एसईईमा चिट लोकप्रियताको कारण निराकरणका बारेमा बहस हुन जरुरी छ । चिट अंग्रेजी शब्द भए तापनि नेपाली भाषामा पनि विशेषत एसईईका कारणले आफ्नो वर्चश्व कायम गर्दै आएको छ । अङ्ग्रेजी शब्दको हिज्जेअनुसार चीट शव्दको अर्थ एक सानो कागजको टुक्रा र अर्को निहीत स्वार्थपूर्तिका लागि विश्वासघात गरी गरिने अनुशासनहीन धूर्त कामलाई जनाउँछ ।
परीक्षामा सानो कागजको टुक्रामा उत्तर लेखेर निरीक्षकको आँखा छली चार्ने काम हुने भएकोले बर्तमानमा चिट शब्द अङ्ग्रेजीका उल्लेखित दुबै अर्थको रिमिक्सका रुपमा प्रयोग भएको पाइन्छ । अन्य क्षेत्रमा पनि यसलाई विना हिचकिचाहट आफनो बानीबेहोरामा उतारेको बग्रेल्ती उदाहरण पाइन्छ । एकले अर्कालाई ठग्ने झुक्याउने धोखा दिने काम हाम्रो संस्कार र संस्कृति बन्दै गएको छ ।
राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईलाई मर्यादित बनाउने प्रयाश गरे तापनि चिट चोर्ने चोराउनेको चर्चामा कमी आएको छैन् । एसईई सँगसंगै चिट चोर्ने चोराउने प्रसङ्ग पनि उतिकै चर्चाको विषय बन्ने गरेको छ । यस वर्षको पहिलो दिनको परीक्षामा पनि खोटाङमा केन्द्राध्यक्ष, सर्लाहीमा दशजना निरीक्षक, दैलेखमा नक्कली परीक्षार्थी, बारामा चिट चोराउन सहयोग गरेका दुईजना शिक्षक पक्राउ परेको समाचार सार्वजनिक भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा मर्यादित बनाउन हरप्रयास गरे तापनि चिट निमिट्यान्न पार्न हम्मे हम्मे परेको यर्थाथता हो । एसईईमा मात्र चिटको चर्चा किन व्यापक हुन्छ ? कारण खोजिनु पर्दछ । चिट चोर्न चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गरेर लाग्छन् ? बहसको विषय बन्नु पर्दछ । परीक्षा सञ्चालन समयमा गरिने कडाई चिट निराकरणको एक मात्र उपाय हो त ? सार्थक अध्ययन अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्व भैसकेको छ । शैक्षिक विकृति विसंगतरुपी रोगको एक लक्षण मात्र हो अहिलेको सदाबहार चिट लोकप्रीयता ।
पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि हासिल गर्दै तोकिएको समयावधि पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिने गरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चिट लोकप्रियता । यसप्रकार चिटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकार पक्ष उम्किन खोज्नु अक्षम्य भूल हो । अर्कोतर्फ चिट चोर्नु चोराउनु र चोर्न विवस बनाउने सबै गतिविधि एक प्रकारको शैक्षिक भ्रष्टाचार हो । चिट चोरर पास हुनु र सुन्नियर मोटाउनु एकै हो ।
चिट चोरेर अधिक अङ्क ल्याएर सफल भएपनि पछि व्यवहारमा असफल हुंँदाको ग्लानियुक्त यर्थातता व्यहोर्दाको क्षण पश्चातापपूर्ण हुन्छ । तसर्थ वास्तवमा चिटले गर्दैन कसैको हित । केही वर्ष अगाडि रुकुमको एक परीक्षार्थी छात्राले चीट खोसिएको अपमान सहन नसकेर आत्मा हत्या गरिन ।
चिट चोर्ने बाध्यतालाई निरुत्साहित गर्न अभिभावक, विद्यार्थी, शिक्षक सरोकार सबैले बेलैमा सोच्नु बुद्धिमत्ता काम हुनेछ । शैक्षिक विसङ्गति, विकृति र क्षति रुपी रोगको लक्षण मात्र हो चिट समस्या । अतः शिक्षण संस्थाका लागि तोकिएका न्युनतम सेवाशर्त पुरा नगरी सेवाप्रदायक संघसंस्था निकाय र पदाधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा आर्जन गर्नबाट ठगेको (चिटिङको) प्रतिफल हो चिट संस्कारको विकास र विस्तार । तसर्थ परीक्षामा चिट अपसंस्कृति मौलाउनुमा विद्यार्थीलाई मात्र दोष दिनु अन्याय हुन जान्छ ।
चिट चोर्ने चोराउने तथा परीक्षालाई बिथोल्ने जो कोहीलाई कसुरअनुसार परीक्षा बाट निस्कासन तथा ६ महिना सम्म जेल सजाय वा एक लाख सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षागर्न सकिन्छ । शैक्षीकसत्र भरी हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासिनताको प्रतिफलहो चिट । शिक्षक, अभिभावक, विद्यालय तथा नीति निर्माताले विद्यार्थीलाई केनद्रविन्दुमा राखेर इमान्दारीपूर्वक शैक्षणिक गतिबिधी सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटिङ संस्कारलाई निरुत्साहित गर्न बल पुग्नेछ ।
एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्दै उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । जसले विद्यार्थीलाई परीक्षा देखि डराउने रोग एक्जामफोविया हुनबाट बचाउँछ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले पनि विद्यार्थीको रुचि क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने बानी र योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नता एवं उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठनको अभ्यास गर्ने अवसरको चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो ।
किनकि एसईईको नतिजाको आधारमा विद्यालयको छवि सरकार र समुदायमा कायम हुने गरेको छ । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकरात्मक प्रयास गर्नुपर्ने हुन्छ ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पारेके हुन्छ नै । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको हैसियत निक्र्यौल गर्दछ । विद्यार्थीले परीक्षालाई सहज र सामान्यरुपमा आत्मसात गर्ने खालको वातावरण बनाउन सकेमा पनि चिट संस्कारलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।
एसईई परीक्षा प्रत्यक्ष रुपमा विद्यार्थीको लागि मात्र फलामे ढोका भए जस्तो लागेता पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षा सम्बन्धि अख्तियार गरेको नीतिनियम तथा कार्यव्रmमको प्रभावकारिता जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुुर्याउन चासो देखाए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो ।
तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित सरकारी निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायत सरोकारपक्षको पनि परीक्षा हो । परीक्षामा असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भए तापनि परोक्ष रुपमा अन्तत्वगत्वा समग्र राष्ट्रलाई पर्ने तर्फ हेक्का राखेर परीक्षाको सही विश्लेषण र व्याख्या गरी आ—आफनो जिम्मेवारी र जवाफदेहिता बहनगर्न ढिलो भैसकेको छ। तसर्थ एसईईलाई मर्यादित एवं अनुशासित रुपमा सञ्चालन गर्न ंसबै क्षेत्रबाट इमान्दारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न सक्यौें भने विद्यार्थीले कर र डर ले नभइ रहरले परीक्षा दिन उत्साहित हुनेछन् । परीक्षामा जसरी भएपनि पास गर्ने गराउने नकरात्मक प्रबृतिलाई निरुत्साहित गर्न सकेमा मात्र एक सफल, सभ्य, सुशिल, स्वाभिमानी तथा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न सकिएला कि ?
कार्की पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।