राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरभित्र नर्सिङ कलेजको भवन निर्माण सम्पन्न भएको छ । भवन बनेको ५ महिना भइसक्दा अझै नर्सिङ पढाइ कहिलेदेखि सुरु हुन्छ भन्ने अनिश्चित छ ।

यो कलेज रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । तर प्रतिष्ठान सञ्चालनसम्बन्धी कानुन निर्माण हुन नसक्दा नर्सिङ कक्षा सुरु हुन नसकेको हो ।

प्रतिष्ठानको ऐन कानुन नबनेसम्म पढाइ सञ्चालन हुन सक्ने अवस्था नरहेको प्रतिष्ठानका निर्देशक डा। रञ्जितकुमार झाले बताए । ‘हामीले रामराजा प्रतिष्ठानको ऐनकानुन बनाएर मन्त्रालयमा पठाइसकेका छौं । तर सरकार सबै प्रतिष्ठानका विषयमा एउटै छाता कानुन बनाउने तयारीमा रहेकोले प्रक्रिया अघि बढ्न सकेको छैन,’ उनले भने, ‘प्रतिष्ठानसम्बन्धी ऐनकानुन निर्माणलगत्तै आवश्यक जनशक्ति पूर्ति गरी राजविराज नर्सिङ कलेजमा पढाइ सुरु हुन्छ ।’ कलेजमा स्नातक तहसम्मको पढाइ हुनेछ । सप्तरी निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादवको सांसद कोषको ५ करोड ८० लाख र बाँकी प्रदेश सरकारको गरी कुल ६ करोड ९२ लाख रुपैयाँ लगानीमा कलेज निर्माण भएको हो । तर, निर्माण कम्पनीलाई पूरा रकम भुक्तानी नभएकाले कलेज निर्माण भएर पनि हस्तान्तरण हुन सकेको छैन । ‘ठेकेदारलाई अझै १ करोड १२ लाख भुक्तानी गर्न बाँकी छ,’ राजविराज नगरपालिकाका इन्जिनयर अशोककुमार दासले भने, ‘प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेकाले त्यसबाटै बक्यौता भुक्तानी भई भवन हस्तान्तरण हुनेछ ।’

पूर्वाधार निर्माण भइसकेकाले अब आवश्यक कानुन बनाएर जनशक्ति पदपूर्ति गरी कलेज सञ्चालन गर्नुपर्नेमा राजविराजका पूर्वप्रमुख शम्भुप्रसाद यादवले जोड दिए । ‘म नगर प्रमुख रहेकै बेला भवन निर्माण भइसकेको हो,’ उनले भने, ‘आवश्यक कानुन र सम्बन्धनका कारण पढाइ सुरु नहुँदा भवन यसै थन्किएको छ । कलेजलाई तत्काल सञ्चालनमा ल्याउनुपर्छ ।’

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्