बाँके । विद्यालय बन्द हुँदा कोपिला पुनमगर (नाम परिवर्तन) फुर्सदिली भइन् । राप्ती सोनारी गाउँपालिका–५ की उनको १० कक्षामा भर्ना हुने रहर कोरोना महामारीको चपेटामा पर्यो । किताब पढ्ने बानी छुट्यो । स्कुल जाने समयमा घरायसी काममा सघाउनु र बस्तुभाउ चराउनु उनको दिनचर्या बन्यो । गोठालो जाँदा आफ्नै उमेरको युवकसित माया बस्यो । गत चैत अन्तिम साता भागेर केटाको घर गइन् ।
तर उमेर नपुगी विवाह भएको भन्दै प्रहरीमा उजुरी पर्यो । बाल अधिकारकर्मी र जनप्रतिनिधिसहितको छलफलले दुवै बालबालिकालाई अभिभावकको जिम्मा लगाउने निर्णय गर्यो । अभिभावकको जिम्मा लगाएको ४ दिनपछि उनी फेरि भागेर तिनै केटाको घर गएर बस्न थालिन् ।
डुडुवा गाउँकै १७ वर्षीया आरती चौधरी (नाम परिवर्तन) कक्षा १० मा पढ्थिन् । एसईई परीक्षाको तयारीमा थिइन् । तर परीक्षा रोकिएपछि उनी फुर्सदिली भइन् । फुर्सदमा मोबाइल र फेसबुक चलाएर दिन बिताउन थालिन् । विद्यालय बन्द भएको एक महिनामै सामाजिक सञ्जालमार्फत १८ वर्षीय केटासित चिनजान भयो । त्यसको दुई महिनापछि उनले भागेर बालविवाह गरिन् । राप्ती सोनारी–५ का विनय कार्की (नाम परिवर्तन) र उनकी साथी एउटै विद्यालयमा कक्षा १० मा पढ्थे । पढाइका क्रममा साथीका रूपमा नजिक भएका उनीहरू छिमेकी हुन् । लकडाउनले विद्यालय बन्द भयो । छिमेकमै एकआपसमा पढाइका कुरा गर्दागर्दै उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । चार महिना प्रेम सम्बन्धमा रहेका उनीहरूले गत साउन २८ मा बिहे गर्ने निधो गरे । परिवारको समेत सहमति जुटाएर विवाह गर्दागर्दै बाल अधिकार समितिले उनीहरूलाई मण्डपबाटै नियन्त्रणमा लियो । सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाएको जोडीले ४ दिनपछि फेरि भागेर बिहे गरे ।
बालविवाहविरुद्धकी सहजकर्ता यमकला बस्नेतको टोल डुडुवामै लकडाउनभरि ४ जनाको बालविवाह भयो । ‘स्कुल बन्द हुँदा बालबालिकाले बिहेलाई विकल्पका रूपमा रोज्न थालेका छन्,’ उनले भनिन् । स्याक नेपालकी सहजकर्ता बस्नेतले लकडाउनमा भागेर बिहे गर्ने स्कुले केटाकेटीको संख्या बढ्दै गएको सुनाइन् । कोरोना संक्रमणको अवस्था लम्बिँदै जाँदा बाँकेभर बालविवाह गर्नेको संख्यामा बढोत्तरी भएको छ । विद्यालय बन्द हुँदा खासगरी बालमनोविज्ञानमा असर परेको र उनीहरूले विकल्पका रूपमा विवाह रोज्न थालेको अधिकारकर्मीहरू बताउँछन् ।
सबैभन्दा बढी बालविवाहका घटना बाँकेको राप्ती सोनारी गाउँपालिकामा भएको स्याकका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश पाण्डेले बताए । चैत महिनायता बाँकेमा ५० वटा बालविवाहविरुद्धको उजुरी परेको उनले सुनाए । ‘स्कुल जान नपाउँदा बहकिएर बालविवाह गर्न थाले,’ उनले भने, ‘त्यस्ता धेरै विवाहका उजुरीसम्म आएका छैनन् ।’
कोभिड–१९ को चपेटामा प्रहरी, जनप्रतिनिधि र वडामा सक्रिय किशोरी क्लबसमेत चलायमान हुन नपाउँदा बालविवाहविरुद्धको रोकथाममा चुनौती थपिएको उनको भनाइ छ । राप्ती सोनारीमा मात्रै चैत–साउनसम्म २४ जनाको बालविवाह भएको छ । राप्ती सोनारी–५ मा मात्रै यो अवधिमा ९ जोडीले बालविवाह गरेको बालविवाहविरुद्ध स्याक नेपालकी संयोजक रामकुमारी चौधरीले सुनाइन् । विवाह हुनेमा १६ देखि १८ वर्ष उमेर समूहका छन् । ९ र १० कक्षामा पढ्दै गरेका बालबालिकाले भागी विवाह गरेका र उनीहरूलाई अभिभावकको जिम्मा लगाउँदासमेत फेरि भागेको चौधरीले बताइन् । ‘अभिभावकको जिम्मा लाउँछौं, फेरि भाग्छन्,’ उनले भनिन् ।
राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीसरा खत्रीले लकडाउनको बीचमा बालविवाह अत्यधिक बढेको हुँदा विद्यालय खोल्न प्रशासनलाई अनुरोधसमेत गरेको बताइन् । तर संक्रमण फैलिएकाले खतरा हुने भन्दै सञ्चालनको अनुमति दिइएको छैन । यसको अप्रत्यक्ष असर स्कुले बालबालिकामा देखिएको उनले सुनाइन् । पढ्ने र अतिरिक्त सिर्जनात्मक क्रियाकलापमा बालबालिका भुल्ने ठाउँ हराउँदै गएकाले मनोविचलन आएर बालविवाह बढ्दै गएको उनको बुझाइ छ । ‘अलि ठूलाले बिहे गर्न थाले, साना नानीहरू जंगलमा च्याउ खोज्न जाँदा लडेर घाइते हुन थाले,’ उनले भनिन्, ‘केटाकेटी जोगाउनै गाह्रो भयो ।’
महामारीको चपेटामा स्कुले बालबालिका मनोवैज्ञानिक रूपमा विचलित हुनु, निराश हुनु र रमाइलोका रूपमा बिहेलाई लिन थाल्नुले बालविवाह बढ्ने जोखिम रहेको सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरु बताउँछन् । ‘अभिभावकले यस्तो बेला छोराछोरीलाई अलि बढी ख्याल गर्नु आवश्यक छ,’ उनले भने, ‘नभए विचलित भएर गलत कदम उठाउन सक्छन् ।’ महिला तथा बालबालिका प्रहरी सेवा केन्द्र बाँकेको तथ्यांकअनुसार चैत–साउन महिनामा ११ वटा बालविवाहको उजुरी परेको छ ।
०७५/७६ मा २५ र ०७६/७७ मा ५९ वटा बालविवाहका मुद्दा दर्ता भएका थिए । लकडाउनको ५ महिनामा बालबालिका हराएको भन्दै उजुरी दर्ता हुने र खोजी गर्दा भागी विवाह गरेको पाइएको प्रहरी बताउँछ । केन्द्रकी प्रमुख श्यामकुमारी मगरले लकडाउनको प्रभाव बालविवाहमा समेत देखापरेको बताइन् ।
मधु शाहीले कान्तिपुरमा खबर लेखेकी छन् ।