कोभिड–१९ ले प्रत्यक्ष असर पारेको विभिन्न क्षेत्रहरु मध्ये विद्यालय शिक्षा पनि एक हो । हाल विश्वभर लाखौं लाख बालबालिका शैक्षिक वृत्ति र विकासबाट बञ्चित भएका छन् । विश्वभरी विद्यालय खुल्ने र बन्द हुने क्रम जारी छ । कतै खोलिएका विद्यालय बालबालिकामा संक्रमण पछि फेरी बन्द भएका र कतै सामाजिक दूरी तथा स्वास्थ्य सावधानी अपनाएर फेरि विद्यालय खुलेका समाचार आइरहेका छन् ।
नेपालमा पनि लाखौं विद्यार्थी पठन पाठन वाट बञ्चित भइ घरमै बसेको अवस्था छ । घरमा रहेका बालबालिकाको शिक्षामा सरोकारवालाको चासो हुनु स्वाभाभिक छ तर विद्यार्थी घरमै रहनुको कारक शिक्षक हुन् भन्नु हास्यास्पद छ । हालैका सामाजिक सञ्जाल तथा विभिन्न पत्रपत्रिकामा व्यक्त विचार हेर्दा शिक्षक नै वर्तमान परिस्थितिको कारक भएझै प्रस्तुत गरिएको छ । तिनै विचारका आधारमा धारणा बनाई शिक्षकको मानमर्दन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
शिक्षकहरूले काम नगरी पारिश्रमिकको आशा गरेको, विद्यालय नगई घरमै बसेको, परिश्रम नगरी पारिश्रमीक लिन खोजेको, विद्यार्थीको भविष्य प्रति बेवास्ता, सरकारि निर्णय प्रति उदासिन जस्ता संगीन आरोप लगाइएको छ । यिनै विचारहरुबाट शिक्षक प्रतिको आम धारणा र बुझाइ कति साघुँरो र नकारात्मक रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ ।
के शिक्षक चैत्रदेखि निदायकै हुन् त ?
पक्कै पनि यस बेला शिक्षकहरू पूर्ववतरुपमा झै सबै विद्यालयमा उपस्थित भएका छैनन् । धेरै शिक्षकहरु घरैबाट पनि निरन्तर विद्यालयको सम्पर्कमा छन् र विद्यालय प्रशासनले लगाएको कार्य गरिरहेका छन् । यस विषम घडीमा पनि आवश्यकतामा विद्यालय प्रशसन खोलिएका छन् ।
शिक्षकले लकडाउनकै अवधिमा चैत्रमा हुन नसकेको नतिजा प्रकाशन र बितरण गरेका छन्। साथै राष्टिय महत्व पायको एसइइ परीक्षाको अंकन समेतको जिम्मेवारी पुरा गर्ने काम शिक्षकले यसै बिच सम्पन्न गरेका छन् ।
विद्यार्थीलाई पढाइसँग जोड्न सबै विद्यालयले विद्यार्थीको हातहातमा किताब पुर्याउने काम शिक्षकले नै गरेका हुन् । धेरै निजी तथा केही सामुदायिक विद्यालयका शिक्षकले आफ्नै लगानीमा अनलाइन कक्षा सञ्चालन गरिरहेकै छन् । सामाजिक सञ्जालमा भाइबर तथा मेसेन्जर गु्रप निर्माण गरी विद्यार्थी शिक्षक जोडेकै छन् ।
विभिन्न शिक्षकहरूका पेशागत संघ सङ्गठनले पेशागत उन्नयनका तालिम गोष्ठी निरन्तर चलीरहरेकै छन् । अझ भनौं वैकल्पिक शिक्षणको अबधारणा आए सँगै शिक्षक सुत्न सकिरहेका छैनन् । बरु कोभिडसँग जुध्न जुम, टिम जस्ता अनलाइन शिक्षणका एप्लिकेशन टुल चलाऊन सिकेर बसेका छ् । परम्परागत शिक्षण प्रविधिमा वर्षौं निदाएका शिक्षक अब टोल शिक्षक, गाउ शिक्षक र अनलाइन शिक्षकको रुपमा बिउझेका छन् । शिक्षकका यी येस्तै सकारात्मक कामको लेखा कसले राख्ने ।
शिक्षक विद्यालय किन जादैनन् ?
विद्यालय विगतमा क्वरेन्टाइनको रुपमा प्रयोग भए । प्रयोग भएका विद्यालयलाई सेनिटाइज अझै गरिएको छैन । अझै दुर्गमका केहि विद्यालयमा क्वारेन्टीन यथावतै छन् । यस्तो जोखिममा विद्यालय जाँदा कसलाई फाइदा होला – विद्यार्थी, अभिभावक, आम समुदाय वा सरकार । हो देशका सबै विद्यालयमा क्वारेन्टाइन छैनन् र थिएनन्न् पनि । यो तथ्य मनन् गर्दै केही शिक्षकहरू जब कोभिड ग्राफमा माथि उक्लिदैथ्यो, बिभिन्न जोखिम मोलेर आ–आफ्ना विद्यालय पुगे ।
तब कतै शिक्षकलाई नत हाजिर लगाउन दिइयो नत विद्यार्थीलाई अभिभावकले स्कुलनै पठाए । बरु उल्टै तपाईं १५ दिन घरमा नबस्नुस् भनेर अपमानित गरे । अनि घर फर्कन शिक्षक विवस भए । यता संस्थागत विद्यालयका शिक्षकले यस बिच धेरैले जागिर नै गुमाए, कुन बिद्यालय जाउन् ? शिक्षक सधै बालबालिका सँग रमाउन चाहन्छन् । शिक्षक विद्यालयमै सुरक्षित र स्वतन्त्रता महशूस गर्छन् । परिस्थिति बनोस्, सबै शिक्षक विद्यालय जान आतुर छन् ।
सरकारी निर्देशन काफि छ र ?
