काठमाडौँ । कोरोना कहरका बीच केही शिक्षक विद्यार्थीलाई सिकाउन कम्मर कसेर लागेका छन्, तर देशभरका अधिकांश सामुदायिक विद्यालयका शिक्षक निष्क्रिय बस्दा वैकल्पिक कक्षा प्रभावहीन बनेको छ । विद्यालय बन्द हुँदा बालबालिकालाई सिकाउने अभियानमा शिक्षकहरू केन्द्रित नभएको शिक्षाविद्हरू बताउँछन् ।
शिक्षण संस्था बन्द भए पनि पढ्ने/पढाउने कामलाई निरन्तरता दिनुपर्ने उनीहरूको सुझाव छ । सामुदायिक र संस्थागत गरी मुलुकभर ३ लाख १६ हजार ८ सय शिक्षक छन् । निजी विद्यालयले वैशाखदेखि नै वैकिल्पक कक्षा थालेकाले त्यहाँ कार्यरत धेरै शिक्षक शिक्षण पद्धतिमा जोडिएका छन् ।
सामुदायिक विद्यालयका २ लाख २७ हजार शिक्षक वैकल्पिक कक्षामा सक्रिय भए/नभएको कुनै लेखाजोखा छैन । शिक्षा मन्त्रालयले शिक्षकहरूलाई वैकल्पिक सिकाइ अभियानमा सहभागी हुन पटक–पटक ताकेता गर्दै आएको छ । चैतदेखि नै शिक्षण संस्था बन्द छन् । असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाट वैकल्पिक कक्षा अभियान सुरु गरिएको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको अनुगमनमा वैकिल्पक कक्षा प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नहुनुको कारणमध्ये शिक्षक सक्रियता पनि एक हो । शिक्षा मन्त्रालय र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई वैकल्पिक कक्षामा सहभागी भएर विद्यार्थीलाई सहजीकरण गर्न अपिल गर्दै आएका छन् ।
सबै शिक्षक वैकल्पिक कक्षामा सक्रिय नभएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव दीपेन्द्र सुवेदीले बताए । ‘टोल–टोलमै शिक्षक पुगेर विद्यार्थीलाई सघाउने काम पनि भएको छ,’ उनले भने, ‘तर सबै शिक्षक खटिएका छन्, विद्यार्थीसम्म पुगेका छन् भन्न सकिँदैन ।’ कुल शिक्षकमध्ये वाग्मती प्रदेशमा सबैभन्दा बढी २० प्रतिशत शिक्षक कार्यरत छन् । प्रकोपको समय भएकाले पनि शिक्षक विद्यार्थीको पहुँचसम्म पुग्न नसकेको सुवेदीले तर्क गरे ।
शिक्षाकर्मीहरू भने तलबभत्ता लिइरहेका शिक्षक आफैं जागरुक हुनुपर्ने बताउँछन् । वैकल्पिक कक्षामा सहभागी भएर बालबालिकालाई सिकाउन शिक्षकहरू सक्रिय हुनुपर्ने शिक्षाविद् मनप्रसाद वाग्लेले बताए । ‘शिक्षकहरूले अप्ठ्यारो बेलामा पनि नवीनतम् काम गरिरहनुभएको छ तर यो साह्रै कम छ,’ उनले थपे, ‘अब सबै शिक्षक विद्यालय आउनैपर्छ, सम्भव हुने विधिबाट वैकल्पिक कक्षामा जोडिएर बालबालिकालाई न्याय गर्नैपर्छ ।’ सरकारले नै शिक्षकहरूलाई पठनपाठन गराउन अल्मल्याउने गरेको छ ।
लकडाउनलाई सार्वजनिक बिदामा गणना गर्ने भनेपछि शिक्षकहरू उक्त अवधिलाई बिदा ठानेर पनि पठनपाठनमा सहभागी भएनन् । वैकल्पिक कक्षा असारदेखि एक महिनालाई मात्र भनिएको थियो । शिक्षकहरू त्यसपछि खुल्ला र विद्यालय जाउँला भनेर बसे । विद्यालय बन्द रहे पनि सिकाइ क्रियाकलाप अघि बढाउन नसके शैक्षिक सत्र गुम्न शिक्षाविद्हरूको चिन्ता छ ।
शिक्षाविद् वाग्लेले वैकल्पिक कक्षालाई नै मूलधारको शिक्षा बनाउनुपर्ने बेला आएकाले अब ढिला गर्न नहुने सुझाव दिए । ‘वैकल्पिक विधिमा जान शिक्षकहरूलाई शिक्षा मन्त्रालयले अभिमुखीकरण गर्नुपर्यो,’ उनले भने । भर्चुअल माध्यमबाट पठनपाठन गर्न शिक्षकहरूले स्वअध्ययनबाट सिक्ने र नयाँ परिस्थितिमा जान तालिम लिनुपर्ने दुई विकल्प छन् । शैक्षिक सत्रको चार महिना गुमिसकेको छ । थोरै समयमा जान्ने शिक्षकले कम जान्ने शिक्षकलाई तालिम दिने व्यवस्था गर्नुपर्ने उनले बताए ।
शिक्षक र स्थानीय तह जागरुक भएका ठाउँमा वैकल्पिक कक्षा पनि उपलब्धिमूलक बनेका छन् । शिक्षा मन्त्रालयले विद्यालय, शिक्षक र स्थानीय तहलाई विश्वास गरेर अवस्थाअनुसार वैकल्पिक कक्षा सञ्चालन गर्न दिनुपर्ने शिक्षकहरू नै बताउँछन् । स्थानीय तह र शिक्षक सक्रिय रहेको स्थानमा वैकल्पिक कक्षा प्रभावकारी भएको केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले जनाए । ‘कति शिक्षक खटिएका छन्, यकिन छैन,’ उनले भने, ‘कोरोना संक्रमण फैलिँदै गएकाले पनि शिक्षकहरू सिकाइ क्रियाकलापमा जोडिन नसकेको हुन सक्छ ।’
