विष्णु प्रसाद पनेरु
प्रधानाध्यापक, कंकाली मा.वि.
चन्द्रागिरि न.पा.–१३, पूरानो नैकाप, काठमाडौं ।
विद्यालयको समग्र अवस्था कस्तो छ ?
अहिले विद्यालयको भौतिक अवस्था सुधारोन्मुख छ । शैक्षिक उपलब्धि पूर्ण सन्तोषजनक छ । विद्यालयमा सिकाइ प्रभावकारी गर्न आवश्यक प्रयोगशाला, पुस्तकालय सन्दर्भ–साम्रग्रीको राम्रो व्यवस्था छ । दूरदराजबाट आएका विद्यार्थीहरुलाई आवासीय सुविधा छ । विद्यालयले २ ओटा बस खरिद गरी सञ्चालनमा ल्याएको छ । कक्षा ईसीडी देखि ५ सम्म दिवा खाजाको व्यवस्था मिलाइएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पर्याप्त छात्रवृत्ति, विद्यालय पोशाक (निःशुल्क) वितरण गरिएको छ । प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत कम्युटर इन्जिनियरिङका कक्षा ९–१२ सञ्चालित छन् । यो विद्यालय नमूना विद्यालयका लागि पनि छनौट भएको छ । विद्यालय हाताभित्र सुन्दर हरियालीयुक्त रमणीय वातावरण छ । समग्रमा भन्नुपर्दा विद्यालय बालबालिका, शिक्षक र अभिभावकमैत्री छ ।
शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के के छन् ?
विद्यालय, पढाउने भन्दा पनि सिकाउने थलोका रुपमा परिमार्जन गरी कक्षा सञ्चालनमा जोड दिइएको छ । विद्यालयमा कम्प्युटर, नृत्य, संगीत र अंग्रेजी भाषाका थप कक्षाहरु सञ्चालित छन् । शैक्षिक सत्रको सुरुमा वार्षिक शैक्षणिक तथा कार्ययोजना निर्माण, शिक्षण सुधारयोजना निर्माणका कार्य गरिँदै आएको छ । अंग्रेजी तथा नेपाली दुबै माध्यममा पठनपाठनको व्यवस्था गरिएको छ । तहगत रुपमा इन्चार्ज, कक्षा शिक्षक, स्कुल सुपरभाइजर, स्टाफ नर्स, विषय समिति, अतिरिक्त क्रियाकलाप समिति निर्माण गरिएका छन् । प्रत्येक त्रैमासिक परीक्षामा कक्षागत, विषयगत नतिजा विश्लेषण गरी सिकाइ उपलब्धि बढाउने तर्फ पृष्ठपोषणका कार्य सञ्चालित छन् । कमजोर विद्यार्थीहरुलाई बिहान बेलुकी निःशुल्क उपचारात्मक कक्षाको व्यवस्था मिलाइएको छ । समय–समयमा अभिभावक भेला तथा प्रशिक्षण, शिक्षक बैठक, वि.व्य.स. र शि.अ.सं. र शिक्षकको संयुक्त बैठक गर्ने गरिएको छ र सबै कक्षाहरुमा फलाटीन बोर्ड सहित सजि–सजावट गरी बुक–कर्नरको प्रबन्ध गरिएको छ । कक्षा खाली हुन नदिने, सबै शिक्षक १०–४ बजे सम्म अनिवार्य बिद्यालयमा बस्नु पर्ने कक्षामा जाँदा पूर्वतयारी र सम्भव भए सम्मका शैक्षिक साम्रगी लिएर मात्र जाने परम्परा छ । सकभर प्रविधिको अधिक्तम प्रयोग गरी पठन–पाठन गर्ने जस्ता कार्यहरु गरिँदै आएको छ । विद्यालयको आर्थिक प्रशासन अत्यन्तै पारदर्शी ढंगले राखिएको छ । शिक्षा ऐन, नियम स्थानीय निकायको निर्देशन, आर्थिक ऐन, सार्वजनिक खरिद इकाईले निर्दिष्ट गरे अनुसार अभिलेख गर्ने गरिएको छ । अभिभावकको उपस्थितिमा मात्र नतिजा वितरण गरिन्छ । वर्षको २ पटक अभिभावक परामर्शका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ ।
कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
विद्यार्थीको उमेर अनुसारका फर्निचर, स्वस्थ खानेपानी, सुविधा सम्पन्न फराकिला शौचालय, कक्षाकोठा तथा बसाईको व्यवस्थापनमा ध्यान दिएका छौँ । विद्यालयका बालबालिकाहरुलाई सामाजिक व्यवहार, अनुशासन र नैतिक शिक्षा जस्ता कुरा सिकाउन जोड दिइएको छ । पुस्तकालय, प्रयोगशाला, सफा चमेनागृह, मनोरम फूलबारी, साना बालबालिकाहरुका लागि आकर्षक खेल सामग्रीको व्यवस्था गरिएको छ । बालअधिकारको पूर्ण पालना गर्दै शून्य दण्डको प्रावधान कार्यान्वयनमा छ । शिक्षकको नियमितता, कमजोर विद्यार्थीहरुलाई पृष्ठपोषण, निःशुल्क उपचारात्मक कक्षामा तीव्रता दिइएको छ । हाम्रो विद्यालयमा भर्ना भएपछि विद्यालय छाड्ने दर ज्यादै न्यून बनाइएको छ । शैक्षिक सामग्री निर्माण र प्रयोगमा उच्च सिकाइका लागि विद्यार्थी तथा शिक्षकहरुलाई नै क्रियाशील गराइने गरिएको छ । प्रविधिमैत्री उपकरणहरु, प्रोजेक्टर, स्मार्ट बोर्ड लगायत अन्य स्मार्ट डिभाइसको उचित व्यवस्थापन र प्रयोग गर्ने गरिएको छ । बेला बेलामा विषयवस्तु तथा पाठअनुसार स्थलगत अध्ययन–अवलोकन भ्रमण कार्यक्रमहरु गरिन्छ भने विद्यार्थीहरुलाई विद्यालयप्रति आकर्षण बढाइ सिक्न उत्प्रेरणा जगाउन नाचगान, परामर्श र रमाइला अतिरिक्त क्रियाकलापहरु पर्याप्त गर्ने गरिएको छ ।
सिकाइको अवस्था के छ ?
