नेपालमा अङ्ग्रेजी विषय कक्षा १ देखि विश्वविद्यालयसम्म अध्ययन अध्यापन गरिन्छ, गराइन्छ । अझ त्यसमा पनि कक्षा १ देखि स्नातक तहसम्म अनिवार्य छ । आधुनिक विज्ञानका आविष्कारहरुले अहिले विश्व एउटा विश्वव्यापी गाउँ (global village) मा रुपान्तरण भएको छ । यसर्थ विश्वका अन्य देशका नागरिकहरूसँग सञ्चार (communication) गर्नका लागि पनि अङ्ग्रेजी अत्यावश्यक छ । अङ्ग्रेजी भाषाको ज्ञानले विश्वव्यापी ज्ञान आफूले हासिल गर्नुका साथै आफूसँग भएको ज्ञान अरुसम्म पुर्याउन सहज बनाउदछ । इन्टरनेट ज्ञानको भण्डार हो जसमा अधिकांश सामग्रीहरु अङ्ग्रेजीमा हुन्छन् । यसर्थ अङ्ग्रेजी भाषाको ज्ञान हुनु अनिवार्य जस्तै भएको छ ।
शैक्षिक सत्र २०७२ देखि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा लेटर ग्रेडिङ प्रणाली (Letter Grading System) लागू भएको छ। यो मूल्यांकन प्रणाली नेपालमा नया भएकाले यसको कार्यान्वयनमा जटिलताहरु पनि छन। यसको अभ्यास सँगै कक्षा ११ मा विद्यार्थी भर्नाका आधारहरु तय गर्न जटिल भएको देखिन्छ। छोटो समयमा पटकपटक निर्णय परिवर्तन गर्दै अन्तिममा अङ्ग्रेजीको हकमा न्युनतम D+ प्राप्त गरेको विद्यार्थी (अन्य बिषयमा पनि तोकिएको ग्रेड प्राप्त गरेको अवस्थामा) कक्षा ११ मा भर्ना हुन सक्दछ।
बिगतमा कक्षा १० मा अङ्क प्रणाली मूल्याङ्कन पद्धति हुदा कक्षा ११ मा भर्ना हुनका निमित्त अङ्ग्रेजीको सैद्धान्तिकतर्फ न्यूनतम २४ र प्रयोगात्मकतर्फ १० छुट्टाछुट्टै विद्यार्थीले हासिल गरेको हुनुपर्दथ्यो। तर अहिले सैद्धान्तिक र प्रयोगात्मक दुबै जोड्दा न्यूनतम D+ अर्थात ३० प्राप्त गरे पुग्दछ। बिगतकै सैद्धान्तिक र प्रयोगात्मक एकमुष्ट हेर्दा पनि ३४ हुन्छ। यसबाट प्रष्ट देखिन्छ कस्ता खालका विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुदैछन्। बिगतमा कक्षा ११ मा अङ्क प्रणाली हुदा उत्तीर्णाङ्क ३५ थियो। शैक्षिकसत्र २०७३/७४ बाट कक्षा ११ मा letter grading system शुरु गरियो। विद्यार्थीले परीक्षा दिदा प्रश्नपत्रमा उत्तीर्णाङ्क ३५ राखियो नतिजा प्रकाशन गर्दा C अर्थात ३० देखि ४० सम्म प्राप्त गरेका विद्यार्थीले पुन परीक्षा दिन सक्ने भनी राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गर्यो०। फेरि अर्को शैक्षिक सत्रमा C बाट झारेर D+ प्राप्त गरेका पुन परीमा परीक्षा दिन सक्ने भनियो। यसले विद्यार्थी र अभिभावक मात्रै नभएर शिक्षकहरुमा समेत अन्यौलता पैदा गरिदियो। राष्ट्रिय परीक्षा बोर्डले किन यस्तो अपरिपक्व निर्णय गर्दछ ?
