खोटाङ ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यपक, शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । वर्ष दिनभित्र शैक्षिक प्रगतीमा उत्कृष्ट भूमीका निर्वाह गरेको मूल्यांकनका आधारमा गाउँपालिकाले दशैं तथा तिहारको शुभकामना आदान–प्रदान कार्यक्रमको अवशरमा उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक, शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

७ वडा रहेको गाउँपालिकामा धिप्लुङ माबि सेम्मा छितापोखरीका व्यवस्थापन समिति अध्यक्ष विनोद राईले उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षको सम्मान पाएका छन् । यस्तै, मावितर्फ महेन्द्रोदय मावि ओख्रे डाँडागाउँका प्रधानाध्यापक केशवकुमार खड्कालाई उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्रदान गरिएको छ । उत्कृष्ट व्यवस्थापन समितिका अध्यक्ष राई र मावितर्फका उत्कृष्ट प्रधानाध्यपक खड्कालाई जनही ३० हजारका प्रदान गरिएको छ ।

यस्तै, आधारभूत विद्यालयतर्फ उत्कृष्ट प्रधानाध्यपक घोषित भएका महेन्द्रतारा आधारभूत विद्यालय मुलाबारीका प्रधानाध्यापक लेखनाथ घिमिरेलाई २७ हजार सहित सम्मान गरिएको छ । गाउँपालिकाभरीमा महेन्द्रोद्धय मावि याम्खाका शिक्षक रमेश खड्का उत्कृष्ट शिक्षक र जनसेवा मावि दिहुँ छितापोखरीकी शिक्षिका लक्ष्मी बस्नेत उत्कृष्ट शिक्षिका घोषित भएका छन् उत्कृष्ट शिक्षक खड्का र शिक्षिका बस्नेतलाई जनही २४ हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । शैक्षिक प्रगतीमा थप हौसला प्रदान गर्नका लागि उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यपक, शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘गाउँ शिक्षा समितिको असोज ९ गतेको बैठकले गठन गरेको पुरस्कार छनौट समिति बनायो, त्यही छनौट समितिले मापदण्ड बनाएर उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यपक र शिक्षक छनौट गर्‍यो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यही सिफारिसलाई गाउँ शिक्षा समितिले अनुमोदन गरेपछि सम्मान एबं पुरस्कार प्रदान गरिएको हो ।’

गाउँपालिकाले २०७६ सालमा लिएको पालिकास्तरीय कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीलाई पनि सम्मान गरेको छ । वार्षिक परिक्षामा प्रथम हुने पञ्चकौशिका मावि भण्डारेघाटका छात्र विवस भुजेल, दोश्रो हुने शान्ति निकेतन मिनाकर्ण मावि सापातेलकी विर्सना भुजेल, तेश्रो हुने महेन्द्रोदय मावि याम्खाकी प्रज्ञा घिमिरे र शान्त्वना हुने सरस्वती मावि कुलागाउँका महेन्द्र परियार सम्मानित भएका हुन् । उनीहरुलाई क्रमशः १६ हजार, १३ हजार ५ सय, ११ हजार र ७ हजार नगद पुरस्कार र सम्मान–पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँपालिकाले स्थापना गरेको सग्रीधन राई अक्षय कोषबाट शान्ति मावि टेम्माबाट २०७६ सालमा गाउँपालिका स्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने स्प्रिया राईलाई छात्रवृत्ति प्रदान गरिएको छ । स्प्रियालाई नगद ५ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै, ‘कोरोना भाइरसले शिक्षामा पारेको असर र नियन्त्रणमा स्थानीय तहको भूमिका’ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्धालय भर्चुअल वक्तृत्वकलामा प्रथम हुने सरस्वती मावि कुलागाउँकी छात्रा सजिना थापा, दोश्रो हुने पञ्चकौशिका मावि भण्डारेघाटका सुजन राई, तेश्रो हुने कृष्ण मावि टेम्माकी सिमाना राई र सान्त्वना हुने महेन्द्रोदय मावि याम्खाकी बालकुमारी अधिकारीलाई क्रमशः ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगद र प्रमाण–पत्र प्रदान गरिएको छ ।

उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यपक, शिक्षक तथा विद्यार्थीलाई गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, याम्खाका वडाध्यक्ष सम्शेरबहादुर कार्की, छोरम्बुका वडाध्यक्ष ईन्द्र बहादुर बस्नेत, बतासेका वडाध्यक्ष लोकेन्द्र राई, सप्तेश्वरछितापोखरीका वडाध्यक्ष पूर्णबहादुर खड्का लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

नागरिकमा खबर ।

प्रतिकृया दिनुहोस्