सिकाइ उपलब्धि सन्तोषजक छ । कक्षा १–८ सम्मका कुनै पनि विद्यार्थीहरुले कक्षा दोहोर्याउन नपर्ने वातावरण बनाइएको छ । विषय शिक्षकहरुबाट शैक्षिक उपलब्धिस्तर वृद्धिको लक्ष्य निर्धारण गर्ने गरिएको छ । हाम्रो विद्यालयको विगत २ दशक भन्दा अगाडिको एस.एल.सी. तथा एस.ई.ई. परीक्षाका शैक्षिक उपलब्धि उत्साहवद्र्धक छ । यहाँबाट माध्यमिक शिक्षा उत्तीर्ण विद्यार्थीहरुले आफ्नो जिविकोपार्जन सानदारसँग गरिरहेका छन् । हाम्रा विद्यार्थीहरु देशका लागि आवश्यक सबै क्षेत्रको जनशक्तिका रुपमा रही कार्य क्षेत्रमा लागि परिरहेका छन् । समुद्री सतहबाट १५६५ मिटरको उचाइमा रहेको हाम्रो विद्यालय काठमाडौँको दूरदराज भौगोलिक विकटतामा रहेको तथा २०७२ सालको विनाशकारी भूकम्पका कारण संख्यात्मक रुपमा बाक्लो वस्ती नभए तापनि ५०० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जुन विद्यालयको लागि गौरवको विषय हो । यहाँ ५५ जिल्लाका विद्यार्थीहरु छन् । स्थानीय विद्यार्थीहरु अन्य विद्यालयको तुलनामा यहाँ बढी नै छन् । यी सबै सिकाइस्तरको ज्वलन्त उदाहरण हुन् । यदि सिकाइ दयनीय हुँदो हो, यहाँ यति विद्यार्थी हुने कल्पना पनि गर्न सकिने थिएन ।
सामुदायिक विद्यालयको अवस्था देशभर खस्किँदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयहरुको स्तर खस्किँदै गइरहेको छ जस्तो लाग्दैन । यो त सामूदायिक विद्यालयप्रति शिक्षा प्रशासक, शिक्षाविद् र राजनैतिक नेतृत्वमा रहेका समूहको हेराई मात्रै हो । यद्यपि यदाकदा नबिग्रेको भने होइन । सबै सामूदायिक विद्यालय राम्रा छन् भन्न खोजिएको पनि होइन । समाजका पढेलेखेका व्यक्तिहरुको अविश्वासका कारणले हामीलाई भिडाइएको विल्ला र प्रोपोगाण्डा मात्रै हुन् । जहाँ सक्षम जुझारु प्रधानाध्यापक, शिक्षक, विव्यस छ, त्यहाँको अवस्था राम्रो छ । सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाका आमाबाबु काममा जानुपर्ने अवस्थाले घर रुँगेर बसी विद्यालय जान नसक्ने, गइहाले भने पनि भोकभोकै जानुपर्ने, न गोडामा चप्पल, न जाडोमा न्यानो कपडा, न झरीबादलबाट जोगाउन झोला, न पर्याप्त पुस्तक, कापीकलम छन् । यस्ता बालबालिका हामीले पढाउन परिरहेको छ ।
यस्तो विकराल अवस्थाबाट उन्मुक्तिका लागि राज्यले सोच्न सकिरहेको छैन । राज्यले माध्यमिक शिक्षा पूर्ण निःशुल्क भनिदिएको छ । के यो सम्भव छ ? विद्यालयका लागि आवश्यक पूर्वाधारहरु जस्तै धारा, विजुली, फर्निचर, प्राथमिक उपचार, शैक्षिक भ्रमण, मर्मत सुधार, बंगैचा, विद्युतीय उपकरण, स्टेशनरी, परीक्षा, अतिरिक्त क्रियाकलाप, वार्षिक कार्यक्रम र पुरस्कार वितरणजस्ता कार्यक्रमका लागि विना बजेट सम्भव छ ? शिक्षा प्रशासकहरुले सोच्न पर्ला कि नपर्ला ? यो गम्भीर प्रश्न हो ! र चुनौती पनि । यद्यपि मुलुकभरका जम्मा विद्यार्थी संख्याको ७५–८० प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा अध्ययनरत छन् । राज्यको ध्यान सामुदायिक विद्यालयको निरन्तर सुधारमा हुनुपर्ने जरुरी छ । यहाँ राज्यको जिम्मेवार बहन गर्ने ओहोदामा बसेका व्यक्तित्वहरुको लगानी तथा लगाव अन्य विद्यालयमा छ । जसले गर्दा सामुदायिक विद्यालय ओझेलमा परेको कुरा हत्केलाले सूर्य छोपे झैं हुन्छ । त्यसैले राष्ट्रिय बजेटको कम्तिमा २५ प्रतिशत रकम शिक्षामा विनियोजन नगरी सार्वजनिक विद्यालय सुधारको कल्पना पनि नगरे हुन्छ ।
अभिभावकहरुले अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
हामीलाई यस्तो लाग्दैन कि अभिभावकहरुले सामुदायिक विद्यालयहरुलाई पत्याएनन् । शिक्षा प्रशासक, शिक्षाविद्, राजनीतिक व्यक्तित्व, शिक्षक कर्मचारी, सेना प्रहरी जसले आफ्ना छोराछोरी हाम्रा विद्यालयमा पढाएका घटना विरलै छन् । हो, यो वर्गले हामीलाई विश्वास नगरेकै हो, नपत्याएकै हो । जबसम्म यो वर्गको पहुँच हाम्रा विद्यालयमा पुग्न सक्दैन तबसम्म अब्वल सामुदायिक विद्यालय कमै मात्र देखा पर्नेछन् । शिक्षकमा व्यापक वितृष्णा छ, शिक्षक उत्प्रेरित भएका छैनन्, ठूलो संख्यामा शिक्षकहरु अस्थायी छन्, समयानुकूल बढुवा तथा अन्य वृत्ति विकास हासिल गर्न सकिरहेका छैनन्, जसको कारण सार्वजनिक विद्यालय ओझेलमा पर्न गएका हुन् । त्यसैले सरकारले सार्वजनिक विद्यालयको समग्र विकास गरी आकर्षणको केन्द्रविन्दु बनाउन पहल गर्नुपर्ने देखिन्छ ।
अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्दछ । सुधारका लागि के गर्नु पर्ला ?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमता नभएको होइन । उत्साह र प्रयासमा भने कमी आएको हो । यसको कारण नियन्त्रण, अनुगमन, मूल्याङ्कन र प्रोत्साहनको पाटो कमजोर हुनु हो । शिक्षकहरुको मनोबल बढाउने कार्यहरु कहीँ कतैबाट पनि भएको पाइँदैन । उत्प्रेरणाको अभाव छ, सम्मानका लागि अभिलाषी छन् । शिक्षक क्षमतावान् छन् तर उनीहरुले आफ्नो क्षमतालाई कक्षाकोठामा पुर्याउन सकिरहेका छैनन् । शिक्षण एउटा यस्तो पवित्र पेशा हो जसमा सदासर्वदा घामजून लागुन्जेलसम्म आफूले आफूलाई तिखारिरहनु पर्दछ । शिक्षक अध्ययनशील, प्रविधिमैत्री, देशकाल परिस्थिति अनुकूल बन्दै आफूले आफूलाई परिष्कृत, परिमार्जित गर्दै लग्नुको विकल्प छैन । उपलब्धि हासिल गर्न नसक्ने वा नचाहने शिक्षकलाई स–सम्मान सुविधासहित सेवाबाट विदाई गरिनु पर्दछ । अब शिक्षकका लागि दिइने तालिम क्षमता वृद्धि, नेतृत्व विकास र सक्षमतामा आधारित भई वैज्ञानिक ढङ्गले अध्ययन अध्यापन गर्न सक्ने सीपयुक्त हुनुपर्छ । यसरी पनि नसुध्रने शिक्षकहरुलाई लक्षित गरी नयाँ शिक्षा नीति अवलम्बन गरिनुपर्दछ । कमजोर प्रशासन, नाम मात्रको प्रधानाध्यापक, शून्य अनुगमन र प्रोत्साहन भएका कारण यस्तो भएको हो । समयमै सोच्नुपर्ने बेला आएको छ ।
शिक्षकहरुको बेला–बेलामा क्षमता परीक्षण हुनुपर्ला कि नपर्ला ?