अब भर्ना हुने विद्यार्थीको चर्चा गरौ । कक्षा १० मा सैद्धान्तिक र प्रयोगात्मक दुबै जोडेर न्यूनतम D+ अर्थात ३० प्राप्त गर्ने विद्यार्थी कक्षा ११ मा भर्ना हुन सक्दछ। पछिल्लो समय अङ्ग्रेजी लगायत अन्य बिषयहरुको प्रयोगात्मक अङ्क वा ग्रेड बिद्यालयबाट त्यसमा पनि बिषय शिक्षकले पठाउने चलन छ। कुनै मापदण्ड वा आधार बिना। यदि कुनै शिक्षकले २५ अङ्क (A+) प्रयोगात्मक बापत पठाइदिएमा सैद्धान्तिक तर्फ न्यूनतम ५.५ (E ग्रेड) प्राप्त गरेमा पनि उसको प्राप्ताङ्क ३०.५ अर्थात् D+ ग्रेड हुनपुग्दछ र ११ कक्षामा भर्ना हुन योग्य (अन्य बिषयमा तोकिएको ग्रेड प्राप्त गरेमा) हुन्छ। यसरी नै प्रयोगात्मक परीक्षामा २०+ अङ्क अर्थात A देखि A+ ग्रेड प्राप्त गरेमा सैद्धान्तिक तर्फ १०+ अङ्क प्राप्त गरेमा सहजै समग्रमा (सैद्धान्तिक र प्रयोगात्मक जोड्दा) D+ ग्रेड प्राप्त हुने देखिन्छ ।
माथी उल्लेखित प्रकारको विद्यार्थी कक्षा ११ मा भर्ना भएपछी उसले न्यूनतम अङ्ग्रेजीमा D+ ग्रेड प्राप्त गर्नुपर्ने देखिन्छ – स्नातकमा भर्ना हुनका लागि। कक्षा ११ मा प्रयोगात्मक परीक्षाको ब्यबस्था नभएकोले बिद्यार्थीले सैद्धान्तिक परीक्षामा नै न्यूनतम D+ ग्रेड अर्थात ३०+ अङ्क प्राप्त गर्नुपर्ने हुन्छ। कक्षा १० भन्दा ११ र १२ को बिषयको कठिनाइ स्तर बढी हुनु स्वभाविकै हो। माथी उल्लेखित उदाहरणमा ५+ अङ्क प्राप्त गरेको विद्यार्थीले कसरी थप २५ अङ्क प्राप्त गर्न सक्दछ त ? यदि न सकेमा उसले कसरी स्नातकमा भर्ना पाउने? यसले झन शैक्षिक बेरोजगार उत्पादन गर्दैन त ?
निष्कर्ष:
प्रयोगात्मक र सैद्धान्तिक परीक्षा दुबै जोडेर D+ ल्याउने भन्दा सैद्धान्तिक र प्रयोगात्मक दुबैमा छुट्टाछुट्टै D+ ग्रेड प्राप्त गर्नुपर्ने ब्यबस्था बनाउनुपर्ने देखिन्छ।कक्षा १० का प्रयोगात्मक बिषयहरुमा अङ्क दिने उपयुक्त मूल्यांकन प्रणाली तथा मापदण्ड बनाउन आवश्यक देखिन्छ। साथै शिक्षकहरुले पनि सोही अनुसार अङ्क प्रदान गर्नुपर्छ। अन्यथा स्नातक समेत भर्ना हुन नपाउने शैक्षिक बेरोजगारको सङ्ख्या मात्रै वृद्धि हुने देखिन्छ। साथै आवश्यकता अनुसार कक्षा ११ / १२ मा प्रयोगात्मक परीक्षाको ब्यबस्था गर्नुपर्ने देखिन्छ।
(एम.सी. गौमुखी मा.वि., प्युठानका माध्यमिक तहका स्थायी अङ्ग्रेजी शिक्षक हुन् ।)