प्रिय विद्यार्थी भाइबहिनीहरु,
हामी सबैलाई थाहा छ, यतिखेर सिंगो विश्व नै कोराना महामारीसँग जुधिरहेको छ, करोडौं मानिसहरु जीवन र मरणको दोसाँधमा छन, कोराना संक्रमित भएर पुर्नजीवन पाउन संर्घषरत छन् । लाखौँ मानिसहरुको जिन्दगीको यात्रामा पुर्णविराम लागेको छ, संसारभरका मान्छेहरु संक्रमित भइएला भनेर त्रसित छन्, संत्रासमा बाँचिरहेका छन् । हामी पनि कोराना महामारीको चपेटामा परेका छौँ, तपाई हाम्रो प्यारो मातृभुमि, जन्मभुमि नेपालमा पनि खतराको घण्टी बजिसकेको छ । तपाइहरुले समाचार पढेर, सुनेर पक्कै थाहा पाइसक्नु भएको छ, हाम्रो देशमा पनि कोराना संक्रमितको संख्या चालिस हजार पुग्नै लागेको छ, मृतकको संख्या दुुई सय नाघिसकेको छ । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय तथा विज्ञहरुले समेत कोराना संक्रमणको ग्राफ हाम्रो देशमा पनि निकै बढ्ने प्रक्षेपण गरिरहेका छन् । खराब समय चलिरहेको छ ।

प्रिय भाईबहिनीहरु,
यही महामारीबाट जोगिन, यही महामारीलाई नियन्त्रण गर्न हामीले चार महिना लामो लकडाउन वेर्होन बाध्य भयौँ । अझैँ पनि करिब पाँच दर्जन जिल्लाहरुमा निषेधाज्ञा नामको अघोषित लकडाउन जारी नै छ । संघीय सरकारले शैक्षिक संस्था माथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको तथ्यबारे तपाईहरु जानकार नै हुनुहुन्छ । तपाई हाम्रो चैत महिनायता प्रत्यक्ष भेटघाट भएको छैन, कक्षा कोठामा साक्षात्कार गर्न पाइरहेका छैनौँ, भलाकुसारी गर्न पाइरहेका छैन, तपाईहरुसँग प्रत्यक्ष अन्र्तक्रिया गर्न नपाउदा हामी शिक्षकहरुलाई नरमाइलो लागिरहेको छ, नियास्रो लागिरहेको छ । तसर्थ हामी शिक्षक साथीहरुको तर्फबाट तपाईहरुलाई म यो खुला पत्र लेख्न गइरहेको छु ।

प्रिय भाइबहिनीहरु,
अहिले हामी खुला कारागारका कैदी जस्तो भएका छौँ, वन्द कोठामा कैद भएका छौँ । हामील चाहेको ठाँउमा जान पाएका छैनौँ, चाहेको काम गर्न पाएका छैनौँ । हाम्रो जनजीवन नराम्रो संग प्रभावित भइरहेको छ । हाम्रो पठनपाठन नभएको पनि पाँच महिना पुरा भइसकेको छ । बाल्यकालमा अकल्पनीय महामारीको सामना गर्नु पर्दा पक्कै पनि तपाईहरु सामान्य अवस्थामा हुनुहुन्न । तपाईहरु यतिखेर आत्तिनु भएको छ, अत्तालिनु भएको छ, विचलित हुनु भएको छ, आतंकित हुनुभएको छ, वेचैन अवस्थामा हुनुहुन्छ । एकातिर यो महामारीको भुमरीबाट जोगिन सकिन्छ कि सकिदैन भन्ने त्रास छ भने अर्कोतिर महिनौँ देखि पठनपाठन हुन नसक्दा जिन्दगी तहसनहस हुन्छ कि भन्ने अर्को सन्त्रास छ ।

