काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजोपं)ले रोल्पाको बम विस्फोटमा परेका ४ बालबालिकाको मृत्यु भएको घटना प्रति दुख व्यक्त गरेको छ । साथै, सम्बद्ध परिवारलाइ यथोचित राहत उपलब्ध गराउन सरकार सँग आग्रह गरेको छ ।

वैैशाख १८ गते विहिवार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम बिस्फोटमा परेर ४ बालबालिकाको मृत्यु भएको थियो ।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सिजोपका अध्यक्ष नरेन्द्र डंगोलले बारुदी सुरुङ र द्वन्द्वकालका विस्पोटक पदार्थ मुक्त मुलुक घोषणा भएको वर्षौं बितिसक्दा पनि यस्ता घट्ना हुनुले अझै जोखिम यथावत रहेका देखिएको बताए ।

२०६२ सालमा ‘दुम्ला भिडन्त’ भनेर चिनिएको भिडन्तको बेला छाडिएको विस्पोटक पदार्थका कारण यो घटना भएको स्पष्ट संकेत गरेकोसमेत सिजोपले जनाएको छ ।

सिजोपले द्वन्द्वकालमा सुरक्षा फौज र विद्रोहीले प्रयोग गरेका संरचनागत स्थानका बारुदी सुरुङ बाहेक सुरक्षा फौज र विद्रोहीको भिडन्त स्थानहरु, छोडिएका बम तथा विस्फोटक पदार्थहरु र संभावित स्थानहरुको पहिचान, पूर्ण निस्तेजीकरण र सो बारेमा सुरक्षा संचेतना लगायत आवश्यक कार्य गर्नका लागि नेपाल सरकार तथा सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

२०७७ बैशाख १९ गते १७:२०मा प्रकाशित

प्रतिकृया दिनुहोस्