शिक्षक अन्य पेशाकर्मीजस्तो होइन र उ सँधै अपडेट हुनुपर्दछ । शिक्षकहरुको क्षमता विस्तारका लागि तहगत, विषयगत तालिम सञ्चालन गर्नुपर्दछ । जुन शिक्षकले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन, आफ्नो क्षमता विस्तारमा पनि ध्यान दिँदैन र शिक्षण पेशालाई जागिरको रुपमा मात्र लिन्छ, त्यस्तो शिक्षकलाई एक पटकका लागि समय सापेक्ष तिखारिने मौका दिइनु पर्दछ जस्तो लाग्छ । एक पटक पढेर जीवनभर पुरानै शैली र विधिमा पढाउने अवस्थाको अन्त्य गरिनु पर्दछ । शिक्षक निरन्तर अध्ययनशील, अनुसन्धान र युग सुहाउँदो प्रविधिमैत्री हुन नित्तान्त आवश्यक छ । एउटा असल चरित्रवान् शिक्षक आफैं नमूना बन्न सक्नुपर्दछ । वास्तवमा विद्यार्थीले सिकेका सीप, व्यवहार र उपलब्धि नै उसको क्षमता मापनका आधार हुन् । राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन गर्नुपर्छ र दशकौं एउटै विद्यालयमा टसमस नगरी जागिर खाने परिपाटीको अन्त्य गरिनुपर्दछ ।
जुन शिक्षक कम्तिमा १०–४ सम्म पनि विद्यालयमा टिक्न सक्दैन, जसले विना तयारी कक्षामा जाने, पढ–पढ भन्ने, गृहकार्य नदिने, दिए पनि नजाँच्ने, जाँचे पनि पृष्टपोषण नदिने, मूल्याङ्कनप्रति वेवास्ता गर्ने, आफू पनि राम्रो गर्न नखोज्ने र अरुलाई पनि राम्रो गर्न नदिने, तालिम लिने, कक्षा कोठामा नपुर्याउने, प्र.अ. को लागि मात्र मात्र काम गरे जस्तो गर्ने र प्र.अ. नआएको दिन कक्षामा जान अल्छी गर्ने गर्छ । अतिरिक्त क्रियाकलापलाई अतिरक्त काम जस्तो सोच्ने, उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशनमा हेलचेक्राईं गर्ने, बढी भन्दा बढी विदा र सुविधाको आशा गर्ने, पढाउने पाठको पूर्वतयारी नगर्ने गर्छ । शैक्षिक सामग्री र प्रविधिको प्रयोगमा बेखबरी हुने, ठूला–ठूला सैद्धान्तिक गफ गर्ने र पढाउने बेलामा नतिजा प्रकाशन पश्चात मात्र ठूला समस्याको पहाड तेस्र्याउने गर्छ । उनीहरुमा सुधार ल्याउनुपर्छ । यस्ता शिक्षकहरुको वाहुल्यता भएकोले समयानुकूल यी कुरा समेट्ने गरी प्रशिक्षण दिनु ओइल्याएको वृक्षलाई पानी, मलजल दिनुसरह हुनेछ ।
सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा र मूल्याङ्कन प्रणालीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कन आदिका मर्म, भावना र महत्व अनुसार जति उपलब्धी आउनुपथ्र्यो, आउन सकिरहेको छैन । अध्ययन, अध्यापनमा पाठ्यक्रम र मूल्याङ्कन एक आपसका परिपुरक हुन् । शिक्षकले पठनपाठन गराएको उपलब्धीको मापनमा विद्यमान परीक्षा प्रणाली वैज्ञानिक भएजस्तो लाग्दैन । सीप ज्ञान, व्यवहार लगायत विद्यार्थीको सर्वाङ्गीण पक्षका मूल्याङ्कन गर्ने खालको प्रणालीको विकास गर्न जरुरी छ । यहाँ केवल प्रश्नपत्रले तोकिएको समयावधिभित्र दिइएको उत्तरले मात्र मूल्याङ्कन गरिँदा त्यति व्यवहारिक देखिदैन । हाल देखा परेको कोभिड–१९ का कारण विषम् परिस्थिति शृजना भई एसईई, कक्षा ११, १२ को परीक्षा स्थगित भएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै क्रमिक रुपमा कक्षा १० र ११ को परीक्षालाई विद्यालयबाट नै सम्पन्न गरी कक्षा १२ को परीक्षा मात्र राष्ट्रिय तहमा लिने प्रणालीको थालनी गर्दा पनि राम्रो हुने कुरामा दुईमत नहोला । शिक्षकलाई विषयगत तालीम भन्दा कक्षामा पठनपाठनका लागि ऊर्जाशील, उत्प्रेरणात्मक, क्षमता अभिवृद्धि हुनेखालका उपयुक्त प्रविधिमैत्री तालीम दिनुपर्छ ।
एउटा विद्यालय राम्रो बनाउनका लागि एक जना प्रधानाध्यापकको कस्तो भूमिका रहन्छ ?
