सिमकोट । हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरुमा पठन–पाठन सुरु भएको छ । कोरोना संक्रमणको त्रासमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालनको निर्णय गरेको हो ।

उत्तरी नाम्खा र दक्षिणतिरका खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका गरि ५१ विद्यालयमा साउन महिना लागेसँगै पढाइ सुरु भएको हो ।

यसअघि खार्पुनाथ गाउँपालिको साउन ५ गतेबाट गाउँपालिका भित्रका १७ वटा विद्यालयमा पठन–पाठन सुरु गरेको थियो भने साउन ११ गते नाम्खा गाउँपालिकाले आफ्ना १६ वटा विद्यालयमा पठन–पाठन गरेको थियो ।

बिहीवार अर्थात् साउन १५ गतेबाट ताँजकोट गाउँपालिकाले आफ्ना १८ वटा विद्यालयमा पढाइ सुरु गरेको छ । ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले लामो समयको बन्दाबन्दीले बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठन–पाठन सुरु भएको बताए ।

गाउँपालिकाका सबै विद्यालयमा पठन–पाठन सुरु गर्ने निर्णय गाउँ कार्यपालिकाले एक हप्ता अगाडि गरेको थियो । अध्यक्ष मल्लका अनुसार पठन–पाठन सुरु हुनु अघि क्वारेन्टिन निर्माण गरिएका कक्षा कोठालाई निर्मुलीकरण गर्ने कार्य भएको थियो ।

सरकारले हुम्ला जिल्लालाई कोरोना संक्रमण मुक्त जिल्ला घोषणा गर्नु र हालसम्म जिल्लामा कोरोना संक्रमणका घटना नभए पछि विद्यालय सुचारु गर्ने निर्णयमा गाउँपालिका पुगेको थियो । माध्यामिक र आधारभुत गरि ताँजाकोटमा १८ वटा विद्यालय रहेका छन् ।

पठन–पाठन सुरु भएको पहिलो दिनमै विद्यार्थीको उपस्थिती उत्साहजनक रहेको छ । ताँजाकोटका गाउँपालिकाका सबै विद्यालयमा दुई हजार पाँच सय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

पठन–पाठनका बेला विद्यालयमा जनस्वास्थ्य सुरक्षा र सुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउदै गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले हाललाई गाउँमै बस्दै आएका स्थानीय शिक्षकबाट पठन–पाठन शुरु गरिएको बताए ।

जिल्ला बाहिर रहेका शिक्षकलाई साउन २२ गतेसम्म आई पुग्न निर्देशन दिइएको उनले जानकारी दिए । बाहिरबाट आउने शिक्षकका लागि आरडिटी परिक्षण पछि आउने रिपोर्टका आधारमा मात्र विद्यालयमा पठाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।

प्रतिकृया दिनुहोस्