काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि पहिले सम्पूर्ण शिक्षक र विद्यार्थीको पिसिआर परीक्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षक विद्यार्थीको पिसिआर परीक्षण गरी निश्चित क्षेत्रहरुलाई शिल गर्दै विद्यालय खुलाउँदै जानुपर्नेमा उनीहरुको जोड थियो ।

पछिल्लो दिनमा कोरोना संक्रमण झनै बढीरहेकाले शिक्षक, विद्यार्थी र अभिभावकमा थप त्रास देखिएको भन्दै विद्यालय खोल्न हतार गरे पछि भयावह अवस्था आउन सक्ने सरोकारवालाहरुले चेतावनी दिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र शिक्षा पत्रकार समाजले आइतबार आयोजना गरेको भर्चुअल अन्तक्रियामा बोल्दै उनीहरुले सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी संघीय सरकारले कार्यविधि ल्याउनुपर्ने सुझाबसमेत दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यढाँचा ल्याउने तयारी गरेका बेला सरोकारवालाहरुले सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यढाँचा जारी नगर्न पनि शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन् ।

शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको सुनिश्चिततापछि मात्रै विद्यालय खोल्न वा कम जोखिम भएका ठाउँमा मात्रै पिसिआर परीक्षण गरी विद्यालय सञ्चालनका लागि उनीहरुको सुझाव थियो । सरकारले आगामी भदौ १ देखि चालू शैक्षिक सत्रका लागि भर्नाका कार्यक्रम सञ्चालन गर्न यसअघि निर्णय गरिसकेको छ भने विद्यालय सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई तयारीमा रहन आग्रह गरिरहेको छ । हाल सूचना प्रविधिको सहयोगमा वैकल्पिक प्रणाली माध्यमबाट सिकाइ निरन्तरता भइरहेको छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विद्यालयमा सुरक्षाको जोखिम भएका र नभएका ठाउँको पहिचान गरी जोखिम भएका ठाउँमा शिक्षक, विद्यार्थीको कोरोना परीक्षण गरी विद्यालय खुलाउन सकिने बताए । उनले केन्द्र सरकारले आदेश दिने र स्थानीय तहले मान्ने प्रवृत्ति संघीयतानुकूल नभएकाले विद्यालय खोल्ने काम स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको भएको स्पष्ट पारे ।

जोखिम कायमै रहेमा निरन्तर वैकल्पिक प्रणाली, स्वयंसेवक परिचालन, टोलटोलमा शिक्षक परिचालन आदि तरिकाबाट नै सिकाइ निरन्तरता दिन सकिने भन्दै प्राडा कोइरालाले पालिका–पालिकास्तरमा अफलाइन सिकाइ केन्द्र स्थापना गरिनुपर्ने बताए ।

शिक्षा मन्त्रालयले निरन्तर हावादारी काम र निर्णय मात्रै गरिरहेको भन्दै कोइरालाले ६ महिनामा सक्ने गरी पाठयोजना बनाउने पञ्चकन्या आधारभूत विद्यालयकी प्रअ बिनिता रञ्जितको काम मन्त्रालयको भन्दा हजार गुणा राम्रो भएको तर्क गरे । प्राडा कोइरालाले भने–‘हतारिएर विद्यालय खोल्ने होइन, विकल्प सोची राखौं ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय यस शैक्षिक सत्रमा विद्यालय सञ्चालन नै नभएकाले पुनः सञ्चालन भन्ने शब्दावलीको साटो कार्यविधिमा सञ्चालनका शब्दावली हुनुपर्ने र खुलाउने अधिकार स्थानीय तहमा हुनुपर्ने बताए । शिक्षा मन्त्रालयले बिहान एउटा, बेलुका एउटा निर्णय गर्दा झनै अन्यौलता छाएको भन्दै सापकोटाले शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई नजरअन्दाज गरेर विद्यालय खोल्न नसकिने स्पष्ट पारे । अब विद्यालय खुलेपनि पहिले जसरी सञ्चालन गर्न नसकिने २–३ घण्टा भौतिक रुपमा र बाँकी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

विव्यस महासंघका अध्यक्ष कृष्ण थापाले विद्यालय पुनःसञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने आग्रह गर्दै विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ सालको मस्यौदामा सामुदायिक विद्यालयको प्रतिनिधिमूलक छाता संगठनको अगुवाइमा विद्यालय व्यवस्थापन समिति सक्रियता बढाइ विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य सुरक्षाको विधि अपनाउने गरी प्रबन्धन नगरिएकामा महासंघले ध्यानाकर्षण गराइएको बताए ।

महासंघका महासचिव गुणराज मोक्तानले विद्यालय खोल्नुपूर्व अभिभावको परामर्शमा हाल विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसन कक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनो–सामाजिक सत्र सञ्चालन गर्ने, विद्यालयमा सेनिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचार कक्ष स्थापनासमेत गराउन सरकारलाई लिखित निवेदन दिइसकिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्