लिडर पक्कै पनि सक्षम, लगनशील, परिश्रमी र सबैको भावना बुझ्ने हुनपर्दछ । अधिकार सम्पन्न प्रधानाध्यापकको व्यवस्थापनमा कन्जुस्याईं गरिनु हुँदैन । प्रधानाध्यापक सबैसँग घुलमिल गर्नसक्ने, वर्तमान घटनाक्रमसँग अपडेट हुने, निडर, पक्षपातरहित, दलगत स्वार्थभन्दा माथि रहेर कार्य गर्ने गराउने हुनुपर्दछ । शिक्षकहरुको मनोबल बढाउने, विद्यार्थीहरुलाई निरन्तर सुझाव दिने, अभिभावकहरुसँग गहिरो सम्बन्ध राखी उचित पृष्ठपोषण दिन सक्ने, समुदायलाई विश्वासमा लिँदै यसलाई समयानुकूल आवश्यकता अनुसार परिचालन गर्न सक्ने, निरन्तर विद्यालयको सबै पक्षको विकासमा तल्लीन हुने, दीगो आर्थिक स्रोतको पहिचान गर्ने, योजना निर्माण र कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन र शि.अं.सं.सँग विना मतभेद सहकार्य गर्दै कार्य सम्पादन गर्न सक्ने व्यक्ति प्रधानाध्यापक भएमा अवश्य पनि एउटा प्रधानाध्यापक ले विद्यालयलाई आशातीत राम्रो बनाउन सक्दछ । त्यसैले प्रधानाध्यापक ले आफ्नो नेतृत्वमा विद्यालयलाई कसरी हाँक्ने हो, सो को सीप, व्यवहार र चतुर्याईं भएको प्रविधिसँग परिचित, कुनै लोभ लालच नभएको, अहोरात्र खटिने, आलोचनालाई ग्रहण गर्न सक्ने, विद्यार्थीको भावनामा खेलवाड नगर्ने, असल अभ्यास गर्न लागी परिरहने प्रधानाध्यापक को खाँचो छ, अहिलेलाई ।
यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
हाम्रो विद्यालय बालमैत्री र प्रविधिमैत्री विद्यालय हो । यहाँ सबै तालीम प्राप्त, सक्षम, अनुभवी शिक्षकहरुको समूह छ । यहाँ धेरै भन्दा धेरै व्यवहारीक कुरा सिकाइन्छ । विद्यार्थी तथा अभिभावकहरुको रुची र क्षमता अनुरुप विद्यालयले सहकार्य गदै आएको छ । विद्यार्थीहरुलाई निशुल्क दिवा खाजा, बस सुविधा, पर्याप्त छात्रवृृत्ति, पोशाक र उपचारात्मक कक्षाको व्यवस्था गरिएको छ । उत्कृष्ट नतीजा सहित सुनिश्चित भविष्य र जीवनोपयोगी व्यवहारमा परिवर्तन ल्याउने गुणस्तरीय सिकाइका लागि पनि हाम्रो विद्यालय कटिबद्ध छ । संस्कार सहितको शिक्षाका लागि अहोरात्र हामी खटिरहेका छौं । हरेक विद्यार्थी र अभिभावकको दुःख सुखको साथी हो यो विद्यालय ।
विद्यालयले समूदायबीच सुमधुर प्रगाढ सम्बन्ध स्थापित गरेको छ । हामीले समुदायका लागि बाटो, धारा, चौतारा, मठ मन्दिर, वृक्षारोपण, हवन पूजापाठ, जनचेतना अभिवृद्धिमूलक कार्यक्रम, वृद्धवृद्धा सम्मान जस्ता कार्यक्रमहरु पनि गर्ने गरेकाले समुदायभित्रका वाल बच्चा हाम्रो विद्यालयमा पढाउने एउटा सत्य तथ्य हो । यहाँबाट एसएलसी र एसईई उत्तीर्ण विद्याथीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सफल भएका छन् । यहाँबाट उत्पादित विद्यार्थी अनुशासित, मर्यादित र सहयोगी भावानाले ओतप्रोत छन् । विद्यालयको शैक्षिक, भौतिक र वातावरणीय पक्ष राम्रो छ । २०७२ सालको महाभूकम्प तथा हाल विश्वासामू नै चुनौतीको रुपमा खडा भएको कोभिड–१९ का कारण समूदायमा परेको समस्यालाई आत्मसात् गर्दै विद्यालयले आफ्नो तथा विभिन्न दातृ निकायबाट प्राप्त भएको कोषबाट विद्यार्थी तथा अभिभावकका परिवारलाई राहत तथा सहयोग वितरण पनि गर्दै आएको छ । यसबाट समाजमा ठूलो प्रभाव परेको छ । विद्यालय दुःखको साथी र सहयात्री हो । सामूदायिक विद्यालय गरिबको पक्षमा रहेछ भन्ने भावनाको विस्तार गर्न सफल भएका छौं । साथै यो विद्यालय सुन्दर ठाउँमा अवस्थित छ । त्यसैले यहाँ अभिभावक तथा बिद्यार्थीहरुको ध्यान केन्द्रित भई बस्ती नभए तापनि यो अप्ठ्यारो भूगोलमा ५०० विद्यार्थी हुनु भनेको ठूलो उपलब्धि मान्नुपर्दछ ।
तपाईं यस विद्यालयमा कहिले प्रधानाध्यापक बन्नु भयो ? तपाई प्रधानाध्यापक भएपछि के–के सुधार गर्नुभयो ?
