विद्यालय शान्तिक्षेत्र एक, गर्नुपर्ने अनेक

Avatar photo

Byएजुकेशन पाटी

३ भाद्र २०८१, सोमबार
बाबुकाजी कार्की

विषय प्रवेश
बालबालिकाको समग्र विकासको निम्ति विद्यालयको वातावरण शान्त, सुरक्षित र रमाइलो हुनु अपरिहार्य हुन्छ । विद्यालय विभिन्न पृष्ठभूमि बोकेका बालबालिका जमघट हुने संगम स्थल हो । विद्यालयलाई बालबालिकाको लागि सहज सुरक्षित एवं रोचक ढंगबाट शिक्षा आर्जनका निमित्त सुगम पहुँच स्थानको रुपमा विकास र विस्तार गरिनु पर्दछ ।

व्यवस्थित, बालसुलभ, सुरक्षित र बाल संरक्षित रुपमा विद्यालयको व्यवस्थापन गर्दै लैजानु पर्दछ । विद्यालय बालबालिकाको शारीरिक, मानसिक, संज्ञानात्मक, बौद्धिक, नैतिक विकास गर्ने पवित्र साझा थलो बन्नु पर्दछ। विद्यालय शान्ति क्षेत्रको आवश्कता र औचित्यका बारेमा राज्यका निकायहरु र यस क्षेत्रमा काम गर्ने अन्य सरोकारवाला राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्था बीच साझा बुझाई विकास गरी खास सूचकहरु पहिचान हुन आवश्यक छ । बालमैत्री विद्यालयको परिकल्पना विद्यालय शान्ति क्षेत्र बिना निरर्थक हुन्छ । अतः विद्यार्थीको आफ्नो योग्यता क्षमता र औकातअनुसार अधिकतम योग्यता दक्षता हासिल गर्न विद्यालय शान्ति क्षेत्र अपरिहार्य हुन्छ ।

विद्यालय शान्तिक्षेत्रको रुपमा स्थापना नभएसम्म नेपालले विश्वसमुदाय समक्ष गरेको सबैका लागि शिक्षा र मानव विकास लक्ष्य पूरा गर्न सम्भव छैन । नेपालको राष्ट्रिय योजनामा परेको विद्यालय क्षेत्र सुधार अन्तरगत सन २०१५ सम्ममा सबैका लागि शिक्षा होस या शिक्षाका लागि विश्वव्यापी अभियानका लक्ष्यहरु हासिल गर्न विद्यालयमा निर्विवाद रुपमा तोकिएको समयावधि भर पठनपाठन जरुरी हुन्छ ।

त्यस्तै राष्ट्रिय योजना आयोगले त्रिवर्षीय अन्तरिम योजना (२०६६।६७) ले अगाडि सारेको विद्यालयलाई शान्तिक्षेत्र बनाउन पहल गर्ने, विद्यालयहरुलाई बालबालिका मैत्रीपूर्ण वातावरण सिर्जना हुने व्यवस्था गर्ने, साथै बालबालिका र उनीहरु कृयाशिल रहने क्षेत्रलाई शान्तिपूर्ण बनाइने छ भन्ने जस्ता लक्ष्यहरु हासिल गर्न सरोकार पक्षले आत्मसात गरी यथाशक्य योगदान पु¥याउनुपर्ने हुन्छ । नेपालका सबै विद्यालयहरुलाई वास्तवमा कसरी शान्ति क्षेत्र बनाउन सकिन्छ ? सबैको चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ ।

