काठमाडौँ । शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग ठोस सहमति नभएसम्म आन्दोलन नरोक्ने बरु झनै चर्काउने भएको छ ।

सरकारसँगको वार्ता सहमतिउन्मुख भएपनि ठोस निष्कर्ष ननिस्केकाले आन्दोलनलाई झनै चर्काउने महासंघको तयारी छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११:०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ‘ उनले सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन् । गएराति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि ठोस निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्