म तीन दशक भन्दा लामो समय, अर्थात् २०४० कात्तिक देखि निरन्तर रुपमा प्रधानाध्यापक को जिम्मेवारीमा छु । यो विद्यालय २०३९ मा स्थापना भए तापनि यसले आफ्नो नामाकरण २०४० बाट पाएको हो । करीब १ वर्ष तत्कालीन गाउँ पञ्चायतले विद्यालय सञ्चालन गरेको थियो । त्यति बेला यहाँ भौतिक पूर्वाधार विद्यार्थी केहि थिएनन् । शुरुका अवस्थामा त्यतिवेला यहाँ ४ जना विद्यार्थी र १ जना शिक्षक म आफैंबाट शुरु भएको विद्यालय हो । आज यहाँ जे जती शैक्षिक भौतिक र वातावरणीय व्यवस्थापन र सुधार छन् ती सबै यहाँका स्थानीय बासिन्दा र वि.व्य.स. सँग समन्वय गर्दै मेरै नेतृत्वमा यो विद्यालय नेपालको नमुना विद्यालयमा छनौटसम्म भएको छ । हामीलाई यहाँसम्म ल्याइ पुर्याउन लक्जेमवर्गका मेरा अनन्य मित्र क्लुदिन हेङ्गेश र एन्ड्रु लिन्डेन लगायतका आदरणीय व्यक्तित्वहरुको विशेष योगदान छ । यो जिवनपर्यन्तसम्म पनि अविस्मरणीय रहीरहने छ ।
विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
विद्यार्थीका उपलब्धिमा वृृद्धि, विद्यालय सुधार योजना अनुसार बिद्यालयलाई अझ परिस्कृत परिमार्जन गर्नका लागि वार्षिक कार्य योजना अनुरुप चल्ने, सरकारको ऐन नियम र कानुन अनुरुप विद्यालयको शैक्षिक तथा आर्थिक, प्रशासन चुस्त, दुरुस्त र पारदर्शी बनाउने । विद्यालय आएका वालवालिका घर फर्कन गाह्रो मान्ने आकर्षक वालमैत्री, खेलकूद मैत्री विद्यालय निर्माण गर्ने । विद्यालय सुन्दर, सफा, ज्ञानआर्जन, व्यवाहारिक सिप सिक्ने, नृत्य, कला, संगित, भाषा, विज्ञान सिक्ने सिकाउने थलोको रुपमा रुपान्तरण गर्ने । प्रत्येक कक्षा कोठामा स्मार्टबोर्ड, प्रोजेक्टर, सि.सि. टिभी र बुक कर्नर जडान गरी दिगो सिकाइ गराउने तर्फ उन्मुख हुने योजना छ ।
शिष्टाचारमा जोड दिने, जीवनसँग आवश्यक सबै शिप सिकाउने थलोको रुपमा विकास गराउने योजनाहरु हामीले बनाएका छौं । सानो कक्षादेखि ठूलो कक्षासम्म विद्यार्थी संख्यामा वृद्धि गर्ने । स्थानीय विद्यार्थीहरुको पहुँच बढाउन आफ्नो कुनै कसर बाँकी नराख्ने । सबै कक्षाहरु प्रविधि र शैक्षिक सामग्रीमैत्री बनाउने र आवश्यक लगानी बढाई आकर्षक, सफासुग्घर,अत्याधुनिक तथा पूर्ण वालमैत्री बनाउने छ योजना छ । साथै प्रविधियुक्त जमानामा इनटरनेट र स्मार्ट टिभि सहित कक्षा कोठालाई आहा…!! भन्ने बनाउने योजना छ । सबै विद्यार्थीलाई शिक्षक, प्रधानाध्यापक, वि.व्य.स., शि.अ.स. सँग आफ्ना मनका कुरा स्पष्टसँग राख्न सक्ने, प्रश्न गर्नसक्ने बनाउने कार्यक्रम पनि छ । सामाजिक भावना, देश प्रेम, आफ्नो कला र धर्म संस्कृति तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने, शिक्षक विद्यार्थीको व्यवहार, आमोद, प्रमोद, बोलीचाली र भाषामा सुधार ल्याउने कार्य गर्ने, असहाय, गरिब तथा निमुखा बालबालिकाहरुलाई विद्यालय भित्र्याइ खान बस्न लगाउन र पढ्न पाउनेगरि कार्य योजनाका साथ अगाडि बढ्ने लक्ष्य निर्धारण गरेका छौं ।
शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
सामूदायिक विद्यालयमा सुधारै नभएको भन्न मिल्दैन । जुन रुपमा हुनुपर्ने हो त्यो चाँही नभएको पक्कै हो । त्यसको प्रमुख कारण सरकारको नीति र नियत दुबैमा स्पष्टता नहुनु हो । हालको नीति पैसा हुनेले राम्रो शिक्षा पाउने र नहुनेले शिक्षा नै नपाउने जस्तो देखिन्छ । हुँदा खाने र हुने खाने बीच ठूलो खाडल शैक्षिक क्षेत्रमा पनि देखिन्छ । सरकारबाट जारी शैक्षिक नीतिहरु ज्यादै फितलो कागज र भाषणमा मात्रै सिमित देखिन्छन् । अभिभावकत्व ग्रहण गर्दैमा सार्वजनिक विद्यालय सुधार हुँदैन । शिक्षक मैत्री ऐन नियम समयमैं आउन सकिरहेको छैन । शिक्षामा चरम राजनितीकरणको अन्त्य हुन सकेको छैन । संविधानले आधारभूत तह निशुल्क र अनिवार्य तथा मावि तह निशुल्क हुने भनेको छ । तर व्यवहारमा देखिदैन । लगानी वर्षेनी घटिरहेको देखिन्छ । सरकारका जिम्मेवार व्यक्तिबाट खहरे झैं बेमौसमी चर्का भाषणले मात्र विद्यालय सुधार हुने होइन । व्यवहार सार्वजनिक विद्यालयमैत्री हुनु पर्दछ । पूर्णकालीन, पूर्ण अधिकार सम्पन्न प्रधानाध्यापकको नियुक्ति र शिक्षक उत्प्रेरणामूलक कार्यक्रम ल्याउनुपर्छ । प्राविधिकधारका र नमूना छनोट विद्यालयप्रति सरकारका कुनै पनि निकाय उदार देखिएका छैनन् । सरकारबाट जारी निर्देशिका र कार्यक्रम कार्यान्वयन पुस्तिकाबीच बेमेल छ । सुधार गर्नुपर्ने धेरै कुरा छन् ।
हाम्रा शिक्षकहरुलाई साँच्चै गुरु बनाउन के गर्नुपर्ला ?