विद्यालयको व्यवस्थापन तथा गतिविधिहरुमा राजनीतिक हस्तक्षेपबाट कसरी तटस्थ राख्ने ? कम्तीमा सबै सरोकार पक्ष गम्भीर हुनुपर्ने बेला आएको छ। विद्यालयमा हुने भेदभाव दुर्व्यवहार, व्यवस्था, शोषण तथा शारीरिक एवं मानसिक यातनाबाट निस्कलंक राख्न के के उपायहरु अबलम्बन गर्नुपर्छ ? स्पष्ट नीति नियम, तथा आचरसंहिता बनाएर पालना भए नभएको पुरस्कार र दण्डको व्यवस्था समेतको जवाफदेहीपूर्ण प्रभावकारी अनुगमन निरीक्षण प्रणालीको स्थापना अपरिहार्य हुन्छ ।

विद्यालय शान्तिक्षेत्र र राजनीति
विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट निस्कलंक राख्न वर्तमान परिवेशमा हम्मे हम्मे परेको छ। विद्यालय व्यवस्थापन गठनमा स्थानीय तहको चुनावलाई विर्साउने गरी पार्टीगत प्यानेल उठाएर अस्वस्थ प्रतिष्पर्धा गर्ने परम्परा हावी रहनु, यसरी छानिएका पदाधिकारीबाट शिक्षक कर्मचारी नियुक्ति लगायतका गतिविधिमा विवेक भन्दा विचार, राम्रो भन्दा हाम्रो नीति भन्दा नेताको आधारमा निर्णय भएका बग्रेल्ती उदाहरण पाइन्छ। त्यस्तै कतिपय अवस्थामा शिक्षक विद्यार्थी स्वयंबाट शिक्षण संस्थालाई राजनीति गर्ने अखडा बनाएर आत्मघाति कदम चालेको पाइन्छ।

विद्यालयलाई राजनीतिको दुराशाययुक्त ग्रहणबाट मुक्त राख्न विद्यालय भित्र राजनीतिक सभा सम्मेलन, शिक्षक विद्यार्थीको राजनीतिक सभा सम्मेलनमा अनिवार्य उपस्थितिको बाध्यता, विद्यालय भवन तथा हाता भित्र पार्टीका नारा, प्रचार सामग्री लेखन तथा विद्यालयका नीति नियम र निर्णयलाई पार्टीको स्वार्थपूर्तिगर्ने गरी प्रत्यक्ष परोक्ष प्रभाव पार्ने गतिविधिहरु राजनैतिक हस्तक्षेपका केही प्रतिनिधि उदाहरण मात्र हुन । यी र यस्तै खाले गैर शैक्षिक क्रियाकलापले विद्यालयलाई स्वच्छ र स्वस्थ शान्ति क्षेत्रको रुपमा विकास गर्न बाधा पुगेको सर्वत्र महशुस गरिएको छ ।

अत: विद्यार्थीको योग्यता, क्षमता, आवश्यकता र चाहना अनुसार शिक्षा आर्जन गर्ने उत्कृष्ठ थलोको रुपमा विकसित गर्ने खालको साधनस्रोत जुटाउन र परिचालन गर्न तथा शिक्षक विद्यार्थीले स्वस्फूर्तरुपमा अनुशासित वातावरण कायम राख्दै स्वाभिमानी पूर्वक अध्ययन अध्यापन गर्न कम्तीमा पनि नकरात्मक राजनीतिक प्रबृतिलाई विद्यालयमा ढिम्किन दिनु हुँदैन । यस्ता निन्दनीय प्रबृतिलाई निरुत्साहितगर्न कडा आचरसंहिताका साथै कार्यान्वयनका आधारमा पारदर्शी पुरस्कार र दण्डको व्यवस्था गरी सार्वजनिक गरिनु पर्दछ।

