बझाङ  । जयपृथ्वी नगरपालिका–१ पिमी गाउँको कैलाशपति प्राथमिक विद्यालयका शिक्षकहरूलाई विद्यार्थीको पढाइ राम्रो बनाउनेभन्दा स्कुल आएका विद्यार्थीलाई भीरमा लड्नबाट कसरी जोगाउने भन्ने चिन्ता बढी छ । बेमौसमी वर्षापछि कात्तिक २ गते विद्यालयको खेल मैदानमा पहिरो आएपछि दुर्घटनाको चिन्ताले शिक्षक र अभिभावकहरूलाई सताउन थालेको हो ।

‘स्कुलको आधा चौर नै ५० मिटर जति पहिरोले बगाएर भीर जस्तो भएको छ । कति बेला कुन बच्चा त्यहाँबाट खसेर दुर्घटना हुने हो भन्ने चिन्ता लाग्छ,’ विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बिष्टले भने, ‘अन्जान केटाकेटी खेल्दैखेल्दै त्यही पुगिहाल्छन् । स्कुल बिदा नहुन्जेलसम्म एक जना सर/मिसले पहिरो नजिकै ड्युटी बस्नुपरेको छ ।’ उनले पालैपालो शिक्षक, शिक्षिकाले पहिरोको पहरा दिनु पर्दा स्कुलको रुटिङअनुसार कक्षा सञ्चालन हुन नसकेको बताए । ‘पढाइभन्दा ठूलो कुरा त विद्यार्थीको ज्यान हो । कसैलाई तलमाथि भइहाल्यो भने के गर्ने ?’ उनले भने । उनले कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा १ सय १२ जना विद्यार्थीमध्ये अधिकांश ५ देखि ७ वर्ष उमेर समूहका रहेको बताए ।

गाउँको मध्यभागमा रहेको यो विद्यालयको चौरबाट पहिरो खस्दा स्कुलभन्दा तल रहेका १८ वटा घरसमेत जोखिममा छन् । तत्काल पहिरो नियन्त्रणको उपाय नअपनाए हिउँदे वर्षामै पनि गाउँ बग्ने डर रहेको स्थानीयले बताए । ‘घरमाथि पुरै धराप थापे जस्तो छ । थोरै पानी पर्‍यो भने पनि घर बग्ने अवस्था छ,’ स्थानीय लडे सिंहले भने । कात्तिक २ गते नै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँमा रहेको जगदम्बा आधारभूत विद्यालयका सबै संरचना बगायो । विद्यालयका तीनवटा पक्की भवन, शौचालय र खेलमैदानसमेत बाढीले बगाएपछि यहाँका विद्यार्थीहरूका कक्षा अहिले स्थानीयका खेतमा चलिरहेको छ ।

कोरोना महामारीका कारण बिथोलिएको विद्यार्थीको पढाइ लयमा फर्काउनका लागि दसैंको बिदासमेत केहीदिन कटौती गरेर विद्यालय सञ्चालन गरेका यहाँका शिक्षकहरूलाई अब कसरी स्कुल सञ्चालन गर्ने भन्ने समस्या छ । अस्थायी संरचना निर्माण गरेर भए पनि विद्यालय सञ्चालन गरिदिन विभिन्न ठाउँमा अनुरोध गरेका यहाँका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले आश्वासन त पाएका छन् तर पूरा कहिले हुने हो भन्ने कुनै टुंगो छैन ।

‘विद्यालय बगाएपछि खाली ठाउँ कहाँ भनेर खोज्दै कहिले कसैको खेतमा कहिले खुला ठाउँमा कक्षा चलाइरहेका छौं । पानी पर्‍यो भने स्कुल बन्द गर्नुपर्ने अवस्था छ,’ प्रअ लालबहादुर खत्रीले भने, ‘अस्थायी संरचना बनाएर भए पनि स्कुल सहज ढंगले चल्ने वातावरण बनाइदिनुपर्‍यो भनेर पालिकादेखि सदरमुकामसम्म अनुरोध गरेका छौं । अहिलेसम्म कसैले केही सहयोग गरेका छैनन् ।’ खेत र खुला ठाउँको चिसो भुइँमा बसेर पढ्दा विद्यार्थीहरू चिसो लागेर बिरामी हुन थालेको बताए । कक्षा ८ सम्म पढाइ हुने जगदम्बा आधारभूत विद्यालयकामा १ सय ६० विद्यार्थी छन् । थलारा गाउँपालिकाको डिक्ला गाउँको सरस्वती प्राविको हालत पनि उस्तै छ । विद्यालयका दुई वटा भवन पहिरोमा परेर पूर्णरूपमा क्षति भएपछि यहाँका १ सय ३५ विद्यार्थीलाई सडकमा पढाउनुपर्ने शिक्षक जयराम विकले बताए । ‘अहिलेसम्म त रोडमै पढाइ रहेका छौं । पानी पर्‍यो भने कहाँ लगेर पढाउने हो ?’ विकले भने । हिउँदे वर्षा सुरु हुनुअगावै सुरक्षित रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाउन नसके विद्यार्थीको पढाइ बिग्रने उनको चिन्ता छ । ‘कोरोनाले गर्दा यो वर्ष पढाइ नै भएको छैन । अहिले विद्यालय भवन नै रहेनन्,’ उनले भने । खुला ठाउँमा पढाउदा दिउँसो १ बजेपछि चिसो सिरेटो चल्ने भएकोले पूरा समय कक्षा सञ्चालन गर्न नसकिएको उनले बताए ।

पिमी, खातीगाउँ र डिक्लामा जस्तै समस्या अहिले बझाङका ६६ वटा विद्यालयले भोगिरहेका छन् । जिल्लामा शैक्षिक संरचनाहरूको व्यवस्थापन हेर्ने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार बाढी र पहिरोले विद्यालयमा क्षति गर्दा बझाङका ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । ‘कतिपय विद्यालयको कुनै पनि संरचना बाँकी छैन । धेरैजसो भवनको भित्ता चर्किएको छ । थुप्रै भवनको पर्खाल भत्किएको, छाना खल्बलिएको, फर्निचरहरू क्षति भएको छ,’ सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले भने, ‘विद्यालयको खेल मैदान, शौचालय, खानेपानी र पौष्टिक आहार पकाउने भान्साघरमा पनि क्षति भएको छ । हामी विस्तृत विवरण संकलन गरिरहेका छौं ।’ उनले केही विद्यालय अन्यत्रै सार्नुपर्ने अवस्था आएको, थुप्रै विद्यालय नदीकटान र पहिरोको जोखिममा रहेकाले त्यसको पनि तथ्यांक संकलन गर्ने काम भइरहेको बताए । बाढी र पहिरोका कारण जिल्लाभरिका विद्यालयहरूमा १० करोड ८१ लख बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको धामीले बताए ।

उनले बाढीपहिरोबाट क्षति भएका विद्यालयको वर्गीकरण गरेर पूर्ण क्षति भएका विद्यालयमा तत्काल पठनपाठन सुचारु गर्नका लागि आकस्मिक उद्धार कोषबाट व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयलाई अनुरोध गरिएको बताए । ‘मन्त्री र निर्देशकज्यूलाई भेटेरै यहाँको अवस्था जानकारी गराइसकेका छौं । तत्काल अस्थायी संरचना निर्माण गरेर भए पनि पठनपाठन सुचारु गर्नुपर्‍यो भनेर अनुरोध गरेका छौं । अवश्य पनि केही व्यवस्था होला,’ उनले भने ।

वसन्तप्रताप सिंहले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्