साक्षरता मानव सक्षमतको प्रस्थान विन्दु हो। साक्षरताले व्यक्तिको योग्यता दक्षतालाई विकास, एवं विस्तार तथा परिमार्जन र परिस्कृत गरी सक्षमता प्रदान गर्दछ । साक्षरताको स्तर र विकासको गति समानुपातिक हुन्छ । दक्ष क्षमतावान मानवीय साधनस्रोतले देश विकासमा मेरुदण्डीय भूमिका खेल्दछ । बर्षौं देखि समाजमा जरा गाडेर बसेको निरक्षरता लाई लरतरो प्रयासबाट सजिलै निर्मूल पार्न सकिंदैन भन्ने पुष्टि विगतका प्रयासहरुबाट सफलता पाउन नसक्नुले गर्दछ ।
अहिले पनि आगामी दुई वर्ष भित्र सबै निरक्षरलाई साक्षर बनाएर देशलाई साक्षर नेपाल बनाउने उद्देश्यका साथ बिभिन्न सघन कार्यक्रम सञ्चालन गर्दै आएको छ । तथापी लामो समय देखि नपढि बसेका पाको उमेरका निरक्षरलाई साक्षरता कक्षामा ल्याउन लरतरो प्रयाशले कामयावी हुन सकिन्न । निरक्षरलाई कहरले नभै रहरले पढ्ने वातावरण बनाउने प्रयाशले मात्र अभियानले सार्थकता पाउन सक्छ ।
युनेस्कोले अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा साक्षरता र वहुभाषिकता एवं महिला सशक्तिकरणका लागि केन्द्रित गरेको छ । साक्षर नेपाल अभियानलाई सार्थक लक्ष्यमा पु¥याउन अहिले पनि निरक्षर कहां छन् ? एकिन गर्नु पहिलो प्राथमिकतामा पर्नु पर्दछ । तिनीहरुलाई पढ्न कक्षाकेन्द्रमा कसरी ल्याउने ? उत्प्रेरणा गर्ने उपायहरुको पहिचान गरी कार्यान्वयन गर्नुपरेको छ । कक्षा केन्द्रमा आइसकेका निरक्षरहरुलाई कार्यक्रम अबधिभर कसरी टिकाईराख्ने ? रोचक व्यवस्थापनको लागि ध्यान दिन विलम्ब भैसकेको छ ।
पढ्ने पढाउने विषयबस्तु विधि र व्यवस्थापन सहभागीहरुको रुची क्षमता र आवश्यकता अनुसार छ कि छैन ? अध्ययन अनुस्थानबाट निष्कर्षमा पुग्नु बुद्धिमत्तापुर्ण काम हुन्छ। साक्षरताका विषयबस्तु सहभागीहरुको जीवन र जगतलाई संबोधन गर्ने र आफुले अपनाएको वा अपनाउने पेसागत दक्षतालाई उन्नत बनाउने खालको भएमा रोचक सहभागिता हुने यथार्तता हो । पढ्नको लागि सुगमता प्रदानगर्न पर्याप्त साधनस्रोत सर्वसुलभ ब्यबस्थापनको खाँचो पर्दछ । साक्षरता कक्षाको व्यवस्थापन तथा पाठ्यपुस्तक, मसलन्द, तथा पारिश्रमिकका लागि पाँच बर्ष अगाडीकै दर हाल सम्म पुनर्वालोकन नहनु विडम्बना हो ।
साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरुको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता, र बीचैमा कक्षा छाड्ने जस्ता नकरात्मक प्रवृत्तिलाई कसरी सुधारेर उनीहरूको उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको बिषय बन्नुपर्दछ । साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो खोल्दछ । साक्षरताको विषय वस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समय सापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेसागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो ।
साक्षरतालाई निरक्षरले अपनाइ आएको पेसामैत्री वातावरण सिर्जना गर्नु आवश्यक छ । जसले निरक्षरहरुको नाना, खाना र छाना सुनिश्चित गर्न टेवा पुगोस । सहभागीको दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधन गर्ने विषय वस्तुले साक्षरता कार्यक्रमप्रति उनीहरूको चाहना र विश्वास जगाउन सक्छ । साक्षरता कक्षामा प्राप्तगर्ने जीवनोपयोगी ज्ञान र सीप कैंचीका दुई धार जस्तै हुन र संगसंगै जानु पर्दछ अन्यथा एउटा धार वोधो (भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भएपनि निरर्थक हुन्छ ।
