२०७६ असोज ३० गते

निरन्तर शिक्षाविनाको साक्षरता अभियान निरर्थक

रमाकान्त शर्मा


रमाकान्त शर्मा

जुन समाज ज्ञानमा आधारित भयो, त्यही समाज विकासमा फड्को मार्न सफल देखियो । शिक्षाको माध्यमबाट नै नागरिकको पोषण, स्वास्थ्यको अवस्था राम्रा पार्न, भौतिक सुविधा सम्पन्न हुन तथा तीब्र आर्थिक वृद्धि गर्न सफलता मिल्ने हो ।  शिक्षालाई महत्व दिएका समाज तथा देशहरु नै विकासमा अग्रस्थानमा पुग्न सफल भएका हुन । युरोपेली र अमेरिकीहरुले विकासको सुरुवात् शिक्षाबाट गरेका हुन् । ती देशहरु समृद्ध हुनुमा उनीहरुले शिक्षालाई दिएको महत्व, शैक्षिक अभियानमा प्राप्त गरेका सफलताले हो भन्ने कुरामा शङ्का छैन । समकालीन विश्वमा जापानी, कोरियाली र चिनियाँहरुले जुन प्रगति गरेका छन्, त्यसको सुरुवात् पनि शिक्षाबाटै हो । विश्वका जुन–जुन देशले अन्य देशका लागि श्रमिक उत्पादन र आयात गरिरहेका छन्, ती देशहरुको आधारभूतदेखि उच्च शिक्षासम्मको अवस्था कमसल खालको छ । नागरिकमा उद्यमशीलता, दक्षता र सीपको कमीले गर्दा नै युवाहरु अन्य मुलुकमा पुगेर सस्तो मूल्यमा श्रम बेच्न बाध्य भएका हुन् ।


युरोपियनहरुले चौधौं शताब्दीदेखि पुनर्जागरण अभियान चलाए । भाषा, साहित्य, कला, दर्शन हरेक क्षेत्रमा चिन्तन–मनन् गरे । आफ्ना व्यवहार, आनी–बानीमा सुधार र  नवीन कुरा खोजे । पुराना र काम नलाग्ने कुराहरुलाई फ्याके । समाजलाई गति दिन सफल भए । नेपाली समाजमा अझै पनि छुवाछुत, लैङ्गिक विभेद, धामी झाँक्री, छाउपडि, बोक्सी, झुटा प्रचार गर्न र अभिनय गर्नेलाई ईश्वर मान्ने, शारीरिक विकृति देखिएको बच्चा जन्मिए अथवा प्राकृतिक रुपमा कुनै नौलो कुरा देखियो भने पूजा गर्न भिड लाग्ने, ईश्वरीकरण गर्ने, जस्ता रुढिगत मान्यताहरु व्याप्त छन् । रुढिगत मान्यताले स्वास्थ्य उपचार नपाएर अकालमा मृत्यु हुने, झैझगडा, मारकाट गर्ने घटनाहरु हाम्रो समाजमा पर्याप्त देख्न पाइन्छ ।


बाटोघाटोको विकास हुँदैमा र आर्थिक रुपमा सम्पन्न बन्दैमा रुढिगत मान्यता एवं विकृतिहरुलाई व्यक्ति तथा समाजले छाड्न सक्दो रहेनछ भन्ने उदाहरण पनि हाम्रै समाजमा रहेका छन् । चिन्तन–मनन्, छलफल, विश्लेषण गर्ने, वैज्ञानिक कारण खोज्ने, घटना, विषयवस्तुलाई विभिन्न पक्षबाट हेर्ने र राम्रा कुराहरु सिक्दै जाने, नकारात्मक पक्षहरु हटाउदै जाने  ज्ञान सीपको कमी छ । विकृति र नकारात्मक पक्षहरुले हामीलाई पछाडि धकेलिरहेका छन् भन्ने कुरामा पनि शङ्का छैन । भाग्य हेर्न विभिन्न स्वाङ्ग पार्नेहरुकोेमा भिड लाग्ने, सुगालाई भाग्य हेराउने, स्वनामधारी बाबा र देवीलाई विश्वस गर्ने र त्यसैको पछाडि भिड लाग्ने कारण पनि कुनै पनि कुरालाई विभिन्न पक्षबाट हेर्ने क्षमता अनि सोंचको कमीले हो भन्न सकिन्छ । हाम्रो समाजलाई सभ्य र समृद्ध बनाउने हो भने ज्ञानमा आधारित, वैज्ञानिक चिन्तन गर्न सक्ने समाज निर्माण गर्नु अति नै आवश्यक छ । यसका लागि विद्यालय र विश्वविद्यालयहरुमा हुने औपचारिक शिक्षा तथा परीक्षा पास गर्न गरिने अध्ययन मात्रले सफलता मिल्दैन । समाजका हरेक पक्षमा सुधार ल्याउन, विकृति हटाउन, समाज सभ्य बनाउन समाजमा निरन्तर अध्ययन,  चिन्तनमा मनन्, छलफल अन्तक्र्रिया हुने वातावरण निर्माण गर्नु आवश्यक छ ।


