काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलमार्फत् पाठ्यवस्तु समायोजन ढाँचा आज मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्द्रले ढाँचा बनेको जानकारी गराएको हो । कार्यक्रममा ढाँचाको पूर्णांश भने बाँडिएन । ढाँचाको मुख्य अंशहरु समेटी शिक्षामन्त्रीको वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । शिक्षा मन्त्रालयले यही १९ भदौमा जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार गरिने शिक्षण तथा मूल्याङ्कन विधिका निम्ति सघाऊ पुर्याउन पाठ्यवस्तु समायोजन ढाँचा ल्याइएको हो ।

‘विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुनेगरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यव्रmमका पाठ्यवस्तुु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको छ,’ मन्त्रीको वक्तव्यमा भनिएको छ । यसलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुुलाई समायोजन गर्नुपर्ने आवश्यकता रहेको मन्त्रीको वक्तव्यमा उल्लेख छ ।

नेपालको भूभाग र सीमानासम्बन्धी स्वाध्याय सामग्री

यसैबीच, मन्त्री पोखरेलले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित ‘नेपालको भूभाग र सीमानासम्बन्धी स्वाध्याय सामग्री’ पनि सार्वजनिक गरेका हुन् । हालै सरकारले जारी गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतलाई यस स्वाध्याय पुस्तकमा समेटिएको बताइएको छ । देशका सीमा स्तम्भ र पछिल्लो नक्साबारे यस सामग्रीमा जानकारी दिइएको छ ।

पाठ्यवस्तुु समायोजनका लागि एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको बताइएको छ । यी सिद्धान्तका आधारमा तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्न सक्नेछन् । पाठ्यवस्तुु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमूना ढाँचा यसमा प्रस्तुत गरिएको छ । यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्नेगरी प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।

विद्यार्थीको सिकाइको मूल्याङ्कन प्रमाणका आधारमा गर्नुपर्नेमा ढाँचामा जोड दिइएको छ । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनु पर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ,’ मन्त्री पोखरेलले वक्तव्यमा भनेका छन्, ‘मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ ।’

पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिकका क्रममा पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहाल र मन्त्रालयका प्रवक्ता दीपक शर्मा मन्त्रीका साथमा थिए ।

 

प्रतिकृया दिनुहोस्