एउटा गीत पक्कै सुन्नुभएको होला, ज्यान रहे हजार, ज्यानै गए डुब्यो संसार … हाम्रो पहिलो प्राथमिकता भनेको बाँच्नु हो, जीवनको रक्षा र सुरक्षा हो । तसर्थ संसारका परिवर्तनहरु देख्नको लागि, तपाईहरुका सपना पुरा गर्नका लागि, लक्ष्य, उद्देश्यहरु हासिल गर्नका लागि पनि बाँच्नुपर्छ । तपाईहरुलाई मेरो अनुरोध छ, तपाइहरुले आफ्नो जिन्दगीलाई न रहे बाँस, न बजे बाँसुरी नबनाउनुहोला ।

कोरानालाई हाउगुजी नबनाउनुहोला, लापरबाही पनि नगर्नुहोला । काम नपरी लुखुरलुखुर गाँउघरतिर नघुम्नुहोला, भीडभाड भएको ठाँउमा नजानुहोला । मास्क र सेनेटाइजरको प्रयोग गर्नुहोला, नियमीत साबुन पानीले हात धुन नविर्सनुहोला । सुरक्षाका उपायहरु र सर्तकर्ता अपनाउनुहोला । कसरी सुरक्षित हुने भन्ने बारेमा रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको माध्यमबाट तपाइहरुले धेरै कुरा थाहा पाइसक्नुभएको छ, विद्यालय बन्द हुनु अगाडि विद्यालयमा, कक्षाकोठामा समेत हामीले यस विषयमा पर्याप्त जानकारी दिइसकेका छौँ । शिक्षा हासिल गर्नुको मुल उद्देश्य भनेकै जानेका कुरा व्यहारमा उर्ताने हो, सिकेका कुरा प्रयोग गर्ने हो । कोरानाबाट जोगिन जाने, बुझे, सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्नुहोला । यो रोग लागे मरिन्छ भन्ने मात्र दिमागमा नराख्नुहोला । “स्वास्थ्य नै धन” हो भन्ने मुलमन्त्रलाई सदैव आत्मसाथ गर्नुहोला । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो हो भन्ने तपाईहरुलाई थाहा नै छ । फेरी औषधी, उपचारको विकास नभएको र लक्षणको आधारमा सिमित उपचार हुने यो रोग लाग्न नै नदिनु श्रेयस्कर हो । बाचौँ र बचाऔँ भन्ने शुत्र प्रयोग गरेर आफु, आफ्नो परिवार, छिमेकी र सिंगो समाजलाई नै सुरक्षित राख्न सकेको कोसिस गर्नुहोला, तपाईहरु सबैको स्वास्थ्य लाभको कामना छ ।

प्रिय भाइबहिनीहरु,
पठनपाठन अवरुद्ध छ, शैक्षिक सत्र शुरु भएको छैन । अब कहिले विद्यालय शुरु हुन्छ भनेर अन्यौल छ, हामी सबै निकै अलमलमा परेका छौँ । सरकारले भर्ना, परिक्षा लगायतका कामहरु पनि असोज एक गतेसम्मको लागि बन्द गरेको छ । औपचारिक रुपमा पठनपाठन नभए पनि अनौपचारिक रुपमा वैकल्पिक विधिबाट भए पनि पठनपाठन चलिरहेको छ । टेलिभिजन, रेडियो, अनलाईनबाट पठनपाठन भइरहेको छ । कतिपय भाइबहिनीहरुले यसको लाभ उठाइराख्नुभएको छ होला, कतिपय यसको पहुँचमा पनि हुनुहुन्न होला । करिब ५४ लाख नेपाली बालबालिकाहरु दूरशिक्षाको पहुँचबाट वञ्चित रहेको तथ्य बाहिर आएको छ ।

