सिकाइलाई स्तरीकरण गर्दै, बालमैत्री, प्रविधिमैत्री, जीवनपयोगी शिक्षामा जोड दिने योजना छ । विद्यालय सुधारका लागि मेरा योजनाहरू भन्दापनि सरोकारवालासँगै बसेर योजना निर्माण गरेको छु । यसमा विद्यार्थीहरु, अभिभावकहरु, शिक्षक कर्मचारीहरू, व्यवस्थापन समिति सबै पक्षका योजनाहरु लिएर अगाडि बढेको छु । विद्यालयको शैक्षिक उपलब्धिमा १०० प्रतिशत पुर्याउने योजनामा कम्मर कसेर लागेका छौँ । विद्यालयलाई संस्कार र सभ्यताको घर बनाउन लालि परेको अवस्था छ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
समुदाय र विद्यालय बीचको सम्बन्धले नै विद्यालयलाई गति प्रदान गर्दछ । पहिलेको अवस्थामा विद्यालय मर्ज गर्नुपर्छ भन्ने समुदाय आज आएर विद्यालय अझै राम्रो बनाउनु पर्यो भन्दै छन् । समुदायको विश्वास जितेर नै शमीपुरले आफ्नो स्थान बनाउन सफल भएको छ । विद्यालय प्रति सकारात्मक सोच बन्दै गएको छ । तर अपेक्षित रूपमा अझै स्थानीय समुदायको सहयोग मिलेमा यस विद्यालयलाई आगामी वर्षहरूमा देशकै नमूना विद्यालय बनाउन सकिन्छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
शिक्षा सुधार नहुनुमा नीति र नियम दुवैमा समस्या देखिन्छ । शिक्षामा बढी भन्दा बढी लगानी गर्नुपर्ने, पाठ्यक्रम बनाउदा देशको आवश्यकता अनुसारको बनाउनु पर्नेमा सरकार चुकेको छ । जस्तो श्रीलङ्कामा शिक्षामा मत्स्पालनलाई प्राथमिकता दिए जस्तो नेपालमा कृषिलाई दिनु पर्ने तर नाम मात्रको कृषि छ । यहाँ सरकारको नीतिमा समस्या देख्छु । जीवनपयोगी, व्यवहारिक शिक्षा नारामा मात्र सिमित छ । त्यसको उपयोगिता कति छ, कहाँ छ र कसरी छ ? कुनै लेखाजोखा छैन ।

अनुगमन मूल्याङ्कन छैन । यहाँ नियतमा समस्या छ । राज्यले बोल्दैमा सबै लागु हुन्छ र त्यस अनुरूप कार्यन्वयन भएको छ भन्ने सोच मात्र राज्यले राख्दछ तर त्यो कार्यान्वयन भएको नभएको कसैले हरेको छैन । कुनैपनि नीति नियम बनाउँदा सम्बन्धित विज्ञ, शिक्षक, परामर्शदाता, शिक्षाविद, सबैसँग राय लिनु उचित हुन्छ । अझ बढी त शिक्षकलाई संलग्न गराउनु पर्छ किनकि शिक्षकहरु नै हुन् ति पात्र जो हरेक दिन विद्यार्थीहरु सँग उठबस गर्दछ र विद्यार्थीको चासो के छ र के दिनु पर्छ त्यो थाहा हुन्छ न कि सम्बन्धित निकायका ठुला व्यक्तिहरुलाई । त्यसैले शिक्षा सुधार नहुनमा सरकारको नितिमा नै एकदम समस्या छ भने नियतमा पनि खोट छ ।

शिक्षा सुधार नभएको होइन अपेक्षित सुधार मात्रैै नभएको हो । वर्तमान अवस्थामा सामुदायिक विद्यालय र यसमा अध्यापन शिक्षकहरु बढी आलोचित बनिरहेको तितो यथार्थ छ । यसमा सरकारको नीति र नियत दुबै दोषी छन् जस्तो लाग्दछ । सरकारले संस्थागत र सामुदायिक विद्यालयल प्रति गर्ने व्यवहार दोषी छ । हुने खानेका बच्चाहरू संस्थागतमा र हुँदा खानेका बच्चाहरू सामुदायिक पढ्नुपर्ने वाध्यता छ । शिक्षामा व्यापारीकरण बढेको छ । सिद्धान्तमा एउटा व्यवहारमा अर्को गरिनु सायद नियत नै हो कि ? जस्तो लाग्छ । निःशुल्क शिक्षाको ढोङ रचेर पूर्णरूपमा कार्यन्वयन गर्न नसक्नुलाई पनि लिन सकिन्छ ।

हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?
विषयगत तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय मेरो हो भन्ने भावनाको विकास गराउँदै विद्यार्थीसँग आत्मीय सम्बन्ध स्थापित गराउनुपर्छ । विद्यार्थीको हरेक पक्षसँग सरोकार हुनुपर्ने जस्तो समस्या पनि खुलेर भन्न सक्ने वातावरण बनाउन सक्ने बनाउनुपर्छ । शिक्षक चौतर्फि ज्ञानको भण्डार हुनुपर्ने भएकाले निरन्तर खोज र अध्ययनमा लगाउने, अभिनेता, अभिभावक, संरक्षक, साथी र सहजकर्ता हुनुपर्ने भएकाले सोही अनुसारको व्यवहारिक तालीम दिने गर्नुपर्छ । शिक्षकहरु आफूपनि आइडल बन्ने प्रयास गर्नुपर्छ । सरकारले शिक्षकमा जिम्मेवारी बोध, उत्तरदायित्वको भावना जगाइदिनुपर्छ । शिक्षकलाई प्रविधि मैत्री बनाउँदै भयरहित वातावरणको सृजना गर्न सक्ने र पाठ्यपुस्तकमा मात्र केन्द्रित नरही बालमैत्री वातावरणमा शिक्षण गर्ने बनाउनुपर्छ ।

साँच्चै सामुदायिक विद्यालयका शिक्षकहरू हालको अवस्थामा ज्यादै अपमानित छन् । वाध्य भएर यो जागिर छाडेर पलायन हुँदै छन् । यस पेशालाई चुनौतीपूर्ण रुपले हेर्न थालिएको यथार्थ छ । यदि शिक्षकहरुलाई ‘गुरु’ बनाउने हो भने उनीहरुको मनोबल उच्च बनाउनुपर्छ । वौद्धिक पलायन रोक्न समय सुहाउँदो पारिश्रमिकमा वृद्धि, स्तोरान्नति, उचित तालिमको व्यवस्था, राजनीतिक दबाब र हस्तक्षेप मुक्त बनाउनु पर्छ । पुरस्कार र दण्डको नीति पूर्ण रुपले पालना गरिनुपर्छ ।

सरकारको ठूलो लगानीका बावुजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
वास्तवमा सरकारको लगानीलाई ठूलो लगानी भन्ने कुरामा म सहमत छैन । सरकारले शिक्षामा लगानी क्रमशः घटाउँदै लगेको पाइन्छ । वास्तवमा देशको अर्थतन्त्र बलियो बनाउने हो भने शिक्षामा सबै पभन्दा बढी लगानी गरिनुपर्दछ । अन्यक्षेत्रमा गरेको लगानी जस्तो कि भौतिक निर्माणमा गरेको लगानी तत्काल देखिन्छ तर शिक्षाको लगानी तत्काल गुणस्तर नदेखिए तापनि दीर्घकालिन रुपमा पछि देखिन्छ ।

सामुदायिक विद्यालय विशेषगरी बाल शिक्षकहरूको मासिक सेवा सुविधालाई हेर्ने हो भने कहाली लाग्दो छ । शिक्षकहरूको पनि अवस्था त्यस्तै छ । अझै विद्यालयको सम्पूर्ण गुण दोषको भागिदार तथा जिम्मेवारी बोक्ने प्र.अ को सुविधा हेर्ने हो भने शिक्षाको लगानी छर्लङ्ग देखिन्छ अनि कस्तो गुणस्तर खोजिएको हो ? ३ घण्टामा वर्षभरी पढाएको सिकाइ मापन गरेर गुणस्तरीयता खोजिनु न्याय विगत न्यायसंगत होला र ? शिक्षा भनेको त कसैको दबाब र प्रभावमा नपरी स्वाभिमानीपूर्वक जिउन सिकाउने कला बनाइनुपर्ने हो । अनुशासन, संस्कार, सभ्यता, सीपसहित शिक्षा सिकाउनु पर्छ । अनि मात्र गुणस्तर मापन हुन सक्छ। समग्रमा सामुदायिक विद्यालयको गुणस्तरलाई हेर्दा नाक खुम्च्याउन पर्ने अवस्था भने छैन ।

प्रतिकृया दिनुहोस्