विद्यालयलाई शान्तिक्षेत्र बनाउन त्यहां भित्रको मानवीय तथा भौतिक वातावरणको व्यवस्थापन रमणीय र चित्ताकर्षक हुन आवश्यक पर्दछ। विद्यालय बालमैत्रीका साथसाथै शिक्षकमैत्री हुनुपर्द छ। त्यस्तै विद्यालयलाई शान्तिक्षेत्रको रुपमा नियमित सञ्चालनका लागि आवश्यक राष्ट्रिय नीति तथा संस्थागत संरचना विकास गरेर कार्यान्वयनलाई प्राथमिकता दिइनु पर्दछ । शान्तिक्षेत्रका नीति तथा कार्यक्रमको निमार्ण तथा कार्यान्वयनमा सरोकार राख्ने संघसंस्था राजनीतिक दल, शैक्षिक निकाय, विद्यार्थी संगठन, शैक्षिक पेशागत संघसंगठनहरु, सरकारी गैर सरकारी निकायका केन्द्र देखि स्थानीय तह सम्मका संरचनालाई जवाफदेही बनाउनु पर्दछ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भए गरेका राम्रा अभ्यासहरु आत्मसात गरी निरन्तरता दिन पर्याप्त अध्ययन अनुसन्धानलाई प्राथमिकता बनाइनु पर्दछ।

विद्यार्थी बर्तमानका साझेदार तथा भविष्यका कर्णधार हुन तसर्थ शान्तिलाई उनीहरुको वानी व्यहोरा चालचलन लगायत जीवनपद्धतिसंग एकाकार गर्न पाठ्यक्रम पाठ्यपुस्तकमा पनि शान्ति शिक्षाका विषय वस्तुलाई समेट्नु दूरदर्शिता हो। विद्यालय भित्र गरिने शिक्षणसिकाई क्रियाकलाप, अतिरिक्त क्रियाकलाप लगायतका गतिविधिमा गरिने व्यवहार शान्तिलाई प्रवद्र्धनगर्ने खालको हुनुपर्दछ। बालबालिकाको कलिलो मस्तिष्क तथा स्वाभिमानमा ठेस पुग्ने गतिविधि नगर्न सदैव चनाखो रहनु पर्दछ।

विद्यालयको पठनपाठनमा बाधाव्यवधान खडागर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउन हिचकिचाउनु हुँदैन। बालबालिका, शिक्षक, अभिभावक, व्यवस्थापन समिति तथा आवश्यक परे पेशागत सगठनहरु समेतको सदभाव, सहकार्य, समन्वयमा मात्रै विद्यालयलाई दिगो रुपमा सार्थक शान्ति क्षेत्र बनाउन सकिने यथार्थतालाई नकार्न सकिन्न। विद्यालय शान्ति क्षेत्रलाई प्रभावकारी कार्यान्वयनगर्न विभिन्न नीति र रणनीति अबलम्बन गर्नुपर्ने हुन्छ । सामान्यतया प्रारम्भिक अवस्थामा निम्न उपायहरु कार्यनीतिक रुपमा अपनाउन विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ ले सिफारिस गरेको छ।

नीतिगत र संरचनागत व्यवस्था
विद्यालय शान्ति क्षेत्रको संस्थागत विकास र विस्तार गर्दै दिगो व्यवस्थापन गर्न स्पष्ट र व्यवहारिक कानुनी एवं नीतिगत व्यवस्था हुनु पहिलो प्राथमिकता हो । यसप्रकारको नीतिगत व्यवस्थालाई राष्ट्रिय देखि स्थानीयतह सम्म संरचनाहरुको संस्थागत स्थायित्व हुनुपर्दछ । विद्यालय शान्ति क्षेत्रको दिगो विकास र विस्तारका लागि प्रभावकारी नियमित अनुगमन निरीक्षणको महत्व रहन्छ ।

आचारसंहिता निर्माण र कार्यान्वयन
विद्यालयलाई शान्तिक्षेत्र बनाउनका लागि प्रत्यक्ष सरोकारराख्ने शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, अभिभावक लगायतको आचारसंहिता बनाएर कडाईका साथ लागु गरिनुपर्दछ । यसरी आचारसंहिता बनाउदा सरोकारवालाको सक्रिय सहभागितालाई नकार्न सकिन्न । त्यस्तै स्थानीय परिवेश अनुसार आचारसंहिताको विषय र विधि फरक पनि हुनसक्छ ।

