शैक्षिक क्यालेन्डरले विद्यालयमा गरिने क्रियाकलापलाई व्यवस्थित गर्न मार्गदर्शन प्रदान गर्दछ । योजनावद्ध रूपमा गरिने क्रियाकलापले मात्र सहजतापूर्वक लक्ष्यमा पुग्न सकिन्छ । भनाइ पनि छ, बालीनाली लगाउन एक वर्ष, फलफूल खेतीका लागि कम्तीमा १० वर्ष र मानिसको शिक्षाका लागि १०० वर्षको योजना बनाउनु पर्दछ । विद्यालय शिक्षामा शैक्षिक क्यालेन्डर किन र कसरी भन्ने बारेमा बहसको जरुरी देखिन्छ । प्रत्येक शिक्षण संस्थामा शैक्षिक क्रियाकलापलाई व्यवस्थित नतिजामूलक रूपमा तोकिएको समयमा सम्पन्न गर्न शैक्षिक क्यालेन्डरको अनुशरणको खाँचो पर्दछ । शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट मर्यादित थलोको रुपमा पहिचान कायम गर्न विविध पक्षहरुसँग सहकार्य र चुस्त व्यवस्थापनको आवश्यकता पर्छ ।
भविष्यदर्शी शैक्षिक योजना, समसामयिक पाठ्यक्रम, पेशाप्रति समर्पित जवाफदेही योग्य शिक्षक, कुशल शैक्षिक नेतृत्व भएको प्रधानाध्यापक, उत्साही निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधान, अभिभावकीय भूमिका निर्वाह गर्ने सहयोगी सरकारी निकाय गुणस्तरीय शिक्षाका लागि बरदान हुन् । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, सदाचार र शिष्टता, इमान्दारिताले शिक्षण संस्थाको पवित्रता र गरिमालाई उच्च बनाउन योगदान पुर्याउँछ । बालबालिका विद्यालयबाट भागेर घर जाने परम्परागत मान्यतालाई निरुत्साहित गर्दै घर बाट भागेर विद्यालय जाने रोचक वातावरण सफल विद्यालयको परिचय हो । व्यवस्थित र योजनाबद्ध शैक्षिक क्रियाकलाप गरिने विद्यालयका लागि शैक्षिक क्यालेन्डर एक अपरिहार्य मार्गचित्र हो ।
विद्यालय शिक्षाको नयाँ शैक्षिक सत्र वैैशाखदेखि सुरु भएको छ । शिक्षण संस्थाका शैक्षणिक गतिविधिहरु योजनाबद्ध रूपमा सञ्चालनका लागि आवश्यक नीति र कार्यक्रमहरु क्यालेन्डरमा समावेश गरिन्छ । कार्यक्रमहरूको गति र प्रगतिको समीक्षा गरी समयमा नै सच्याएर सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक पनि हो शैक्षिक क्यालेन्डर। कार्यक्रममा पारदर्शिता, विकेन्द्रित जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कन, सहभागितामूलक निणर्य प्रक्रिया जस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै अधिकतम शैक्षिक उपलब्धि हासिल गर्न क्यालेन्डरले अहम् भूमिका खेल्दै छ।
शैक्षिक क्षति बढ्नुका विभिन्न कारणहरु हुन सक्छन् । योजनाद्ध शैक्षणिक कार्यक्रमहरु निर्वाध रूपमा सञ्चालन नभएको कारणबाट सरकारको लगानी मात्र नभएर स्वयम् विद्यार्थीको समयको बर्वादी, विद्याथीर्को कमजोर उपलब्धिस्तर, अभिावकको लगानीमा वृद्धि आदिले शैक्षिक क्षति विकराल बन्दै गएको जगजाहेर नै छ । त्यस्तै तोकिएको समयमा परीक्षा नहुनु, परीक्षाको नतिजा ढिला प्रकाशित हुनु, पाठ्यक्रमले तोेकेका पाठ्याँशहरुको पूरा पढाइ नसकिइकन पनि परीक्षा दिनुपर्ने वाध्यता विद्यार्थी लाई आइलाग्नु आदीले पनि शैक्षिक क्षति बढेको हो । यस प्रकारका क्षति लाई न्यूनिकरण गर्न शैक्षिक सत्रको सुरु मै व्यवहारिक शैक्षिक क्यालेन्डर निर्माण गरेर कडाइकासाथ लागू गर्नेतर्फ सरकार सरोकार पक्षले ध्यान दिनु जरुरी छ ।
विद्यालयले विगतको शैक्षणिक गतिविधीको समीक्षा गरेर आगामी शैक्षिकशत्रलाई अझ प्रभावकारी बनाउन खास गरी अभिभावक, विद्यार्थी, शिक्षक लगायतका शुभ चिन्तकको सल्लाह सुझाव र सहकार्य तथा अनुभवका आधारमा योजना तर्जुमा गर्नु पर्दछ ।
विद्यालयले योजना विद्यार्थीको पठनपाठनलाई केन्द्रबिन्दुमा राखेर बनाउनु पर्दछ । शिक्षण सिकाइ लगायतका शैक्षणिक कार्यक्रमलाई व्यवस्थित एवं चुस्त दुरुस्तरुपमा सञ्चालन गर्न योजनाबद्ध शैक्षिक क्यालेन्डरको आवश्यक पर्दछ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउने एकाइ योजना, पाठ योजनाहरुको पनि योजना तथा वार्षिक योजनाको विकल्पको रुपमा समेत शैक्षिक क्यालेन्डरलाइ प्रयोग गर्न सकिन्छ ।
कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूचि क्षमता अनुसार तोकिएको समयमा सम्पन्न गर्न सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवं परिस्कृत पेशागत प्रतिष्ठा बढाउन, लगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हाँसिल गर्नको लागि शैक्षिक क्यालेन्डर कोसेढुङ्गा हो ।
शैक्षिक क्यालेन्डरलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थी लगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पुरयाउने मार्गचित्रको रूपमा पनि लिन सकिन्छ । शैक्षिक क्यालेन्डरका मुख्य प्रयोग कर्ता शिक्षक हो । यसले शिक्षकको पेशागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिवृद्धि गरी एक सफल शिक्षकको रूपमा समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहित गर्दछ।
शैक्षिक क्यालेन्डर सामान्यतया शैक्षिक सत्रको प्रारम्भ वैशाख देखि नै लागू हुनेगरी अघिल्लो चैत्र महिना भित्र बनाउनुपर्दछ। क्यालेन्डर बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यक्ता अनुसार अभिभावक लगायतका क्यालेन्डरमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । क्यालेण्डरमा शैक्षिक सत्रभरी पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवम् आकर्षक रूपमा प्रस्तुत गरिनुपर्दछ । वर्षभरी विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त व्रिmयाकलाप, सूचना तथा सन्देशमूलक भनाईहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचरसंहिता लगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ। स्थानीय सामाजिक मूल्य मान्यत, संस्कार, सँस्कृति र परम्परा को संवेदनशिलतालाई समेत हेक्का राखेर मात्र क्यालेन्डर बनाउनुपर्दछ ।
सार्वजनिक विदा सबभन्दा धेरै हुने देशहरु मध्ये विश्वमा नै अग्रपङ्तिमा पर्ने नेपालका विद्यालयमा पढाई हुने दिन कम हुनु अस्वभाविक होइन । तथापि विद्यमान संशोधित शिक्षा ऐन नियम अनुसार वर्षमा न्यूनतम २२० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तिमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै सार्वजनिक विदाको अतिरिक्त हिउंदे वा बर्षे बिदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप ५ दिन स्थानीय विदा दिने र सो भन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कार्वाही गरिने छ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक क्यालेन्डरका विषय वस्तु र क्रियाकलाप तथा विद्यालय खोल्ने र पढाइ हुने समय तालिकालाई समायोजन गरिनु पर्दछ ।
सामान्य क्यालेन्डरमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख समावेश गर्न सकिन्छ । तर यसमा यति फरक हुन्छ कि, सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश गरिएको हुन्छ । शिक्षकले कुन पाठ के, कति दिन लगाएर अध्यापन गर्नुपर्ने छ, तोकिएका सिकाइ उपलब्धी हाँसिल भए नभएको एकिन गर्न के कस्ता मूल्यांकन बिधि अपनाउनुपर्छ? कस्ता कस्ता शैक्षीक सामाग्री र शिक्षणविधि उपयुक्त हुन्छ आदि प्रश्नहरूको उत्तर हो विस्तृत शैक्षिक क्यालेन्डर ।
शैक्षिक क्यालेन्डर कतिपय सम्पन्न र जाँगरिला विद्यालयले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन् । तर विकट गाउँ ठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि क्यालेन्डर बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण जिल्लास्थित शिक्षा समन्वय एकाइ वा स्थानीयतहको सक्रियतामा शिक्षकका जिल्ला एवम् केन्द्रिय स्तरका पेसागत सँघसस्थाले विज्ञापन लगायतका सहयोग जुटाएर क्यालेन्डर बनाई वितरण गर्न सकेमा अझ सहज र सार्थक हुन्छ ।
विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पु¥याउन नसकेको अवस्थामा, कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भएपनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा, पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको शैक्षिक क्यालेन्डर पाठ्यक्रम विकास केन्द्र वा मानव स्रोत विकास केन्द्र वा प्रदेश सरकारले वेब साइटमार्फत् कयालेन्डरको खाका प्रकाशित गर्न सकिन्छ ।
अन्यथा स्थानीय पालिकाले अनिवार्य रुपमा प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ । शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन मार्फत शैक्षणिक गतिविधीलाई योजनाबद्ध रुपमा नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई धेरै हद सम्म न्यूनिकरण गर्न अहम भूमिका खेल्ने छ ।
शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको साथै भविष्यदर्शी शैक्षिक नेतृत्व, कुशल र निष्पक्ष व्यवस्थापन समिति, लगनशील शिक्षक, अनुशासित विद्यार्थी, सचेत अभिभावक र समसामयिक शिक्षा नीति, जागरुक समुदाय, नतिजामा आधारित शिक्षक प्रोत्साहनका कार्यक्रमले पनि अहम् भूमिका खेलेको हुन्छ ।
बालबालिकाको समग्र विकासको निम्ति विद्यालयको वातावरण शान्त, सुरक्षित र रमाईलो हुनु अपरिहार्य हुन्छ । विभिन्न खाले आन्दोलन र हड्तालका कारण निमुखा बालबालिका अध्ययन गर्ने विद्यालय शान्ति क्षेत्रको नीति जोखिममा परेको छ । विद्यालय बालबालिकाको शारीरिक, मानसिक, संज्ञानात्मक, बौद्धिक, नैतिक विकास गर्ने पवित्र साझा थलो बन्नु पर्दछ।