काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले अधिकारीको नेतृत्वमा २१ पदाधिकारीसहित ८३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मान बहादुर पाण्डे निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, सोम प्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । त्यसैगरी अर्थ उपमहासचिवमा गणेशप्रसाद रिजाल र उपमहासचिवहरुमा बलबहादुर कार्की, नारायण अर्याल, झम्क चौलागाईं, दिनेश यादव निर्वाचित भएका छन्।

यसैगरी सचिवहरुमा गायत्री शर्मा, राम बहादुर खड्का, राजवीर महतो, कुवेर भेटवाल, नवराज शाही र देवीदत्त यादव निर्वाचित भएका छन्। ९९ सदस्यीय कार्यसमितिका बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ।

अधिवेशनको फागुन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । महाधिवेशनले अध्यक्षको शैक्षिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन र अर्थ उपमहासभिवको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

दोस्रोकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै अधिकारीले संघीय शिक्षा ऐन पारित गर्न पहल गर्ने र त्यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए । एकीकृत वहुउद्देश्यीय शिक्षक भवन निर्माण, शहीद शिक्षक स्मृति प्रतिष्ठान दर्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि यो कार्यकालमा प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष अधिकारीले बताए । आफ्नो मुख्य ध्यान संगठनलाई विधि पद्धतिमा ढालेर व्यवस्थित गर्ने र सम्पूर्ण उत्पीडित शिक्षकको आस्थाको केन्द्र बनाउनमा केन्द्रीत रहने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्