नियमित विद्यालय जान नपाउदा, पठनपाठनमा सहभागी हुन नपाउदा पक्कै पनि खिन्न हुनुभएको छ होला । हामी सबै समयको प्रवाह सँगै चल्न सिक्नुपर्छ, परिवर्तित समय अनुसार चल्न सक्नुपर्छ । तपाईहरु निश्चय पनि डिजिटल पुस्ता हो, प्रविधिको दुनियाँमा हामी अधिकांश शिक्षकहरु बामे सरिरहेका छौँ, तपाईहरु दौडिरहनु भएको छ । आशा छ, प्रविधिको प्रयोग गरेर केही मात्रामा भए पनि लाभ उठाइरहनु भएको छ । मर्नु भन्दा बहुलाउनु वेश भन्छन्, प्रत्यक्ष रुपमा कक्षाकोठामा हाम्रो सामुन्ने वसेर सिक्न नपाए पनि भाईबहिनीहरुमा सिकाइको चाहना पक्कै मरेको छैन भन्ने मेरो पुर्ण विश्वास रहेको छ ।

विद्यालय आज खुल्छ, भोली खुल्छ भन्दा भन्दै कुरेर बसेको, पर्खेर बसेको छ महिना भइसकेछ, हाम्रा आशा, अपेक्षा र चाहनाहरु निराशामा परिणत भइरहेका छन्, तपाइ हामीलाई माछो माछो भ्यागुतो भइरहेको छ । यस विचमा अनेकन हल्लाहरु चलिरहेका छन्, चर्चा परिचर्चा हुने गरेका छन् । भाइबहिनीहरुले भुपी शेरचनको कवितामा यो हल्लै हल्लाको देश हो भनेर पक्कै पढ्नु भएको छ होला । अब शैक्षिक सत्र नै खेर जाने भयो, भविष्य नै नर्क हुने भयो भनेर प्रचारबाजी गरिएका छन् । अभी नहीँ तो कभी नहीँ भनेझैँ अब कहिल्यै विद्यालय जान पाइदैन जस्तो गरी स्याल हुइया मच्चाइएका छन् । यस्ता हल्लाबाट नानी बाबुहरु पक्कै पनि प्रभावित हुनुहुन्छ होला ।

हामीलाई थाहा छ, सबैले तपाईहरुको मनोबल खस्काउने कुरा मात्र गरिरहेका छन् । यो समय सबैका लागि अत्यासलाग्दो, पट्यारलाग्दो र दिक्कलाग्दो छ, हाम्रा दैनिकीहरु नराम्ररी प्रभावित भइरहेका छन् । यस्तो कहालीलाग्दो क्षणमा समेत शासक, प्रशासक, मिडिया तथा शिक्षाविद्हरुले शिक्षकहरुको मात्र मनोबल गिराइरहेका छैनन्, अभिभावकहरुलाई पनि विचलित बनाइरहेका छन्, तपाइहरु जस्ता बालबालिकाहरुलाई समेत आतंकित बनाइरहेका छन् । साना साना नानी बाबुहरुको भविष्य चौपट भयो, अन्धकारमय भयो, खत्तम भयो, समाप्त भयो, उनीहरुको जिन्दगी नै तहसनहस भयो, अब उनीहरु कहिल्यै उठ्न नसक्ने गरी थला परिसके जस्तो गरी हौवा फिजाइएको छ । शैक्षिक सत्र खेर जाने भयो, सबथोक सकियो, रित्तियो भनेर निकै हल्लाखल्ला मच्याइएका छन् ।

कृपया यस्ता वाहियात, हावादारी, बकम्फुस्से कुराको पछाडि नलाग्नुहोला, विचलित नहुनुहोला । कागले कान लग्यो भनेर कागको पछाडि दौड्ने होइन, आफ्नो कान छाम्ने काम गर्नुहोला । तपाईहरु क्षमताको खानी हो, संभावनाको खानी हो । भविष्यको कर्णधार मात्र होइन वर्तमानको साझेदार पनि हो । तपाइहरुको भविष्य अन्धकार भएको छैन, तहसनहस भएको छैन, तपाईहरु पक्कै सफल हुनुहुनेछ । ढुक्क भएर स्वाध्ययन गनुृहोस् । अध्ययनका क्रममा कुनै जटिलता भए हामीलाई फेसबुकमा भेट्नुहोस्, फोनमा सोध्नुहोस् । केवल एक मिसकल गर्नुहोस्, हामी सहायताका लागि हरपल तम्तयार भएर बसेका छौँ ।