समाजमा कसरी अध्ययन संस्कृतिको विकास गर्ने ? अध्ययन गरेर प्राप्त ज्ञानको रुजु गर्न छलफल अन्तक्र्रिया कसरी गर्ने ? त्यस विषयमा अन्य व्यक्तिको समेत राय संकलन गर्ने बानीको कसरी विकास गर्ने ? आफूले गर्ने व्यवसायसँग सम्बन्धित ज्ञान, सीप आर्जन कसरी गर्ने ? आफ्नो कामसँग सम्बन्धित विषयमा थप ज्ञान आर्जन कसरी गर्ने ? उद्यशीलता कसरी थप गर्ने ? भन्ने जस्ता प्रश्नहरुको एउटै उत्तर निरन्तर हो । अन्य समाज र देशमा भएका अभ्यासहरुलाई बुझ्ने, अरुबाट सिक्ने, आफ्ना अनुभवहरु अरुलाई बाढ्ने बानीको विकास गर्न पनि निरन्तर शिक्षाको आवश्यकता पर्दछ ।


समाजबाट निरक्षरता हटाउन वि.सं. २००७ सालबाट नै प्रयास थालिएका हुन् । कहिले प्रौढ शिक्षा, कहिले चेलिबटी शिक्षा, महिला शिक्षा जस्ता कार्यक्रममार्फत् निरक्षरलाई साक्षर बनाउन प्रयासहरु गरिएका थिए । विगतमा साक्षर बनाउन प्रौढ शिक्षाका कक्षा ६ महिना अवधिसम्म सञ्चालन गरिन्थे । ६ महिने कक्षा पछि तीन महिनाका साक्षरोत्तर कक्षामार्फत् साक्षरतालाई दरिलो बनाउने प्रयास पनि गरिएको थियो । तीन महिनाको अन्त्यतिर सीप तथा आय–आर्जनसम्बन्धी तालिमको व्यवस्था पनि गरिएको थियो । ६८ सालतिरबाट प्रौढ कक्षालाई साक्षरता कक्षा नाम दिई समयावधि तीन महिनामा सीमित गरियो । तीन महिनाको साक्षरता कक्षा पछि तत्काल थप कक्षाको व्यवस्था हुन सकेन । अर्को आर्थिक वर्षको कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा साक्षर भएकाहरुलाई सीमित मात्रमा निरन्तर शिक्षाका कक्षाको व्यवस्था गरियो । तीन महिनाको कक्षा पछि तत्काल थप कक्षा तथा निरन्तर शिक्षाका कार्यक्रम नहुँदा साक्षरता कक्षाबाट प्राप्त गरेका सीपहरु भुल्ने र पुनः निरक्षर हुने अवस्था सिर्जना भयो । यस परिस्थितिले ‘हिँड्दैछ, डोब मेटाउँदैछ...’ भनेको के हो ? भन्ने गाउँखाने कथा जस्तै हाम्रो साक्षरता अभियानले नियति भोग्नु प¥यो ।  


अझै पनि विगतमा साक्षर भएकालाई साक्षरोत्तर तथा निरन्तर शिक्षा, साक्षरता कक्षाबाट सामान्य आफ्नो नाम लेख्न सिकेकाहरुलाई तत्तकाल साक्षरता कक्षाकै संख्याको हाराहारीमा थप कक्षा एवं निरन्तर शिक्षाको व्यवस्था गर्न नसक्ने हो भने साक्षरता अभियानको उपलब्धि शून्य हुन्छ । साक्षर भएकालाई थप शिक्षा दिन तथा निरन्तर शिक्षा उपलब्ध गराउन सामुदायिक सिकाइ केन्द्रको व्यवस्था त गरिएको छ । ती सामुदायिक सिकाइ केन्द्रहरु गाउँ–गाउँमा तथा टोल–टोलमा पुग्ने संख्यामा स्थापना हुन सकेका छैनन् । एकाधले बाहेक सामुदायिक सिकाइ केन्द्रहरुले उद्देश्य अनुसार कार्य गर्न सकेको देखिँदैन । आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षाको अधिकारसहितका स्थानीय तहहरुको स्थापना भएपछि सामुदायिक सिकाइ केन्द्रको नक्साड्ढन तथा पुनर्वितरण हुन र स्थानीय तहप्रति उत्तरदायी बनाउन सकिएको अवस्था छैन ।


निरन्तर शिक्षालाई प्रभावकारी पार्न सबै नवसाक्षरहरुलाई थप शिक्षाको व्यवस्था गर्न पनि साक्षरता अभियानलाई जत्तिकै महत्व दिइनु पर्छ । स्थानीय तहको वडा समिति, सामुदायिक सिकाइ केन्द्र, युवा क्लब, आमा समूह, विद्यालयलगायत समाजमा चेतनामूलक कार्य गर्दै आएका सामाजिक संघ–संस्था र समूहमार्फत् निरन्तर शिक्षालाई ब्यापक पार्न सकिन्छ । समाजमा पर्याप्त मात्रमा सिकाइ तथा अध्ययन समूहहरु निर्माण गरी परिचालन गर्न पनि सकिन्छ । गाउँ–गाउँमा तथा टोल–टोलमा साना पुस्तकालय तथा घुम्ति पुस्तकालय स्थापना गर्न सकिन्छ ।  पुस्तकालयमा सरल कथा, कविता  जीवनी, स्वास्थ, कृषि र अन्य पेशा व्यवसायलाई सहयोग पु¥याउने, नागरिक अधिकारको कर्तव्य र अधिकारको विषयमा लेखिएका सरल पुस्तिकाहरु, पत्रपत्रिकाहरु व्यवस्था गर्नुपर्ने हुन्छ । यसरी समाजमा पढ्ने अभियान सञ्चालन गर्न सकेमा पनि निरन्तर शिक्षा बढाउन र समाजलाई सचेत पार्र्न सहयोग पुग्छ । स्थापना भएका पुस्तकालयहरुको प्रयोग बढाउने, पुस्तकालयले व्यक्तिले पुस्तक पढेका र सिकेका कुरामा चर्चा–परिचर्चा, छलफल, वक्तृत्वकला, प्रवचन कार्यक्रम  राख्ने जस्ता कार्य पनि गर्न आवश्यक छ । गाउँ–गाउँमा स्थापना भएका अध्ययन समूहले  निश्चित बार तथा दिनमा अध्ययन गरेका, सिकेका कुराहरुमा छलफल अन्तक्र्रिया गर्ने पद्धति बसाउन पनि सकिन्छ ।  


साक्षरता र निरन्तर शिक्षा, जनचेतना वृद्धि गर्ने खालका सन्देशहरु तथा डकुमेन्ट्रिहरु निर्माण गर्ने,  फुर्सदको समय मिलाए  टोल– टोल, गाउँ–गाउँमा देखाउँदा पनि निरन्तर शिक्षालाई सहयोग पुग्छ । गाउँ–गाउँमा सञ्चार माध्यमहरु जस्तो एफएम रेडियो, टिभि र सामाजिक सञ्जालको पहुँच पुगिसकेको अवस्था छ । यस्ता सञ्चारमाध्यम, सामाजिक सञ्जाल पनि जनचेतनाको लागि सदुपयोग गर्न सकिने माध्यम हुन् । समाजमा रहेका अध्ययनशील र अध्ययनबाट सिकेका कुराहरुलाई प्रयोगमा ल्याउने, पुस्तक अध्ययन गरेर उद्यमशीलता बढाउनेलाई सम्मान र पुरस्कारको व्यवस्था गर्न सकेमा पनि अन्य व्यक्तिलाई समेत अध्ययन गर्न उत्प्रेरणा मिल्दछ ।


साक्षरता शिक्षा, निरन्तर शिक्षा र समुदायलाई साचेत पार्ने ध्येयले खोलिएका सामुदायिक सिकाइ केन्द्रहरुको पुनर्वितरण गर्ने, यस्ता सिकाइ केन्द्रलाई स्थानीय तहप्रति उत्तरदायी बनाई साधनस्रोतको व्यवस्था गर्ने जस्ता कार्य गर्न सकेमा पनि सामुदायिक सिकाइ केन्द्रले टोल–टोलमा अध्ययन तथा सिकाइ समूहहरु निर्माण गरी निरन्तर शिक्षा र समाजलाई सचेत बनाउने कार्यमा महत्पूर्ण भुमिका खेल्न सक्छन् ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको शिक्षा र सामाजिक विकास शाखाहरु पनि बजेट सक्नका लागि, कार्यक्रम गरेजस्तो गर्ने, प्रगति देखाउने, औपचारिकतामा कार्यक्रम सक्ने, नाम मात्रको कार्यक्रम गर्ने विगतको प्रवृत्ति छाड्नु आवश्यक छ । तीनै तहका सरकार र समाजलाई परिवर्तन गर्न चाहने संघ–संस्था व्यक्ति सबै मिलेर लागेमा समाजलाई सचेत बनाउन र यहाँ रहेका विकृतिहरु हटाउन सजिलै सकिन्छ ।


(लेखक, तनहुँको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हुनुहुन्छ ।)  


साभार:आजको शिक्षा साप्ताहिक

 

Comments: