उहिले बिहेबारी भएकी छोरी माइती बस्न आइछन् । लोग्ने लिन नआएसम्म घर नर्फकने विचार गरिछन् । माइतीमा उनका बा पनि नुन लिन भनेर बटौली गएछन् । लामो समयसम्म बटौली गएका बा घर नआउँदा आमालाई छट्पटी परेछ । लामो समयसम्म आफूलाई लिन लोग्ने नआउँदा छोरी पनि छट्पटीमा नै परिछन् । दिनहुँ आमा छोरीले आ– आफ्ना खसमको बाटो हेर्दा रैछन् । एकदिन झम्के साँझ बटौली गएका बा आएको परैबाट छोरीले देखिछन् । आमालाई भनिछन् ‘आमा, आमा बा आए, ऊ परबाट’ । आमाले हेरिछन् । आफ्ना लोग्नेलाई नचिन्ने कुरै भएन । लोग्ने आएको पक्का भएपछि छोरीलाई भनिछन् ‘बा आए त आए, मलाइ आए, तँलाइ के आए’ ? किनभने छोरीका लोग्ने ज्वाइँ ) भने आएका थिएनन् । बा आउनु र नआउनुसँग छोरीको कुराइको कुनै अर्थ थिएन । यसपालीको दशैँ, खै कहाँ आएको छर , आएको छ त केबल ठूला, ठालुलाई, धनीमानीलाई मात्र ! हुने खानेलाई आयो, हुँदा खानेलाई के आयो ?
घटस्थापना पनि आउन पाएको छैन, धेरैले सामाजिक सञ्जालमा विजया दशमीको नाममा शुुभकामना पोष्ट गर्न हतारिएको पाइयो । शुभकामना मात्र होइन, कतिले त खशी, बोका, च्याङ्ग्राको फोटा समेत राखेका छन् । अझ कतिले त मार हानेको( काटेको ) तस्वीर समेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । मानौं, अहिले नै आफैले शुम्भ,निशुम्भलाई बध गरेको झैं गरी बिजयोत्सवको शैलीमा न्वारानदेखिको बल निकाल्दै सामाजिक सञ्जाल भरेका छन् । अहिलेको विषम परिस्थितिमा पनि मानवीय संवेदना हराएजस्तो छ । एकजनालाई ठेश लागेमा अर्कोलाई दुख्ने नेपाली संस्कार हिजोआज क्रमशः लोप हुँदैछ र मानिसमा स्वत्व विकसित हुँदै हो कि जस्तो देखिदैछ ।
यो खुसीको क्षण होइन
यतिबेला विश्वमा ४ करोड १० लाखभन्दा बढी मानिसहरु कोरोना महामारीबाट आक्रान्त छन् । यसैका कारण ११ लाख ३० हजारभन्दा बढीको मृत्युभैसकेको छ । चिनको हुवान प्रान्तबाट विगत ३१ डिसेम्बर २०१९ मा शुरुभएको कोरोना आज विश्वका २१५ देशहरुमा विस्तार भएको छ । शुरुमा चिनियाभाइरस भनेर व्यङ्ग्य गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत कोरोनाको शिकार भएका छन् । संसारका अन्य देशहरुमा मै हुँ भन्नेहरु पनि यसको प्रकोपबाट उम्कन सकेका छैनन् ।
संयुक्त राज्य अमेरिका त अझ यसबाट सबैभन्दा बढी पीडित देखिन्छ । यो आलेख तयार गर्दासम्म त्यहाँ ८५ लाखभन्दा बढी संक्रमित छन् । २ लाख २६ हजारभन्दा बढीको मृत्यु नै भैसकेको छ । आजसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी मृत्युदर अमेरिकामा नै देखिन्छ ।त्यसपछि क्रमशः भारत र ब्राजिल छन् । भारतमा ७६लाख र ब्राजिलमा ५२ लाखभन्दा बढी कोरोना संक्रमित देखिन्छन् ।
आज नेपालको अवस्था भयावह देखिन्छ । नेपाल संसारका कोरोना संक्रमित देशहरुमध्ये ४० मुलुकभित्र पर्दछ । नेपाल भ्रमण वर्ष मनाउने तयारी गर्दा नेपालमा १३ जनवरी २०२० मा एकजनामा कोरोना देखिएको थियो । कोरोनाकै कारण विगत चैत ११ देखि भदौ ७ गतेसम्म लकडाउन गरियो । एसइईदेखि विश्वविद्यालयसम्मका सबै परीक्षाहरु प्रभावित भए । विद्यालयस्तरका लगभग ७० लाखभन्दा बढी बालबालिकाहरु विद्यालयको कक्षाकोठामा हुनुपर्नेमा आज पनि आफ्नै घर,आँगनमा छन् । अनलाइन कक्षा नाममा मात्र देखिएको छ । खासै प्रभावकारी हुन सकेको देखिदैन ।
कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । तर मंसिरमा कोरोना आतंक योभन्दा बढ्ने निश्चित छ । आशन्न चाडबाड, खुला आवत जावत, परीक्षण दरमा कमी र स्वास्थ मापदण्डको वेवास्ताका कारण यसको प्रभाव झनै बढ्ने लक्षण देखिएको छ । अप्रत्यासित रुपमा यतिबेला ७६५ जनाभन्दा बढीको यसैका कारण मृत्युभैसकेको छ । कूल १ लाख ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिइसकेको छ । ४१ हजारभन्दा बढी आज पनि सक्रिय संक्रमितहरु कतै संस्थागत त कतै व्यक्तिगत आइसोलेशनमा छन । होम क्वारेन्टाइनमा रहनेहरुको संख्या पनि ४ हजारभन्दा बढी छ ।
झन जटिलतातर्फ
सरकार कोरोना बिरामीका लागि अस्पतालमा ठाउँ छैन भनेको छ । व्यवस्थापन गर्न कठिनाइ भएकोले मृत्यु भैसकेकाहरुका लागि कोरोना परीक्षण नगर्ने निधो गरेको छ । मृत्युहुनेहरुका लागि शब व्यवस्थापन परिवारका सदस्यले नै गर्न सुुझाएको छ । जुन बेला नेपालमा १ जनामा कोरोना देखियो सारा देश लकडाउन भयो । आज ४० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । दिनहुँ २ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । यो बेला लकडाउन जरुरी थियो । राज्यले खुल्लम खुला गरिदिएको छ । उल्टो बाटोमा राज्य हिडेको छ । कार्तिक २ गतेदेखि कोरोना बिरामीको उपचारमा राज्यले हात झिकेको छ । आफ्नो अघिल्लो निर्णय सरकारले सचाएनछ भने अब निजी खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने भएको छ ।
आज टुँडिखेलमा भात माग्नेहरुको भीड छ । प्रतिकिलो २० रुपैया सस्तोमा पाइने चिनीका लागि ४ केजी चिनी पाउन दिनभर लाइन लाग्नेहरुको हुल छ । बजारमा सीमित सुकिला मुकिलाको मात्र भीड देखिन्छ । कति मान्छे झोलामा कोरोना पोजेटिभको रिर्पोट राखेर सडकमा भौंतारिदै छन् । यिनैको कारणले थप कतिजनामा कोरोना फैलिने हो ? थाहा छैन ।अस्पतालमा कोरोना परीक्षणका लागि पालो पर्खनेहरुको ताँती छ । निजी अस्पतालहरुले कमाउने बेला यही हो भनेका छन् । उनीहरु सरकारलाई सुन्दैनन् । अब सशुल्क भनेपछि कतिजनाले व्यथा लुकाएर बस्ने हुन् ? यसैको कारण भित्र भित्र भूसको आगो सल्केर कतिलाई सखाप पार्ने हो ? कुनै ठेगान छैन । सरकारले संक्रामक रोग भनिसकेपछि कम्तीमा पनि नागरिकको उपचारमा उदाशिनता देखाउनु हुदैन । सत्तारुढ दलकै नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत वक्तव्य जारी गरी विरोध गरिसकेको अवस्था छ । त्यसकारण सरकार जनस्वास्थमा गैर जिम्मेवार नबन्ला भन्ने आशा पलाएको छ ।
चारैतिर असमान्य, असहज परिस्थिति छ । यस्तो बेला दशैको शुभकामना कसका लागि ? खशी,बोका, च्याङ्ग्को फोटाहरु के का लागि ? गरीबलाई जिस्काउनका लागि ? नसक्नेहरुलाई गिजाउनका लागि ?
साँघुरिदै दशैँ
घरमा गरिने वार्षिक पितृकार्यजस्तो कर्मकाण्डी पर्व होइन दशैं । यो नितान्त निजी पर्व पनि होइन । यो घर, गाउँ, टोल छिमेक हुँदै परसम्म सर्ने, सारिने पर्व हो । नातागोता, इष्टमित्र, कुलकुटुम्बसमेत समेटिने चाड हो । दशैं सामुहिकता बोधको पर्याय पनि हो । शक्तिपीठको दर्शनबाट आल्हादित गर्ने पर्व हो । विषम परिस्थितिले यतिबेला शक्तिपीठ बन्द छन् । छर, छिमेकमा निराशा छाएको छ । मजदुर किसान गरेर छाक टार्नेहरुको मुखमा कोर्को लागेको छ । बल्लतल्ल नेपाल फर्किएकाहरु रोजिरोटीका लागि फेरि विदेश पलायन हुँदै छन् । कोरोना कहरकैबीच ७५ लाख नेपालीहरु विदेश गएका छन्, काम र मामको खोजीका लागि । वल्लो घर, पल्लो घरमा त्राहीमामको अवस्था छ । पीडा, वेदना र क्रन्दन छ । कहाँ आयो दशै ? कसलाई आयो दशैँ ? मान्छेमा छटपटी छ । कुनबेला के हुन्छ भन्ने जगजगी छ, । यस्तो अवस्थामा कसलाई आयो दशैँ ? रुघाखोकी लाग्नै नहुने भएको छ । मान्छेमा डरलाग्दो मनोविज्ञान हावी छ । कोरोना मनोविज्ञान । जेभएपनि कोरोना, जसलाई पनि कोरोना । कसरी आयो दशैँ ?
अस्पतालप्रति भरोसा टुटेको छ । स्वास्थ्य प्रवक्ता सास फेर्न अप्ठेरो हुँदा मात्र अस्पताल आउन सुझाएका छन् । यो सन्देशले मानिसमा अझै डर थपिएको छ । कसरी आयो दशैँ ? दशैँ आशिष लिने र दिने पर्व पनि हो । मान्यजनका हातबाट टीका थापी आशिर्वाद लिने र दिने हाम्रो पुरातन संस्कृति हो । तर कोरोना कहरका कारण बूढाबूढीको आशिष लिन बन्देज छ । अरुलाई आशिष दिन बन्देज छ । शक्तिपीठ सुनसान छ । कसरी आयो दशैँ ?
यसैले मानिसहरु भन्न थालेका छन्, चाँहिदैन शुभकामना, चाँहिदैन खशी, बोका च्याङ्ग्राका फोटाहरु ! यो साल न छोरीलाई बा आएका छन्, न गरीबलाई दशैँ ! साँच्चै हो, यो साल दशैँ आएकै छैन !