काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिइएकाे जानकारी गराए ।
उनका अनुसार नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिइएकाे छ ।
केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउने गरेकाे भन्दै विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हुने बताए ।विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइएको छ । समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने उनले बताए ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिइएको छ ।