सिमकोट । हुम्लाका दुई वटा गाउँपालिकाका साठी वटा विद्यालयहरुमा आगामी माघ पन्ध्र्र गतेबाट पठन पाठन सुरु हुने भएको छ । कोरोना संक्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँ पालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठन–पाठन हुने भएका हो ।

कोरोना संक्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा माघ १५ गतेबाट पठन–पाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले बताए । अन्य सबै काम गर्न हुने तर बिद्यालय बन्द गरि रहनु उपयुक्त नदेखिएको कारण पठन पाठन सुचारु गर्ने निर्णय भएको होे ।

यता सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका भित्रका विद्यालयहरुमा पनि आगामी माघ १५ गतेबाट पठन पाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबिचको बैठकले अब पठन पाठन सुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठन पाठन सुचारु भएको बेला सिमकोट गाउँपालिका भित्रका सबै विद्यलायहरुमा पठन पाठन गर्ने निर्णय स्वागत योग्य भएको अविभावकको भनाई छ । यो समय हुम्लाका विद्यालयहरुमा हिउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै पठन–पाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठन–पाठन सुचारु गर्ने निर्णय भएको होे ।

गाउँपालिकासंगको निर्णय अनुसार अब विद्यालयले पठन–पाठन कार्य कसरी सुचारु गर्ने, विधार्थी तथा बाहिर रहनु भएका शिक्षकलाई खवर गरेर पठन–पाठन सुचारु गर्ने व्यवस्था गर्नु पर्नेछ । कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा ब्यवस्था मिलाएर पठन पाठन सुरु हुनेछ ।

सिमकोट गाउँपालिकामा सामुदायीक र संस्थागत गरि २८ वटा विद्यालय रहेका छन् । पठन–पाठन सुचारु हुने विद्यालयलाई सेनिटाईटर र माक्सको ब्यबस्था पनि गरिने भएको छ । गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठन पाठन सुरु भएको भएपनि कोरोना संक्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ वटा विद्यालयमा पठन–पाठन सुचारु भई सकेको छ । अब नाम्खा, खार्पुनाथ, चंखेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठन–पाठन हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्