सरोकारवालाहरुसँगको साझेदारी
शान्तिक्षेत्रलाई प्रत्यक्ष र परोक्ष सरोकार राख्ने राजनीतिक दलका भातृ संघ संगठन, शैक्षिक पेशागत संघ संगठन, सरकारी तथा गैह्र सरकारी संघसंस्था, निजी तथा सामुदायिक सामाजिक सस्थाहरु लगायत विद्यालयको विकास र विस्तारमा सहयोग, सहकार्य र समन्वय गर्ने पक्षहरुसंगको संलग्नतामा मात्रै विद्यालय शान्ति क्षेत्र दिगो हुने कुरामा दुईमत हुन सक्दैन ।

प्रवर्धन र सचेतना
विद्यालय शान्तिक्षेत्रलाई समयानुकुल र स्थानीय आवश्यकता एवं परिवेश अनुसार विकास र विस्तार गर्न सरोकारपक्षको चाहना, आवश्यकता तथा चेतनाको स्तरलाई समेत मध्यनजर राखेर प्रवर्धन र सचेतनाका कार्यक्रम सञ्चालन गरिनुपर्दछ । यस्ता कार्यक्रम सञ्चालनको तयारी गर्दा सरोकारवालाको सक्रिय संलग्नताले उद्देश्यमा सुगमतापूर्वक पुग्ने तथा दिगोपन आउदछ ।

बालसहभागिता
विद्यालयको वास्तविक सेवाग्राही भनेको विद्यार्थीहरु हुन । विद्यार्थीहरु भविष्यका कर्णधारमात्र नभएर वर्तमानका साझेदार पनि हुन भन्ने यर्थाथतालाई बिर्सनु हुन्न । त्यसकारण विद्यालय तथा समाज र समुदायमा गरिने कतिपय सामाजिक तथा रचनात्मक कामहरुमा उनीहरुको सहभागितालाई प्रोत्साहित गरिनुपर्दछ । यसरी जीवनोपयोगी गतिविधिमा संलग्न गरांउदा उनीहरुमा आत्मबल र आत्मविश्वासको साथसाथै भावी जीवनको तयारीको पूर्व अभ्यासगर्ने अवसर पनि प्राप्तहुन्छ ।

पाठ्यक्रममा शान्ति शिक्षा
विद्यालयतहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा पनि शान्ति शिक्षाको सैद्धान्तिक एवं व्यावहारिक ज्ञान र सीपका आधारभूत ज्ञानदिने खालका विषयवस्तुलाई समावेश गरिनुपर्दछ । त्यस्तै शिक्षकहरुलाई पनि शान्ति शिक्षाका बारेमा बिस्तृत जानकारी प्रदान गर्नेगरी आवश्यकता अनुसार तालिम, गोष्ठी, सेमिनार आयोजना गरेर उनीहरुको कार्यक्षेत्रमा अनुगमनको व्यवस्थाले विद्यालय शान्ति क्षेत्रलाई प्रभावकारी बनाउन सकिन्छ ।

अध्ययन अनुसन्धान
विद्यालय शान्तिक्षेत्रका गतिविधिलाई विश्व परिवेश देखि स्थानीयस्तर सम्म भएगरेका राम्रा र नविन अभ्यासहरुको पहिचान गरी अवलम्वनगर्न अध्ययन अनुसन्धानलाई आधार मानिनु पर्दछ ।

विद्यालय शान्तिक्षेत्रलाई असरपार्ने गतिबिधिहरु
विद्यालयमा विभिन्न विचार, आस्था, धर्म संस्कार संस्कृति तथा आर्थिक सामाजिक एवं भौगोलिक विविधतामा हुर्केका बालबालिकाको जमघट हुने एक सामाजिक संस्था हो । शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत अन्य सहयोगी र सरोकार पक्षहरुको कार्यकुशलतामा मात्र विद्यालयमा शान्ति छाउन सक्छ । विद्यालय शान्तिक्षेत्र लाई वास्तवमा सार्थक बनाउन निम्न पक्षहरुको व्यवस्थापन तदारुक्तासाथ जवाफदेहीपूर्ण तरिकाले गरिनुपर्दछ ।

अस्वस्थ राजनीतिक हस्तक्षेप :
साधारण अर्थमा सबै नीतिहरुको पनि नीति राजनीति हो । सबै नीतिहरुको श्रोत मुहान राजनीति हो । यदी मुहान धमिलो हुंदा सबै धाराको पानी प्रदुषित भए जस्तै राजनीतिका विकृति विसंगति स्वभावैले शिक्षा नीति लगायतका अन्य नीतिहरुमा असर पर्दछ । विद्यालयमा अस्वभाविक दलगत राजनीतिक हस्तक्षेपलाई प्रश्रयदिने खालका निम्न गतिविधिहरुबाट अछुतो राख्नुपर्दछ ।

– विद्यालय हाता भित्र दलगत राजनीतिक गतिविधि आमसभा ,नारा जुलुस,प्रशिक्षण, गोष्ठी सेमिनार गर्न नदिने ।
-दलगत राजनीतिक गतिविधिमा विद्यार्थीको प्रयोग गर्न संघ संगठन खोल्न नदिने ।
– विद्यार्थीको पठनपाठनमा असरपार्ने गरी विद्यालय बन्द हडताल गर्न बाट रोक लगाउने ।
– विद्यालय भवन तथा विद्यालय हातामा राजनीतिक दलको नारा प्रचार सामग्री लेख्न र पर्चा पम्प्लेट टांस्न नदिने ।
– विद्यालयको पठनपाठनमा अवरोध नगर्न नगराउन राजनीतिक दल तथा तिनीहरुका भातृसंगठनहरु संग स्थानीय तथा राष्ट्र्यि स्तरमा अन्तरक्रिया, गोष्ठि आदीको आयोजना गरी प्रतिबद्धता जनाउन लगाउने। प्रतिबद्धता अनुरुप व्यवहारमा भए नभएको अनुगमन निरीक्षण तथा प्रतिबद्धताको उलंघन गर्नेलाई आवश्यक कार्वाही गर्ने व्यवस्था हुनुपर्दछ ।
-विद्यालय शान्तिक्षेत्रको महत्व र सहभागिता बारे जनचेतनामूलक कार्यक्रहरु सञ्चालन गर्ने गराउने ।

सशस्त्र तथा हिंसात्मक गतिबिधि
विगतमा कतिपय विद्यालयहरुमा विद्रोही तथा सरकार पक्षले सशस्त्र गतिविधि सञ्चालन गरेको थियो ।
-विद्यालय हातामा हतियारधारी व्यक्ति प्रवेश गर्ने वा सैनिक क्याम्प प्रयोजनका लागि विद्यालयको प्रयोग गर्न नदिने नीति हुनुपर्दछ ।
-विद्यार्थी शिक्षकलाई त्रसित पार्ने, चन्दा आतङ्क मच्चाउने, अपहरणगर्ने, मानसिक तथा शारीरिक यातनादिने जस्ता अमानवीय व्यवहारबाट मुक्त राख्नु पर्दछ ।
-विद्यालय विशुद्ध शैक्षिक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने संस्थाको रुपमा परिचित हुनुपर्दछ ।

भेदभाव तथा दुव्र्यवहार
बालबालिका तथा शिक्षक लगायतका गतिविधिमा बाधा पर्नेगरी गरिने अमानवीय एवं सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका निम्न विभेदलाई निरुत्साहित गरिनु पर्दछ ।