शिक्षक महासंघले शिक्षक, कर्मचारी र विद्यार्थीको कोरोना परीक्षण गर्न माग गर्दै आएको छ । अहिलेको अवस्थामा शिक्षक विद्यालय जान नसक्ने महासंघका पदाधिकारीहरू बताउँछन् । संक्रमण बढ्दै जाँदा पालिका र शिक्षकका अगुवाइमा चलेका कक्षा पनि बन्द हुन थालेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले ‘ननिदाएका शिक्षकहरू’ अभियान थालेर शिक्षकहरूलाई वैकल्पिक कक्षामा जोडिन प्रोत्साहन गरिरहेको छ । संगठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरू यतिबेला कोरोनाको अवस्थाअनुसार चल्न सक्नुपर्ने जनाए । ‘वीरगन्ज र पहाडी जिल्लामा एउटै विधि लागू गर्न सकिँदैन,’ उनले भने, ‘यतिबेला शिक्षकले आफ्नो ठाउँको परिवेशअनुसार विद्यार्थी र अभिभावकको सम्पर्कमा बसेर सिकाउन प्रयत्न गर्ने हो ।’ काम गरेका शिक्षकलाई अझै प्रोत्साहन र नगरेका शिक्षकलाई झक्झक्याउन अभियान थालेको उनले प्रस्ट्याए ।
संगठनले सरकारसँग विद्यालय पुनः सञ्चालन नीति ल्याउन र शैक्षिक सत्र जोगाउने उपायहरू तयार पार्न आग्रह गरेको छ । ‘सतर्कतापूर्वक कोरोनामुक्त ठाउँमा विद्यालय खोल्नुपर्छ,’ शर्माले भने, ‘शिक्षक आफू जोगिँदै विद्यार्थीलाई जोगाउँदै पठनपाठनमा जोडिनुपर्छ ।’ शिक्षकले नै अगुवाइ र संयोजन नगरिदिए वैकल्पिक कक्षा प्रभावहीन हुने महानिर्देशक थपलियाले दोहोर्याए । वैकल्पिक कक्षा सञ्चालन गरिरहेका प्रधानाध्यापक र शिक्षकहरू पनि बालबालिकालाई सघाइ राख्नुपर्ने बताउँछन् । विद्यालय, शिक्षक र पालिकालाई विश्वास गरेर विद्यालय सञ्चालन र पठनपाठनको जिम्मा दिनुपर्ने उनीहरूको सुझाव छ ।
सरकारको राष्ट्रिय नीति नै अस्पष्ट भएका कारण वैकल्पिक कक्षालाई सशक्त बनाउन नसकिएको धुलाबारी मावि झापाका प्रधान अध्यापक (प्रअ) महेन्द्रविलास लुइँटेलले बताए । ‘पाँच महिना बितिसक्यो, अब रेडियो, अनलाइन, टीभी र प्रिन्ट सामग्रीबाट पढेका कुरा नै शैक्षिक सत्रमा जोडेर जानुपर्छ,’ उनले भने । शिक्षा पत्रकार समूहले सोमबार गरेको अनुभव आदानप्रदान कार्यक्रममा शिक्षकहरूले वैकल्पिक कक्षालाई निरन्तरता दिन आह्वान गरेका छन् । कोरोना संक्रमण बढेर कक्षाहरू रोकिएको भए पनि सहज हुनेबित्तिकै निरन्तरता दिनुपर्ने र कक्षा सञ्चालनको नयाँ–नयाँ उपाय खोज्नुपर्ने उनीहरूको सुझाव छ । आफ्नो विद्यालयले आमा समूह परिचालन गरेर विद्यार्थीको तथ्यांक लिएको लुइँटेलले सुनाए । ‘स्थानीय एफएम रेडियोबाट कक्षा चलाएका छौं, टोल–टोलमा रेडियो बाँडेका छौं,’ उनले भने ।
अहिलेसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको कर्णाली प्रदेशस्थित जनता मावि दैलेखकी पार्वती पोखरेलले बताइन् । उनले भनिन्, ‘कोरोना अतिप्रभावित जिल्ला भएकाले धेरै प्रयास गर्दा पनि विद्यार्थीले रेडियो, टीभीबाट कसरी पढेका छन् भन्ने अनुगमन गर्न सकेका छैंनौं, विद्यालय गएर हाजिर गर्न थालेका छौं, अवस्था सहज हुनेबित्तिकै विद्यार्थीको सम्पर्कमा पुग्छौं ।’ अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन गराउन सकिने हटौंडास्थित अमर माविकी प्रअ मालती उप्रेतीको अनुभव छ । शिक्षकको समूह बनाएर सिकाइ केन्द्रमा खटाउन सकिने उनले बताइन् ।
पढाइ अनिश्चित हुँदा विद्यार्थी र अभिभावकमा शैक्षिक सत्र नै गुम्ने हो कि भन्ने त्रास बढ्दो छ । पहाडी भेगका विद्यार्थी विद्यालय छाडेर गाउँ फर्कन थालेको सुदूरपश्चिम प्रदेशस्थित पञ्चोदय मावि धनगढीका प्रअ हरिकुमार ओझाले गुनासो गरे । ‘विद्यार्थीलाई वैकल्पिक कक्षामा सहभागी गराएर केही न केही सिकाउन सके उनीहरू विद्यालयसँग जोडिन्थे,’ उनले भने ।
सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।