देशभर छरिएर बसेका निरक्षरहरुलाई पढाउने कक्षा केन्द्रमा ल्याउनुभन्दा पहिले उनीहरुको पहिचान गरेर तथ्यांकीय विश्वसनियता कायमगर्नु प्राथमिकतामा पर्नुपर्दछ । विगत बर्षहरुमा पनि विभिन्न नीति र रणनीति अपनाएर तथ्याङ्क व्यवस्थापन अनौपचारिक शिक्षा केन्द्रले गर्दै आएको भएता पनि साक्षरता प्रतिशत कायमको बैधानिकता र आधिकारिता बारे स्पष्टता हुन सकेको छैन । साक्षरता कार्यव्रmमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन निर्मम एवं जवाफदेही अनुगमनको दायरा भित्र सार्वजनिक सरकारी अवधारणा अनुसार विकेन्द्रितरूपमा सञ्चालनको विश्वासिलो वातावरण बनाइनु पर्दछ । निरक्षरहरू साक्षरता कक्षामा आउनुपर्छ भन्ने पुरातन सोचलाई तोड्दै अब साक्षरता कक्षा नै निरक्षरसम्म जानु पर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाती र सिमान्त एवम् विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनु पर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामुलक एवम् विकेन्द्रीत बिधि र प्रक्रियाको अबलम्बन समयको माग हो ।
साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयम्सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातीलाई नै अवसरको प्राथमिकता दिइने नीतिको कार्यान्वयन पारदर्शी र सशक्त पारिनु पर्दछ । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक हकलाई प्रत्याभूति गर्दै जाने नीति अनुरूप नेपाली लगायत तामाङ, मैथिली, भोजपुरी, गुरूङ, नेवारी, अवधि, डोटेल, भोजपुरी र थारु आदी भाषाको पाठ्यसामाग्री तयार गरी बितरण गरिए तापनि यसको प्रयोग र औचित्यतालाई सरोकार पक्षले आत्मसात गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।
अहिले देशभर साक्षर गाउँ पालिका र नगरपालिका घोषणा गर्ने लहर नै चलेको छ। तर कतै वास्तविकता भन्दा पनि तथ्याङ्कियरुपमा मात्र साक्षरता प्रतिशत बढ्ने त होइन । बेलैमा चनाखो नहुने हो भने भविष्यमा पछुताउन नपर्ला भनन सकिन्न । तथापी वर्षांै देखि जरा गाढेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सवै संघ, सस्था र व्यक्तिको सामुहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात स ) अपरिहार्य हुन्छ । समग्रमा भन्नुपर्दा साक्षर नेपाल अभियान लगायत अनौपचारिक शिक्षा नीति र कार्यक्रमलाई सार्थक बनाउन निरक्षरलाई कक्षामा ल्याऔं, टिकाऔ., सिकाऔं र विकाऔं बाट निर्देशित हुनुपर्छ ।
अन्य राष्ट्र, चीन, क्यूवा, निकारगुवा, थाइल्यान्ड, अमेरिका लगायतका विश्वका कतिपय देशमा साक्षरता अभियान पटक पटक संचालन गरिएको थियो । यमनले ४५ दिने साक्षरता अभियान संचालन गरेको थियो । जनसेना, प्रहरी, कर्मचारी,शिक्षक सञ्चारकर्मी साथै राजनीतिक दलको सार्थक जवाफदेहीपूर्ण प्रतिबद्धता र भातृसंगठनको सव्रिmय परिचालनले मात्र ती देशहरुले अभियानमा उल्लेख्य लक्ष्य हासिल गर्न सकेका थिए । करले नभई रहरले पढ्ने वातावरण बनाउन निरक्षर प्रौढलाई चश्मा वितरण, बैक ऋण निशुल्क वा कम व्याजदरमा उपलब्ध गराउने । साक्षर भए पछि यातायात, स्वास्थ्य, कृषी, उद्योग धन्दामा विशेष सहुलियत जस्ता उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरु तत्काल उपलब्ध गराउने व्यवस्था भएमा निरक्षरहरु साक्षर बन्न उत्साहित हुनसक्छन । निरक्षर भन्दा साक्षरको संख्या बढी भएकोले प्रत्येक साक्षरले कम्तिमा एक जना निरक्षरलाई साक्षर बनाउने वा विद्यालय शिक्षा र उच्च शिक्षाका विद्यार्थीलाई उच्च श्रेणी प्राप्त गर्नका लागि साक्षर बनाए वापत अतिरिक्त अंक प्रदान गर्ने व्यवस्था गर्नका साथै रोजगार उम्मेदवारीका लागि कम्तीमा एक जना निरक्षरलाई साक्षर बनाएको प्रमाणित भएकालाई वान्छनीय योग्यता बनाउन सकेमा पनि निरक्षरतालाई उन्मूलन गर्न धेरै समय कुर्नु पर्दैन ।