काठमाडौँ । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका हुन् ।

अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौं मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् ।

‘चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन, संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उजुरी गर्दा पनि तोकेभन्दा बढी रकम माग्न छोडिएको छैन,’ एमबीबीएसमा भर्ना भएका एक छात्रले भने, ‘त्यसैले पढाइ नै छाडेर एक महिनादेखि आन्दोलनमा छौं ।’ आन्दोलनमा सहभागी नेविसंघका प्रतिनिधि तथा चिकित्सा शिक्षाका विद्यार्थी डा. नरेश भट्टले अतिरक्त शुल्क माग्दा र रकम फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । काठमाडौं मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन काठमाडौंमा उजुरी दिएपछि बिहीबार प्रशासनले कलेज प्रशासन र विद्यार्थीलाई डाकेको छ ।

गृह मन्त्रालयले कारबाहीको निर्देशन दिए पनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ । आयोगले सोधेको स्पष्टीकरणमा कलेजहरूले अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाए पनि विद्यार्थीसँग मागिरहेका छन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्