हाम्रा शिक्षक जे जस्तो भएतापनि एउटा प्रक्रियाबाट आएका हुँदा गुरु नै हुन् यद्यपी शिक्षकहरुले हिन्दी सिनेमा चक एण्ड डस्टर र रफ बुक कथाको अनुकरण गर्न सकेमा मात्र आदर्श गुरु बन्न सक्नेछन् । संसारका विकसित मुलुक अमेरिकामा शिक्षकलाई भिआइपी संज्ञा दिइन्छ, फ्रान्समा अदालतभित्र सहजै प्रवेश दिइन्छ, जापानमा शिक्षकलाई पक्रनुपर्यो भने सरकारको पूर्वस्वीकृति लिनुपर्छ र कोरियामा शिक्षकले सबैभन्दा बढी सुविधा उपभोग गर्छन् । त्यहाँका शिक्षकहरु सबैको गुरु बन्न सफल भएका यी प्रतिनिधिमूलक उदाहरण हुन् । शिक्षक पढाउने भन्दा सिकाउने तर्फ उम्मुख हुनु पर्दछ । व्यवहार कुशल सिपको मर्म अनुसार बच्चाहरुको उमेर, रुची र मनोभावना बुझेर आवश्यकता अनुसार प्रविधिमैत्री उपकरणको प्रयोग मार्फत सिकाइ क्रियापलाप गराउने तर्फ उत्प्रेरित हुर्नुपर्दछ । शिक्षकले आफ्नो अनुशासन, पेशागत धर्म निभाउनुपर्दछ । हाम्रा शिक्षकहरुले आफ्नो वैयक्तिक, शैक्षिक र सामाजिक गुणहरुमा विकास गरी नियमित रुपमा विद्यालय गई निर्धारित समयसम्म विद्यालयमा बसी आफूले निर्वाह गर्नुपर्ने सबै शैक्षणिक भूमिकालाई टसमस नभई निर्वाह गरेमा शिक्षक स्वतः गुरु बन्नेछ ।
सरकारको ठूलो लगानीका बाबजुद सामूदायिक विद्यालयको गुणस्तर कम देखिन्छ नि ? यसको कारण के लाई मान्नुहुन्छ ?
खै ठूलो लगानी ? शिक्षा राज्यको दायित्व भित्र पर्नुपर्नेमा कूल बजेटको करिब १० प्रतिशत लगानी गरेर ठूलो भन्न मिल्दैन । विद्यालयका भौतिक, शैक्षिक, व्यवस्थापकीय र वातावरणीय पक्षयमा सुधारका लागि ठूलो धनराशी चाहिन्छ । विनियोजित रकमको ठूलो हिस्सा तलबमा नै खर्चिनुपर्ने अवस्था छ । शिक्षक ६००० मा, का.स. ७५०० मा र लेखापाल ११००० मा काम गर्न वाध्य छन । १७ किसिमका शिक्षकहरु रहेको अवस्था छ । अर्को नयाँ स्वयंसेवक नामक शिक्षक जन्मँदै छ । धेरै शिक्षक अस्थायी छन्, वृत्ति विकास कछुवाको गतिमा छ ।
तलब वृद्धि हुँदा शिक्षक समेत कहिल्यै भनिँदैन । शिक्षकको मर्यादाक्रम के हो ? जति अव्बल भए पनि शिक्षकलाई विश्वास गरिँदैन, सर्वत्र शंकै शंका गरिन्छ । उच्च शिक्षा अध्यापन गर्नेहरुको नजरमा पनि स्कुले शिक्षकले पढाएनन्, गरेनन् भनिन्छ । समाजका लब्ध प्रतिष्ठित नेता, शिक्षाकर्मी, उच्च ओहदाका कर्मचारी र विद्वत् समूहका छोरा छोरी जबसम्म सार्वजनिक विद्यालयमा भित्र्र्याउन सकिंदैन, तबसम्म हाम्रो विद्यालय पूर्ण सुधारमा दिवास्वप्न देख्नु सरह हो । त्यसैले सारभूत कुरा के भने सार्वजनिक विद्यालयलाई विश्वास गर्ने वातावरण सरकारबाट पहल हुनुपर्यो । अहिले हामीले संस्थागत विद्यालयले छोडेका सोझा, निमुखा, ज्यादै कमजोर वर्ग, गरिखाने वर्गका जुनसुकै अवस्थाका विद्यार्थी पनि भर्ना गर्नुपरिरहेको अवस्था छ । सार्वजनिक विद्यालयले न प्रवेश परीक्षा, न स्तर परीक्षण, भेदभाव विना सबैलाई स्वागत गरिरहेका छौं । यिनलाई घरमा न स्वस्थकर खाना छ, न आङ्मा नाना छ । पढ भन्ने कोही छैन । विद्यालय शिक्षकले पढाएनन् भन्न सक्ने आँट गर्ने क्षमता भएका ज्यादै न्यून छन् । मात्र विद्यालयको भर । यिनै अवस्थाले हाम्रा विद्यालयको स्तर नदेखिएको हो । र पनि हाम्रा विद्यालयका वाल वालिका अन्यको भन्दा चलाख छन् । व्यवहार जानेका र बुझेका छन् । हर क्षेत्रमा भिज्न र प्रतिष्पर्धामा उत्रन सकिरहेका छन् । विद्यालयको गुणस्तर सन्तोषजनक छ ?
सामूदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
हाम्रो विद्यालय प्रतिस्पर्धी नभएको होइन, मात्र शिक्षा प्रशासकको र विद्वान शिक्षाविद्हरुको हामी प्रति हेर्ने नजर मात्र फरक हो । प्रायः अभिभावकको चाहाना संस्थागत विद्यालयतर्फ केन्द्रित छ । निःशुल्क र अनिवार्य शिक्षा भनियो तर लगानी गर्न सकिएन, जसले गर्दा गुणस्तर उच्च हुन सकेन । तमाम् अभिभावकलाई सरकारी विद्यालयप्रति आकर्षण गराई व्यापक विद्यार्थी भर्ना गराइयो भने गुणस्तर आफैं आउँछ । हाम्रो विद्यालयमा खेलकुद, साहित्य, कलाकारिता, बोली भाषा, संस्कार तथा सभ्यतामा आफ्नो आन्तरिक क्षमताअनुसार विकास गर्न सक्ने गरी शैक्षिक वातावरण बनाउनु पर्दछ । यसका लागि लगानी बढाउनु पर्दछ । विद्यालय जाँदा घरैबाट खुसी भएर आउने र विद्यालयमा रमाएर कक्षाकोठामा सिक्ने वातावरण मिलाउनु पर्दछ । विद्यार्थीको चाहाना र रुचि अनुसार प्रविधिको अत्याधिक प्रयोग गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाएर पनि आकर्षण गर्न सकिन्छ । अभिभावकले आफ्नो वालवालिकाको भाग्य तथा भविश्य सानूदायिक विद्यालयमैं देख्न सक्ने गरी शैक्षिक तथा भौतिक सुधार र कार्यान्वयनमा जोड दिनुपर्दछ ।
शिक्षक तालीम कक्षा कोठामा पुगेको लाग्छ त ?
नढाटी भन्ने हो भने शिक्षकको तालीम कक्षाकोठा सम्म नपुग्नाले नै यो समस्या शृजना भएको छ । तालीम तालीमका लागि मात्र र टाइमपासका रुपमा लिइयो । त्यसैले समग्र कुरा गर्ने हो भने हालका दिनहरुमा शिक्षकले लिने प्रायः तालीम एउटा औपचारिता पुरा गर्ने अर्थात् बालुवाको सुन्दर आलिसान महल निर्माण गरेजस्तो मात्र देखिन्छ । सिक्ने, सिकाउने, शिक्षकले सम्पादन गर्नुपर्ने लक्ष्य निर्धारण तथा सिकाइमा अब्बल र सक्रिय शिक्षक निर्माण लक्षित तालीम भएन जस्तो लाग्छ । किनकी शिक्षकले आफूले सिकेको ज्ञान, सीप र धारणाका नविनतम प्रयोग कक्षाकोठामा पुर्याउन सक्नु पर्थ्योे, तर पुगिरहेको छैन । अबका तालीम क्षमता विकास, नेतृत्व विकास र प्रविधिमा आधारित भई शिक्षकको भूमिका र दायित्व, आचरण, लवाई, बोलाई जस्ता कुरामा केन्द्रित हुनुपर्दछ । नियमित अनुगमन मुल्याङ्कन र पृष्ठपोषण गरिनुपर्दछ । राम्रो गर्नेलाई पुरस्कृत गरिनुपर्दछ । अनि मात्र तालीमले सहि दिशा लिन सक्दछ । अन्यथा सुकेको रुखलाई हरियो चश्माले हेरे झैं हुन्छ ।
सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?
विद्यालय सुधारको शुरुवात स्थानीय तहमार्फत हुनुपर्दछ, जसका लागि लगानीमा अभिवृद्धि गर्ने, शिक्षकलाई विश्वास गर्ने, शिक्षक प्रोत्हान कार्यक्रम ल्याउने र विद्यालयमा व्यापक भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणको प्रयास अविलम्ब थालनी गर्नुपर्दछ । सामूदायिक विद्यालय सुधारका लागि स्पष्ट शिक्षा नीति निर्माण गरी शिक्षामा लगानीको वृद्धि गरी पूर्णकालीन अधिकार सम्पन्न प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयको स्तर सुधार गरी शिक्षक, नेता, शिक्षाकर्मी, कर्मचारी, सेना, प्रहरी स्थानीय सरोकारवालाहरुका वाल बालिकाहरुलाई सार्वजनिक विद्यालयमा प्रवेश गर्ने गराउने वातावरण शृजना गर्नुपर्दछ । यसका लागि आकर्षक सुविधा सम्पन्न विद्यालय निर्माण र विषयगत क्षमतावान् शिक्षक, छोटो छरितो वि.व्य.स.को व्यवस्था गर्नुपर्दछ । शिक्षकले चाहे गर्दछन् भन्ने विद्वान शिक्षाविद्हरु पनि आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा भर्ना गरी खबरदारी गर्न सक्नु पर्दछ । हाल जति पनि बिद्वान शिक्षाविद् तथा शिक्षा प्रशासकले व्यक्त गरेका अभिव्यक्तिले मात्र विद्यालय सुधार हुँदैन । हाम्रा मन्त्री, सचिव, शिक्षाविद्हरुले विभिन्न मुलुक भ्रमण गरेका छन् । त्यहाका राम्रा अभ्यास थालनू गर्नुपर्यो । यसो भएमा हाम्रो विद्यालयमा विद्यार्थी भर्नामा तँछाड मछाड भई नियन्त्रण गर्न गाह्रो नहोला भन्न सकिन्न ।