क.  शारीरिक तथा मानसिक : बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा मनोवैज्ञानिक विकास र विस्तार तिब्र गतिमा भैराखेको हुन्छ तर परिपक्वता आएको हुदैन । उनीहरुको भावनामा चोट पुग्नेगरी शारीरिक तथा मानसिक दुर्व्यवहार गरिनु हरन्न ।अनुशासन कायम गर्ने वा सजाय दिने जुनसुकै बहानामा पिट्नु, गाह्रो काम लगाउनु, भारी बोकाउनु, सूर्तीजन्य र नशालु पदार्थ खान सिकाउनु वा ओसारपसारमा बाध्य बनाउनु दुर्व्यवहार हो । मानसिक तथा भावनात्मक दुर्व्यवहार अन्तरगत बालबालिकालाई फकाफुलाई वा दवाबमा पारेर आफ्नो स्वार्थपूर्ती गर्नु, उनीहरुको भावनाको वास्ता नगर्नु, जिस्काउनु, खिल्ली उडाउनु, नराम्रो नाम काडेर बोलाउनु, व्यंग्य वा उपहासको पात्र बनाउनु पनि दुर्व्यवहार हो ।

ख. सामाजिक तथा भावनात्मक: सामाजिक गतिविधि तथा सभासमारोहमा जातजाती, लिङ्ग, धर्म संस्कार संस्कृति, सामाजिक आर्थिक विपन्नताको कारणबाट विभेद, उपाहास, बहिस्कार जस्ता विभेदका कारणबाट उनीहरुमा नकारात्मक भावनाको विकास मात्र नभएर प्रतिशोधको भावनको अमिट छाप खलबलल्याउन सक्छ ।

ग. यौन दुव्र्यवहार : बालबालिकालाई यौनजन्य व्यवहारबाट उनीहरुमा कुण्ठा, निराशा,र आत्माग्लानि हुन्छ । यौनजन्य गतिविधि जस्तै संवेदनशिल अंगहरुमा छुनु, छुन लगाउनु,अश्लिल चित्र र चलचित्र वा त्रिलयाकलाप देखाउनु वा गर्न लगाउनु, संवेदनशील अंगहरु देखाउनु, तस्बिर , भिडियो खिच्नु , यौनसम्पर्क गर्नु गराउनु तथा बालविवाह गर्नुृगराउनु समेतलाई यौन दुर्व्यवहार भनिन्छ ।

घ. बेवास्ता वा उपेक्षाः बालबालिकालाई रेखदेख, हेरचाह नगर्नु, शिक्षालाई बेवास्ता गर्नु, पोषण तथा र्आषधी उपचारको आवश्यकतालाई बेवास्ता गर्नु, बालबालिकाको इच्छा आकांक्षा र कुरालाई ठाडै उपेक्षा गर्नु ।

ड. शोषण : शारीरिक मानसिक रुपमा नकारात्मक असर पर्नेगरी काम, श्रम तथा यौन कार्यमा लगाइनु। विभिन्न बहानामा विद्यार्थीहरुबाट शैक्षिक गतिबिधि बाहेक शिक्षकले आफ्नो वा विद्यालयको स्वार्थपूर्तिका लागि अनियमित तरिकाबाट नगद वा जिन्सी लिईनु ।

च. दण्डहिनतामा कानुनी उपचारः विद्यालय भित्रका सबैखाले दुर्व्यवहार, हस्तक्षेप, भेदभाव, हिंसाबाट प्रभावित विद्यार्थीलाई तत्काल आवश्यकता अनुसार मनोसामाजिक हेरचाह तथा औषधोपचार गरी आवश्यक संरक्षण एवं अन्य कारवाहीका निम्ति ‌सम्बनिधत संघसंस्था वा निकायमा संयोजन गरी आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउने व्यवस्था आजको आवश्यकता हो ।

