काठमाडौँ । माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै पाठ्यक्रमलाई समेत समेट्न नसकेको पाइएपछि यसलाई कडाइका साथ नियन्त्रण गरिने भएको हो ।

अब कक्षा ११ र १२ का सबै पाठ्यपुुस्तक पाठ्यक्रम विकास केन्द्रमा पूर्वस्वीकृतिका लागि पेस गर्नुपर्ने र सूचीकरण गरिएपछि मात्रै प्रकाशन गर्न पाइने प्रावधान यसै वर्षबाट कार्यान्वयनमा ल्याइने भएको छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले लेखकले पुस्तक तयार पारेपछि स्वीकृतिका लागि पेस गर्नुपर्ने र स्वीकृति दिएपछि प्रकाशनको अनुमति दिइने जानकारी दिनुभयो ।

कक्षा ११ मा यसै पटकबाट नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयसँगै हालसम्म पाठ्यपुस्तक लेखकले १५० वटा पुस्तक सूचीकृत गर्नका लागि पेस गरेको जानकारी उहाँले दिनुभयो । नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा गरी तीनवटा विषयका पुस्तक प्रकाशन सरकारी स्तरबाटै हुनेछ । अन्य ऐच्छिक विषयको प्रकाशन भने सरकारले नगर्ने भएको छ । यसरी पेस गरिएका पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषाशैली, विषयवस्तु, पाठ्यक्रमलाई अनुसरण गरे÷नगरेको लगायतका आधारमा विज्ञहरूको टोलीबाट त्यसको मापन गरिने भएको छ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद् मातहतमा दस जोड दुई तहको कक्षा सञ्चालन हुँदा लेखकले आफूखुसी पुस्तक प्रकाशन गर्ने र त्यसलाई नै विद्यार्थीले प्रयोग गर्ने गरिएको थियो तर अब कक्षा १२ सम्म विद्यालय तह मानिएका कारण पाठ्यपुस्तकलाई पनि सोही अनुसार नै व्यवस्थापन गर्न लागिएको जानकारी अधिकारीले दिएका छन् ।

७० प्रतिशत अङ्क अनिवार्य
यसरी पेस भएका पुस्तकलाई विशेषज्ञबाट मूल्याङ्कन गर्दा ७० प्रतिशतभन्दा बढी अङ्क ल्याए मात्रै त्यसलाई लागू गर्न स्वीकृति दिइने केन्द्रका निर्देशक भट्टराईले जानकारी दिनुभयो । लेखकलाई पाठ्यपुस्तकको स्वीकृति लिन समय थप गरिने उहाँले जानकारी दिनुभयो । यसअघि असार मसान्तसम्म स्वीकृतिका लागि पेस गर्न केन्द्रले समय दिएको थियो ।

सकारात्मक र स्वागतयोग्य
लेखकहरूले इमानदार कार्यान्वयन गरिए पाठ्यपुस्तकको स्वीकृति लिनपर्ने नयाँ प्रावधान सकारात्मक र स्वागतयोग्य भएको बताएका छन् । सामाजिक विषयका लेखक माधव दाहालले यसबाट पाठ्यपुस्तकको गुणस्तर कायम हुने र विद्यार्थीले गुणस्तरीय सामग्री अध्ययन गर्न पाउने वातावरण बन्ने बताउनुभयो । तर यसको कार्यान्वयनमा भने इमानदारिता देखाइनुपर्ने उहाँको भनाइ छ ।

गणित विषयका पाठ्यपुस्तक लेखक दयाराम सिम्खडाले पाठ्यपुस्तक स्वीकृति लिने र त्यसको गुणस्तर मापन गर्ने नीति सकारात्मक भएको उल्लेख गर्दै लेखकलाई यसको स्वीकृति भने समयमै दिइनुपर्ने बताउनुभयो । कक्षा ११ र १२ को नयाँ कक्षा प्रारम्भ हुनुभन्दा कम्तीमा एक महिना पहिले नै पाठ्यपुस्तक सूचीकरणको काम सक्नुपर्नेमा उहाँको जोड छ ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्