प्रिय भाइबहिनीहरु,
जिन्दगीमा यस्ता समस्याहरु, कठिनाईहरु, अफ्ठ्याराहरु आइरहन्छन्, जिन्दगीका हरेक क्षणहरुमा, हरेक मोडहरुमा यस्ता चुनौतीहरुको बाढी आइरहन्छ । यसबाट हामी भाग्ने होइन, आत्तिने होइन, मनोबल कमजोर बनाउने होइन, डटेर प्रतिरोध गर्ने हो, जमेर सामना गर्ने हो । जिन्दगी समथर तराइको राजमार्ग मात्र होइन, हिमाल र पहाडका उकाली ओराली पनि हो, भीर पाखाहरु पनि हो, कुना कन्दरा पनि हो ।

जिन्दगी कहिल्यै पनि सरल रेखामा हिड्दैन । हामी जो कोहीको जिन्दगी हामीले चाहे जस्तो, खोजे जस्तो, सोचेजस्तो, कल्पना गरे जस्तो नहुन सक्छ । जिन्दगी र संघर्ष, जिन्दगी र चुनौती एक अर्काका पर्याय हुन । यस्ता अकल्पनीय, अनपेक्षित क्षणहरु सधैँ सधैँ आइरहन्छन् । समस्या देखि भागेर समाधान भेटिदैन, समस्यामा टेकेर नै समाधान खोज्ने हो । समस्या संग जुझ्दै, झेल्दै, पौठेजोरी खेल्दै अगाडि बढ्ने हो । हरेक समस्याको समाधान छ, हरेक चुनौती सँगै अवसर छ । फरक यत्ति मात्र हो, असफल मान्छेहरुले हरेक अवसरमा चुनौती देख्छन् भने सफल मान्छेहरुले हरेक चुनौतीमा अवसर देख्छन् । यो समस्याको पनि समाधान पनि भेटिनेछ, यो कहालीलाग्दो क्षणको पनि पक्कै अन्त्य हुनेछ ।

प्रिय भाइबहिनीहरु,
दुःखको साथ भन्नुपर्छ, तपाई र हाम्रो सम्बन्धमा दरार ल्याउने प्रयास पनि गरिएको छ, फाटो ल्याउने प्रयत्न गरिएको छ । शिक्षक प्रति नकारात्मक भावना प्रवाह गराउने कोसिस पनि गरिएको छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल सबैतिर शिक्षकहरुको खेदो खनिएको छ । विद्यार्थीहरुको भविष्यप्रति शिक्षक संवेदनशील भएनन्, चिन्ता गरेनन भनेर भड्काउन खोजिएको छ । हामी विश्वस्त छौँ, तपाई हाम्रो सम्बन्ध काँचको टुक्रा होइन, परालको त्यान्द्रो होइन, कसैले चाहदैमा टुट्ने छैन, चुडिने छैन । तैपनि मन न हो, कहिलेकाहीँ बरालिन सक्छ, भड्किन सक्छ । खोज्दै जाँदा चन्द्रमा पनि दाग भेटिन्छ, हामीमा पनि केही कमी कमीजोरी निश्चय पनि होलान् । हामी सच्याउन तयार छौँ, सच्चिन तयार छौँ । तपाईहरु विवेकशील हुनुहुन्छ, अहिलेको विषम परिस्थितिको बारेमा तपाईहरु जानकार नै हुुनुहुन्छ । त्यसकारण कसैले चिच्याई चिच्याई गाली गरेको भरमा तपाई शिक्षकहरुप्रति नकारात्मक हुने अलिकति पनि संभावना छैन । त्यस्ता हल्लाहरुबाट कदापि विचलित नुहुनुहोला ।