निष्कर्ष
विगत वर्षहरुमा कतिपय शिक्षणसंस्था सशस्त्र गतिविधिहरुको अभ्यासगर्ने थलोको रुपमा प्रयोग हुँदै आएका थिए। त्यस्तै शिक्षक विद्यार्थी यात हिंसाको शिकार भएका थिए या प्रत्यक्षदर्शी एवं मानव ढाल बनाइएका उदाहरण प्रशस्तै पाइन्छन। यसरी उनीहरुमा परेको मानसिक एवं शारीरिक आघातलाई सुधार्न अझ धेरै कसरत गर्नुपर्ने टडकारो देखिन्छ ।

तसर्थ विगतका कटु यथार्थताको अनुभवलाई समेत गम्भिरतापूर्वक मध्यनजर राखी सार्थक विद्यालय शान्तिक्षेत्रका लागि आगामी नीति तथा रणनीति बनाई बस्तुनिष्ठ एवं इमान्दारीपूर्वक कार्यान्वयन आजको खाँचो हो। साथै पठनपाठनलाई नियमित र अनुशासित बनाउन तथा शारीरिक तथा मानसिक हिंसाबाट अछुतो राख्न विद्यालयलाई शान्ति क्षेत्र बनाउनुको विकल्प छैन। अत विद्यालय सबै जात जाति, धर्म, संस्कार संस्कृति एवं आस्था र विचारको न्यायोचित कदर हुने पवित्र स्थलको रुपमा विकास र विस्तार गरिनु वर्तमानको आवश्यकता हो।

विद्यालयलाई शान्ति क्षेत्र बनाउन त्यहां भित्रको मानवीय तथा भौतिक वातावरणको व्यवस्थापन रमणीय र चित्ताकर्षक हुन आवश्यक पर्दछ। विद्यालय बालमैत्रीका साथसाथै शिक्षकमैत्री हुनुपर्द छ। त्यस्तै विद्यालयलाई शान्तिक्षेत्रको रुपमा नियमित सञ्चालनका लागि आवश्यक राष्ट्रिय नीति तथा संस्थागत संरचना विकास गरेर कार्यान्वयनलाई प्राथमिकतामा दिइनु पर्दछ। शान्ति क्षेत्रका नीति तथा कार्यक्रमको निमार्ण तथा कार्यान्वयनमा सरोकार राख्ने संघसंस्था राजनीतिक दल, शैक्षिक निकाय, विद्यार्थी संगठन, शैक्षिक पेशागत संघ संगठनहरु, सरकारी गैर सरकारी निकायका केन्द्र देखि स्थानीयतह सम्मका संरचनालाई जवाफदेही बनाउनु पर्दछ।

साथै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भए गरेका राम्रा अभ्यासहरु आत्मसात गरी निरन्तरता दिन पर्याप्त अध्ययन अनुसन्धानलाई प्राथमिकता बनाइनु पर्दछ। विद्यार्थी वर्तमानका साझेदार तथा भविष्यका कर्णधार हुन तसर्थ शान्तिलाई उनीहरुको वानी व्यहोरा चालचलन लगायत जीवनपद्धति संग एकाकार गर्न पाठ्यक्रम पाठ्यपुस्तकमा पनि शान्ति शिक्षाका विषयवस्तुलाई समेट्नु दूरदर्शिता हो ।

सन्दर्भ सामग्री
-शिक्षा मन्त्रालय (२०६८)ः विद्यालय शान्तिक्षेत्र राष्ट्र्यि ढाँचा र कार्यान्वयन निर्देशिका २०६८, केशरमहल काठमाडौं ः लेखक ।
-शिक्षा मन्त्रालय (२०६६), विद्यालय क्षेत्र सुधार योजना, २०६६—७२, केशरमहल काठमाडौंः लेखक ।
– कानुन किताब व्यवस्था समिति (२०५९), शिक्षा ऐन, २०२८ (संसोधनसहितं),काठमाडौंः लेखक ।
-कानुन किताब व्यवस्था समिति(२०५९), शिक्षा नियमावली, २०५९ (संशोधनसहित), काठमाडौंः लेखक ।

प्रतिकृया दिनुहोस्