नवलपुर । देवचुली–७ स्थित भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले कक्षा १२ को नतिजामा सामुदायिक विद्यालयतर्फ जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
विद्यालयले कक्षा १२मा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने शिक्षक एवं विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्दै पञ्चेबाजासहित नगरपरिक्रमा गरेको हो ।
भीमसेन माविबाट कक्षा १२ को परीक्षा दिएकामध्ये ५ विद्यार्थीले ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भएका हुन् । भीमसेनबाट कक्षा १२ को परीक्षामा सहभागी रुष्मा थापा क्षेत्रीले ३.८३ जीपीए, सुरज प्रसाद पराजुलीले ३.६९ जीपीए र पुष्पा जैसीले ३.६८ जीपीए प्राप्त गर्न सफल भएका हुन् ।
यसैगरी शिक्षा पाण्डेले ३.६४ जीपीए र प्रेजना पाण्डेले ३.६२ जीपीए गरी ५ जना विद्यार्थीले ३.६ जीपीए माथिको नतिजा ल्याउन सफल भएका हुन् । यस्तै विद्यालयबाट परीक्षामा सहभागीमध्ये २४ जनाले ३.२ देखि ३.६ जिपिए र ५९ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका छन् ।
यसैगरी, भीमसेन माविबाट परीक्षा दिएका मध्ये ४१ जना २.४ देखि २.८ जीपीए र ५ जना विद्यार्थी २ देखि २.४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । यतिमात्रै होइन भीमसेन नमुना माविबाटै कक्षा १२ को परीक्षा दिएकी रुष्मा थापा क्षेत्री सामुदायिक विद्यालयतर्फ नवलपुर जिल्लामै प्रथम हुन सफल भएकी छन् ।
कक्षा १२ को परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएपछि विद्यालयले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकको सामुहिक प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको भन्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद, प्रमाणपत्र र मायाको चिनो तथा शिक्षकहरूलाई नगद र प्रमाणपत्रसहित सम्मान एवं पुरस्कृत गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले भीमसेनले सदैव उत्कृष्ट नतिजा ल्याउँदै आएको बताउँदै आगामी दिनमा समेत उत्कृष्ट नतिजा ल्याउनका लागि शुभकामना व्यक्त गरिन् । यस पटकको नतिजामा जिल्लामै प्रथम हुन सफल विद्यालयलाई उनले आगामी दिनमा देशमै प्रथम हुन शुभकामनासमेत दिइन् ।
भीमसेन आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले विद्यालयले लामो समयदेखि गर्दै आएको विद्यार्थी केन्द्रित शिक्षण सिकाइको नतिजा विस्तारै देखिन थालेको टिप्पणी गरे । आगामी दिनमा अझै राम्रो नतिजा देखिने उनको ठोकुवा थियो ।
विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले शिक्षक, विद्यार्थी र अभिभावकको सामुहिक प्रयासबाट नै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । प्रअ भुसालले विद्यालयको निरन्तरको उत्कृष्ट नतिजाले सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने प्रष्ट पारेको टिप्पणी गरे । विद्यालयको अहिलेको नतिजा सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, जनज्योति कलेजका अध्यक्ष होमनाथ जैसी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष सत्यनारायण भुसाल, घनलाल भुसाल, पुर्व प्रधानाध्यापक नरदेव न्यौपाने लगायतले उत्कृष्ट नतिजा ल्याउने शिक्षक एवं विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिएका थिए ।