कञ्चनपुर । कञ्चनपुरमा विद्यालयमै पुगेर १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । जिल्लाका नौ वटै पालिकाका सबै वडाका विद्यालयमा बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्ध मोडर्ना खोप दिन सुरु गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले १२ देखि १८ वर्षसम्मका बालबालिकाको संख्या ६५ हजार रहेको अनुमान छ । पुस १० सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने योजना रहेको स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

जिल्लाका निजी र सामुदायिक गरी ५ सय १ विद्यालयमा पालैपालो स्वास्थ्यकर्मीको टोली पुगेर खोप दिइनेछ । पालिकाहरूमा स्वास्थ्यकर्मीको जनशक्तिका आधारमा सबै विद्यालयमा खोप दिइने छ । ‘खोप लगाउने काममा पालिकाबाटै टोली खटिएको छ,’ कुँवरले भने, ‘यो हप्ताभित्रै लक्षित समुदायका बालबालिकालाई पहिलो मात्रा खोप लगाई सकिने छ ।’

अहिले बालबालिकाहरूका लागि ६० हजार डोज खोप आएको छ । पहिलो मात्रामा लागि ५ हजार जति अपुग हुने अनुमान छ । एक महिनापछि दोस्रो मात्राको खोप दिइने छ । ओमिक्रोनको संक्रमणको जोखिम बढेसंँगै बालबालिकाहरूमा पनि त्रास बढेको छ । यही भएर पनि बालबालिकाहरू खोप लगाउदा खुसी देखिन्छन् ।

‘घरमा आफूभन्दा ठूला सबैलाई खोप लागिसक्यो हामीलाई मात्र नलाग्दा डर पनि लाग्थ्यो,’ कञ्चनपुरको भीमदत्त नगरपालिका—११ गड्डाचौकीस्थित सिद्धनाथ अमर माविकी एक छात्राले भनिन्, ‘अब हामी पनि ढुक्क भयौं, सुरुमा त डर लागिरहेको थियो तर खोप लगाएको थाहै नहुँदो रहेछ ।’ उक्त विद्यालयमा आइतबार दिउँसो भीमदत्त नगरपालिकाको स्वास्थ्य टोली आएर खोप लगाउन सुरु गरेको हो ।

कञ्चनपुरमा हालसम्म १८ वर्षमाथिका ६९ प्रतिशतलाई पहिलो मात्रा र ३९ प्रतिशतलाई दोस्रो मात्रा खोप लगाइएको छ । जिल्लामा १८ वर्षमाथिका ३ लाख ५२ हजारलाई खोप दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो मात्रा खोप लगाएकालाई माघभित्रै दोस्रो मात्रा लगाइने छ । ‘खोप लगाउन आउनेको संख्या निकै कम छ,’ कोल्ड चेन अधिकृत कुँवरले भने, ‘आएको खोप पनि फिर्ता गइरहेको छ ।’

उनका अनुसार गत महिना १८ वर्ष माथिका सबैलाई खोप लगाइएको थियो । तर त्यतिबेला खोप केन्द्रमा आउनेको संख्या निकै कम थिए । उनका अनुसार अनुमानित संख्यालाई खोप लगाउन सकिएन । कतिपय भारतबाटै लगाएर आएको र कतिपयले जिल्ला बाहिर लगाएका कारण यहाँ अनुमान गरे अनुसार खोप नलागेको कुँवरले बताए ।

गत वर्ष कोरोना विरुद्धको खोप अभियान सुरु गर्दा धेरैले खोप लगाउन मानेनन् । स्वास्थ्यकर्मीदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिहरू नै खोप लगाएपछि जोखिम हुन सक्ने भन्दै पछि हटे । दोस्रो लहरको संक्रमण फैलिँदा मृत्युदर बढेपछि खोप लगाउनेको संख्या बढ्यो । असार/साउनमा खोप अभियान सुरु गर्दा खोप लगाउन तँछाडमछाड भयो ।

संक्रमण कम भएसँगै अहिले फेरी खोप लगाउनको संख्या घट्दै गएको छ । कतिपयले एक डोज समेत खोप लगाएका छैनन् । उनीहरू खोप लगाउन समेत तयार छैनन् ।

छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा बढिरहेका बेला १२ वर्षमाथिका बालबालिकाहरूलाई खोप दिन सके जोखिम केही कम हुने अनुमान गरिएको छ । अहिले पनि कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । गत साता मात्रै शुक्लाफाँटा नगरपालिकाको एक विद्यालयका शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको थियो ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्