हिमाली जिल्ला हुम्लाका विद्यालयमा धमाधम पढाइ सुरु हुन थालेका छन् । कोरोना संक्रमणको त्रासका कारण अवरुद्ध विद्यालय धमाधम सुचारु हुन  थालेका हुन् । विद्यालयहरुले जनस्वास्थ्यको सुरक्षा विधि अपनाउन दुई सिफ्टमा पढाइ सुरु गरेका छन् ।

हुम्लामा बिहीबारसम्म पचपन्न दशमलव त्रिसट्टी प्रतिशत सरकारी तथा निजी विद्यालयमा पठन–पाठन सुरु भएको छ । चार महिना भन्दा बढी समय विद्यालय बन्द हुँदा पनि जिल्लामा कोरोना संक्रमण नदेखिएपछि गाउँपालिकाहरुले पढाइ सुचारु गर्ने निर्णय गरेका हुन् ।

सिमकोट गाउँपालिकाको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार गाउँपालिकाका २३ वटा सामुदायिक तथा पाँच वटा निजी विद्यालय गरि २८ वटा विद्यालयमा बिहीबारबाट एकसाथ पठन–पाठन सुरु भएको छ ।

पठन–पाठन सुरु भएका विद्यालयहरुमा जनस्वास्थ्यका सुरक्षा मापदण्ड र अन्य सुरुक्षा विधि अपनाएर पठन–पाठन सुरु गरिएको छ । विद्यालयमा पठन–पाठन सुरु गर्न गाउँपालिकाले निर्णय गरेको थियो । प्रधानाध्यापक रोकायाले विद्यालयमा बिहान र दिउँसो गरि दुई सिफ्टमा पठन–पाठन सुरु भएको बताए । पठन–पाठनका बेला विद्यार्थीलाई एउटा बेन्चमा दुई जना बस्ने र अनिवार्य शिक्षक र विद्यार्थीले माक्स प्रयोग गर्ने पर्ने व्यवस्था गरिएको छ । पाँच सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा यस अघि क्वारेन्टिन रहँदै आएको भएपनि निर्मुलीकरण गरिएको थियो ।

हुम्लामा कुल १४२ सरकारी र निजी विद्यालयहरु रहेका छन् । त्यस मध्ये खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा यस अघि नै पठन–पाठन सुरु भइसकेको छन् । अब हुम्लाका चार वटा गाउँपालिकाका ७९ विद्यालयमा पठन–पाठन सुरु भएपछि पचपन्न प्रतिशत विद्यालयमा पठन पाठन सुरु भएको हो ।

ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार पठन–पाठन सुरु भएका सबै विद्यालयमा सुरक्षाका बिधि र सामाजिक दुरी कायम गरि पठन पाठन गरिएको छ । त्यसै गरि केही विद्यालयले सावुन पानीले हात धुने ब्यबस्था पनि गरेका छन् । अब हुम्लाका सर्केगार्ड, चंखेली र अदानचुली गाउँपालिकाका गरि ७३ वटा विद्यालयमा पठन पाठन हुन बाँकी रहेको छ ।

अहिले पठन–पाठन भएका विद्यालयबाट आठ हजार भन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । कोरोना त्रासको डरले जिल्लामा आएका कतिपय विद्यार्थीहरुले पनि हुम्लामा पढाइ सुरु गरेका छन् ।

प्रतिकृया दिनुहोस्