काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आगामी असारदेखि आधारभूत तह (कक्षा १ देखि ८) सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन सुरु हुने भएको छ। सोही प्रयोजनका लागि महानगरले स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन पनि गरेको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित एक कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा पुस्तक विमोचन गरेर औपचारिक रूपमा पठनपाठनको ढोका खोलेका हुन्।
विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ऐतिहासिक धरोहरबारे अध्ययन–अनुसन्धान गरी आवश्यक विषयवस्तु समेटेर विद्यालय स्तरबाटै नेपाल भाषामा पठनपाठनका लागि गरेको प्रयासको सराहना गरे। ‘काठमाडौं महानगरपालिकाले स्थानीय कला, संस्कृति, धर्म, जातजाति, रहनसहनलगायत विषयवस्तु समेटेर स्थानीय क्षेत्रको विकास गर्न खोजेको छ,’ मन्त्री श्रेष्ठले भने , ‘तल्लो तहदेखि नै नानीहरूले विद्यालय शिक्षामै काठमाडौं चिनौं पाठ्यक्रम लागु गरेर स्थानीय भाषाका लागि रोजगारीको समेत अवसर सिर्जना गरेको छ। यो ठूलो काम हो।’
प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि रैथाने शब्द अरू भाषामा बुझाउन नसकिने भन्दै पाठ्यपुस्तकमा समेटिएका विषयवस्तु बुझ्न मात्र नभई विद्यार्थीहरूले त्यसलाई आत्मसात्समेत गर्न सकून भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउनेगरी पाठ्यक्रम तयार पारेको बताए। ‘पाठ्यपुस्तक बनाउने क्रममा विषयवस्तु, शब्द, स्थान, कला संस्कृतिलगायत विषयवस्तुको अध्ययन–अनुसन्धान गरी पाठ्यपुस्तक तयार गर्ने क्रमसम्म थुप्रै चुनौती आए तर त्यसलाई अवसरका रूपमा परिणत गर्न सफल भएका छौं,’ उनले भने, ‘काठमाडौं महानगर सामुदायिक विद्यालयको स्तर उकास्ने अभियानमा अघि बढेको छ।’ उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन्।’
शाक्यले काठमाडौं नेवार बाहुल्य ठाउँ भएको र यहाँ ७७ वटै जिल्लामा नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले नेपाल भाषाको माध्यमबाट पठनपाठन गराउन लागेको जनाए। ‘देश बाहिर र उपत्यकाबाहिर जाँदा कम्तीमा विद्यार्थीले यहाँको सम्पदा, परम्परा, खानपिन, रहनसहन धर्म, जात्रा तथा संस्कृतिबारे वर्णन गर्न र बोल्न सकून् भन्ने उद्देश्यले यो शिक्षा लागु गरेका हौं,’ उनले भने, ‘काठमाडौं मानवनिर्मित महानगर हो। यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतले आत्मीयता बढाएको छ।’ उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतबारे विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने जनाइन्।
‘आधारभत तह कक्षा १ देखि ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले आफूमातहतका सबै सामुदायिक र निजी विद्यालयमा यसै वर्षदेखि यो पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ।’ उनले अन्य कक्षाको पनि बिस्तारै लागु गर्दै लाने बताइन्।
नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन–अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मूलतः नेपाल भाषाभाषीको बाहुल्य रहेका कारण यो भाषाको माध्यमबाट उक्त पाठ्यक्रम पठनपाठन गर्ने नीति लिएको हो।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठनपाठन सुरु गरेको काठमाडौं महानगरपालिका निजी विद्यालय महाशाखा प्रमुख मोतीराज खनालले बताए। पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएकी वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्य पाठ्यपुस्तक नेपाल भाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको स्पष्ट पारिन्।
पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठहरू मात्र समावेश गरिएको उनको भनाइ छ। पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्। बालबालिकालाई नेपाल भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिनेगरी पाठ्यक्रम विकास गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्मा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ। कक्षा ४ र ५ मा ७५ अंक अभ्यासगत र २५ अंकको सैद्धान्तिक पठन–पाठन हुने छ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने उनले बताए।
रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।