सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको एक विद्यालयका विद्यार्थी वर्षाले भत्काएको कक्षाकोठामा पठन–पाठन गर्न बाध्य छन् । विद्यालय सञ्चालनमा आएको र अन्य विकल्प नभएपछि भत्केकै कक्षा कोठामा पढ्न विद्यार्थीहरु बाध्य भएका हुन् ।

ताँजाकोट गाउँपालिका वडा नम्बर ४ को चन्द्र प्रकाश माध्यामिक विद्यालयका चार वटा कोठा वर्षाले भत्काए पनि तिनै भत्केका कोठामा विद्यालयले पठन–पाठन गरिरहेको विद्यालयका प्रधानाध्यापक धिरेन्द्र बहादुर सिंहले बताए । ती कोठाको एकातिर पुरै भत्केको छ । लगातारको वर्षाकै कारण विद्यालयका चारवटा कोठा भत्काएको हो ।

गत साउन १५ गतेबाट पठन–पाठन सुरु भएको उक्त विद्यालयसँग पठन–पाठनको अन्य विकल्प नभएपछि भत्केकै कोठामा डर त्रासकाबिच पढाउन परेको शिक्षक प्रदिप जैशीले बताए ।

विद्यार्थी पनि कक्षामा डराई–डराई बस्ने गरेको उनले बताए । अन्यत्र व्यवस्था नभएको र बाहिर वर्षाको कारण पठन–पाठन गर्न नमिल्ने भएपछि तिनै कोठामा पढाइ सुचारु गर्नु परेको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा कक्षा एक देखि दशसम्म २१५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्