विगत ५ महिना देखि हाम्रा तिनै तहका सरकार निकै गम्भिर देखिए । साचै देशका विद्यालय १ मिनट बन्द हुनु भनेको सक्षम कुसल जनशक्ति निर्माणमा त्यति नै ढिलाइहुनु हो । नानो सेकेन्डको हिसाब राख्ने जमानामा हामी ६ महिनाको हिसाब निकाल्दै छौं ।
घाटा त निकै भइसक्यो । यो बिच न सरकार साचिकै तात्यो न कुनै सरोकारवाला । शिक्षाकै तालुकदार अड्डा शिक्षा शिक्षा मन्त्रालयले केवल निर्देशन मात्र जारी गर्ने काम गर्यो । कहिले श्रावणबाट भर्ना गर्ने, कहिले भाद्र १५ पछि, अनि भाद्र मसान्तसम्म बन्दको सूचना गर्ने काम मात्र गर्यो । स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न खोजेपनि केन्द्र सरकारले बन्द गर्न पत्र काटेका धेरै उदाहरण छन् ।
हाल सरकारले असोज १ गते देखि वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । यसबिच शिक्षण सिकाइ क्रियाकलाप सहजीकरणका लागी भौतिक अवस्थाको सुधारका लागि कुनै पहल भएको देखिदैन । बरु उल्टै एकोहोरो दोषारोपण मन्त्रालयले शिक्षक माथि गरिरहेका छ ।
सरोकारवालाको भुमिका
कोभिड–१९ को प्रकोप अझ कहिलेसम्म हुने हो यकिन छैन । सरकारले भर्खरै वैकल्पिक प्रणालीबाट सिकाइ सुचारु गर्ने ढोका खोलेको छ । सम्भवत असोज १ गते देखि वैकल्पिक माध्यमबाट नियमित कक्षा सञ्चालन हुनेछन् ।
कोभिडपूर्व बनाइएका पाठ्यक्रमले सुझाएका शिक्षण विधिले काम गर्छन् कि गर्दैनन् भन्ने विषयमा वहस भएको भने पाइदैन । शिक्षाविद्हरु बिच शिक्षक किन विद्यालय गएनन् भन्ने विषयमा मात्र छलफल केन्द्रित भएको पाइन्छ । कोभिडसँगै र कोभिडपछि विद्यालय शिक्षा कसरी जाने, वर्तमान समयमा विक्षिप्त वनेको बालमनोविज्ञानलाई भविष्यप्रति अशावादी जगाउन के कस्ता विषयवस्तुहरु समेटने कुरामा बहस सुनिदैन ।
काम नगरी किन तलव खाने ?
पारिश्रमिक भनेको पक्कै पनि परिश्रम पछिको लाभ हो । भनिन्छ मौद्रिक तथा अन्य प्रोत्साहनले कामदारको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्दछ । साथै, पारिश्रमिक जीवन निर्वाहको आधार पनि हो । वर्तमान कहरमा सामुदायिक विद्यालयका शिक्षकहरूले काम नै नगरी पारिश्रमिक बुझेको आरोप छ । अर्कोतिर सरकारको वार्षिक कार्यक्रम प्रस्तुत गर्दा नै ‘अबदेखि कोही भोको हुनुपर्देन’ भन्ने घोषणा गरेको देशमा किन यति छिट्टै शिक्षकलाइ भोकै बसाउनुपर्छ भन्ने मान्यता आयो होला ? कोभिड–१९ को महामारीका सर्जक शिक्षक होइनन् । शिक्षकको यस परीस्थितिमा गास काट्नु पर्छ भन्ने विचार साचिकै पीडादायी छ । उता, निजी विद्यालयका शिक्षक तथा सामुदायिक विद्यालयका निजी श्रोत शिक्षकले फागुन देखिनै पारिश्रमिक नपाएको गुनासो छ ।
ती शिक्षकले यो कहरमा कसरी अफ्नो जीवन निर्वाह गरीरहेका होलान् कोहि बाल्दैनन् । सबै भन्दा पीडित निजी विद्यालयका शिक्षक नै छन् । जवकी नीति निर्माता, उच्च पदाधिकारीहरु, सम्भ्रान्त वर्गका छोराछोरीहरु तिनै निजी विद्यालयमा अध्यायन गर्दछन् । साथै, फाइदाका लागि खोलिएका निजी विद्यालयका सञ्चालकले बिसौं वर्षको फाइदाबाट अलिकति घाटा व्यहोर्दे आफ्ना कर्मचारीलाई जीवन निर्वाहमा सहयोग पुर्याउदा कद अझै बढ्ने थियो । यस विषयमा न त सरकार मुख खोल्छ न त सरोकार पक्षनै बोल्छ ।
अन्त्यमा वर्तमान कोभिड संक्रमणले निम्त्याएका जटिल परिस्थितिका सर्जक शिक्षक होइनन् भन्ने थाहा हुँदाहुँदै शिक्षकलाइ दोसी करार गर्नु निन्दनीय छ। शिक्षण पेशामा लागेका व्यक्तिका खराबी र कमजोरी होलान् त्यसमा शिक्षक जिम्मेवार हुनै पर्छ । तर कोभीड–१९ ले शृजित वर्तमान परिस्थितीको गाम्भिर्यता ख्याल नगरि हल्लाले शिक्षाविद् कहलाउन आउनुहोस् शिक्षकलाई गाली गरौं ।