हाम्रो तत्कालका लागि सम्पर्क विच्छेद भएको हो, सम्बन्ध विच्छेद भएको होइन, हामी भौतिक रुपमा मात्र संगै रहन नपाएको हो, हाम्रो मन मस्तिष्कमा तपाईहरु नै हुनुहुन्छ । हामी तपाईहरुको भविष्य प्रति चिन्तित छौँ, गम्भीर छौँ, तपाईहरुको सुन्दर भविष्यको बारेमा सोचिरहेका छौँ । तपाईहरु प्रति हाम्रो माया, समर्पण पहिले भन्दा बढ्दै गएको छ, हाम्रो सम्बन्ध सधै प्रगाढ र बलियो रहिरहने छ । समय र परिस्थितिले हामीले हरेक दिन भेट्न पाएका छैनौँ, साक्षात्कार गर्न पाएका छैनौँ । बन्द कोठामा कैद हुुनुपर्दा हामीले तपाइहरुलाई नै मिस गरिरहेका छौँ, सम्झीरहेका छौं । तपाइहरुका चञ्चलेपन, मेहनत, प्रतिभा हामीले मिस गरिरहेका छौं। तपाइहरुलाई योग्य, सक्षम, दक्ष, इमानदार नागरिक बनाउने जिम्मेवारी र कर्तव्य हामीले भुलेका छैनौँ । हामीले हाम्रो धर्म इमानका साथ निर्वाह गर्नेछौँ ।

हामीलाई थाहा नै छ, प्रकृतिले बाह्र घण्टा दिन र बाह्र घण्टा रात बनाएको छ । दिन पछि रात अवश्य पनि आउँछ, त्यो सुनौलो बिहानी हरेक रातपछि आँउछ, सुर्यका किरणहरु हरेक बिहानीमा उदाउछन र हरेक साँझमा अस्ताउछन् । यो प्राकृतिक नियम हो, शाश्वत सत्य हो । अहिले समय खराब चलिरहेको छ, अँध्यारो रात चलिरहेको छ । तर पनि मडारिएको कालो बादल भित्र पनि चाँदीको घेरा हुन्छ भन्छन् । चाँदीको घेरा देखिएको छ, आशाका किरणहरु देखिएका छन् । कोराना विरुद्धका खोपहरु धमाधम परिक्षण भइरहेका छन्, अमेरिका, वेलायत, चीन, रुस, भारत लगायतका दर्जनौँ देशहरु खोपको परिक्षण गरिरहेका छन् । यो महामारीबाट मुक्ति दिलाउन बैज्ञानिकहरु अहोरात्र खटिरहेका छन्, विकसित देशहरु खरो उत्रिरहेका छन्, कडा प्रतिस्पर्धा गरिरहेका छन् । आशा गरौँ, विश्वास गरौँ, धैर्य गरौँ, प्रतिक्षा गरौँ, एक दिन अवश्य त्यो दिन आउनेछ । हामी चाँडै नै पहिले जस्तै कक्षा कोठामा भौतिक रुपमा नै भेट्ने छौँ । मेरो अपेक्षा छ, अब प्रत्यक्ष रुपमा भेट्दा तपाइहरुलाई अझ मेहनती भएको देख्नेछौँ, अझ आत्मविश्वासी भएको पाउनेछौँ, अझ परिश्रमी र लगनशील भएको महसुस गर्नेछौँ । तपाईहरु आफ्नो सपना पुरा गर्न, आफ्ना लक्ष्य, उद्देश्यहरु हासिल गर्न अझ दृढ र प्रतिवद्ध भएर कक्षा कोठामा उपस्थिति हुनु हुनेछ ।

(लेखक शिक्षक तथा नेपाल खुला विश्वविद्यालयका एम. फिल. तहका शोधार्थी हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस्