काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति अनुसार अग्रगामी शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको आशंका गर्दै सहमति अनुसार नै ऐन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण गरी तोकिएको समय भित्र जारी गर्न सरकारलाई खबरदारी गरेको छ । ‘विगतका सहमतीको अवस्था के छ ? कतै आम शिक्षक कर्मचारीको भावना र विगतका सहमति माथि षडयन्त्र त हुँदैछैन ? भन्ने जस्ता सन्देह पैदा भइरहेका छन् । यो अवस्थालाई मध्यनजर गरी हामी विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण हुने र तोकिएको समय तालिकामा काम सम्पन्न भई जारी हुने पक्षमा निरन्तर खबरदारी गरीरहेका छौं’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ऐन जारी गर्ने परिस्थिति बनाउन महासंघ लागिपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘विद्यालयका शिक्षक-कर्मचारीको हकहित माथि हुने कुनै पनि खालका षडयन्त्रलाई आकार ग्रहण गर्न नदिन तथा सहमति बमोजिमको नयाँ ऐन जारी हुने परिस्थिति निर्माण गर्ने पक्षमा महासंघ हिजो जसरी डटेको थियो आज पनि त्यसरी नै डटिरहेको छ । अहिले हामी समग्र परिस्थितिको वस्तुगत मूल्याङ्कन सहित जिम्मेवारीपूर्वक सक्रिय रहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालकक्षा, अस्थायीरकरार, विशेष शिक्षा, प्राविधिक धार, संस्थागत विद्यालय लगायतका सबै खाले शिक्षक र विद्यालय कर्मचारीलाई गोलबन्द भएर सक्रिय रहन महासंघले अपिल गरेको छ । गत चैत २० देखि २९ दिनसम्म महासंघले काठमाडौमा आन्दोलन गरेको थियो ।

प्रतिकृया दिनुहोस्