काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको ‘शिक्षकहरुको १० दिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम’को समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका हुन् ।

अहिलेकै अवस्थामा विद्यालय सञ्चालन गर्न नसकिने भएपछि कोभिड–१९ को परीक्षणलाई व्यापक बनाउँदै लगे विकल्पहरुका आधारमा सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

तत्काल एकलाख बढी शिक्षक विद्यार्थीको पिसिआर परीक्षण गरी सामाजिक दुरी कायम राख्दै विद्यालय सञ्चालन गर्न सकिने उनले बताए ।

विद्यालय सञ्चालन र परीक्षणका लागि पनि उनले विकल्पहरु अगाडि सारेका छन् । व्यक्ति पिच्छे परीक्षण नगरी १०–१५ जनाको समूहका स्वावसँगै मिसाएर परीक्षण गर्ने र नदेखिए ठीकै छ देखिए उक्त समूहको मात्रै छुट्टा–छुट्टै पुनः परीक्षण गर्ने गर्दा धेरैलाई छिटो परीक्षण गर्न सकिने प्रवक्ता शर्माले बताए ।

यस्तै, विद्यालय पनि सबै नखुलाएर हप्ताको ३ दिन जोरकक्षाहरु(२,४,६,८ र १० कक्षा) र हप्ताको ३ दिन विजोर कक्षाहरु(१,३,५,७ र ९ कक्षा) सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्न सकिने उनले सुझाब दिए ।

शिक्षण सिकाइलाई पनि पहिलेजस्तो अंकमा आधारित नभएर विद्यार्थीको क्षमताका आधारमा सञ्चालन गर्नुपर्ने उनको सुझाब छ । एसईई परीक्षाको एक दिन अगाडि परीक्षा स्थगित हुनु र लामोसमय घरको उकुसमुकुसमा बस्दा बालबालिकामा पछि मानसिक असर देखिन सक्ने भन्दै लामो समय शिक्षण संस्था बन्द गरेर राख्न नहुने उनले बताए ।

विद्यालय सञ्चालन र सिकाइमा विभिन्न विकल्पहरु अपनाएर भएपनि शिक्षण संस्थालाई पूर्णत बन्द हुन दिन नहुने उनले स्पष्ट पारे ।

२०७७ जेष्ठ ५ गते २१:३५मा प्रकाशित

प्रतिकृया दिनुहोस्