काठमाडौँ । शिक्षा मन्त्रालयले असार १ देखि विद्यालय तहका विद्यार्थीलक्षित अनलाइन कक्षा सञ्चालन गर्यो । साधारण विद्यार्थीले रेडियो/टेलिभिजनमार्फत वा अनलाइनमा सहभागी भएर पढ्दै आएका छन् । तर मन्त्रालयले विशेष विद्यालयमा पढेका बहिरा विद्यार्थीका लागि अहिलेसम्म कुनै शैक्षणिक गतिविधि बढाउन सकेको छैन । जसका कारण १५ हजारभन्दा बढी बहिरा विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।
लकडाउनका कारण विद्यालय नखुलेपछि मन्त्रालयले शैक्षिक सत्र २०७७ को औपचारिक पठनपाठनलाई जोडिने गरी अनलाइन कक्षा सञ्चालन गरेको हो । सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीले पाठ्यपुस्तकसमेत पाइसकेका छन् तर अधिकांश बहिरा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । उनीहरू रेडियो सुन्ने क्षमता राख्दैनन् । टेलिभिजनमा प्रसारण हुने शैक्षणिक सामग्रीहरू सांकेतिक भाषा शिक्षणमैत्री छैन । त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग) को वेबसाइटमा राखिएका श्रव्यदृश्य सामग्री बहिरामैत्री नरहेको शिक्षकहरू बताउँछन् ।
नक्सालस्थित केन्द्रीय बहिरा माविका प्रधानाध्यापक उपेन्द्र पराजुली आफ्ना विद्यार्थीमध्ये ८० प्रतिशत उपत्यकाबाहिर रहेकाले सम्पर्क गर्न नसकेको बताउँछन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म ३ सय ८८ विद्यार्थी छन् । ‘काठमाडौं उपत्यकामा रहेका करिब २० प्रतिशत विद्यार्थीलाई पाठ्यपुस्तक दिएका छौं,’ उनले भने, ‘तर पठनपाठनमा जोड्न सकेका छैनौं । उपत्यकाबाहिर रहेका विद्यार्थीको इन्टरनेट पहुँच छैन । पहुँच भए पनि भर्चुअल कक्षा सञ्चालन गर्दा मोबाइलजस्तो सानो यन्त्रमा संकेत देखिँदैन, बुझिँदैन ।’ उनका अनुसार टेलिभिजनको स्क्रिनमा पढाउने हो भने पनि कम्तीमा ३३ प्रतिशत भाग देखाएमात्र बुझिन्छ । तर त्यस्ता सामग्री हालसम्म निर्माण भएको छैन ।
देशभर २२ वटा बहिरा विशेष विद्यालय छन् । त्यसमध्ये पाँचवटामा माध्यमिकदेखि स्नातक तहको पठनपाठन हुन्छ । बागलुङ र गोरखाका दुई बहिरा विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । राष्ट्रिय बहिरा महासंघले मन्त्रालय र विभागको ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष केपी अधिकारीले बताए । ‘पटकपटकको छलफलपछि कक्षा ८ को ‘विज्ञान तथा वातावरण विषयको सांकेतिक भाषा नमुना शिक्षण’ भिडियो निर्माण गरी बुझाइएको छ,’ उनले भने, ‘साउन लागिसक्यो कुनै पहल भएको छैन । हप्ता दिनसम्म पनि पहल नभए विभागमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।’ महासंघले विभागलाई बुझाएको ध्यानाकर्षणपत्रमा श्रव्यदृश्य पाठ्यसामग्री निर्माण गर्दा आवश्यक सांकेतिक भाषाका नियमहरूसमेत सुझाएको छ ।
विभागका महानिर्देशक तुलसीप्रसाद थपलियाले बहिरा विद्यार्थीका निम्ति सामग्री निर्माणको तयारीमा जुटेको बताए । ‘बहिरा विद्यार्थीको हकअधिकारप्रति हामी गम्भीर छौं, केही प्राविधिक त्रुटि हुन सक्छ,’ उनले भने, ‘सुरुमा हामीले निर्माण गरेको सामग्री सांकेतिक भाषामैत्री हुन सकेन । छुट्टै क्यामेरा आवश्यक पर्दो रहेछ । प्रकाशको व्यवस्था र दोभाषेमात्र नभई शिक्षणमा पोख्त शिक्षक चाहिने भएकाले समय लागेको छ । चाँडै सामग्री निर्माण हुनेछ ।’
गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।