घरदेखि पाटीमा पढाइ

Avatar photo

Byएजुकेशन पाटी

१४ श्रावण २०७७, बुधबार ,

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभुत विद्यालय लिलिमाका प्रअ दुर्गाप्रसाद गुरागाईले ‘कुनैबेला पाटीमा गएर विद्यार्थी पढाउनुपर्ला’ भन्ने कल्पनासम्म गरेका थिएनन् । तर कोभिड–१९ ले निम्तिएको महामारीका कारण प्रअ गुरागाईले याम्खाकै एउटा सार्वजनिक पाटीलाई कक्षा कोठा बनाउनु परेको छ ।

लामो समयसम्म कोभिड–१९ कोे असर साम्य हुने अवस्था नभएपछि गाउँपालिकाले अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि टोल–टोलमै कक्षा सञ्चालन गर्न भनेपछि महेन्द्रोद्धय आधारभुत विद्यालयले साउन ७ गतेदेखि एउटा कक्षा पाटीमै सञ्चालन गर्दै आएको छ । लिलिमा र खामडाँडाका विद्यार्थी पुस्तक कापीसहित पाटीमा आइपुग्छन् । शिक्षक पनि शिक्षण सिँकाइका लागि पाटीमै पुग्छन् । अवरुद्ध पठन–पाठन सूचारु गर्नका लागि महेन्द्रोद्धय आविले पाटी वाहेक एउटा सिँकाइ केन्द्र विद्यालयमै बनाएको छ । ‘विद्यार्थी पढाउन पाटीमा पुग्दा अनौठै हुन्छ । कक्षाजस्तो हुन्न । विद्यार्थीको बसाइ पनि विद्यालयमा जस्तो हुन्न,’ प्रअ गुरागाईले भने, ‘हामीले सिँकाइमा सहजीकरण गरिरहेका छौँ । खास अप्ठ्यारो महसुस भएको छैन ।’

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविले पनि पाँच केन्द्र र तीन उपकेन्द्र बनाएर पठन–पाठन सञ्चालन गरिरहेको छ । कतिपय सिँकाइ केन्द्र विद्यालयमै बनाइएका छन्, कतिपय व्यक्तिका घर र आमा समूहको भवनलाई बनाइएको प्रअ मनीकुमार राई बताउँछन् । ‘सुरुमा त विद्यालय बाहिर कक्षा सञ्चालन सम्भव हुन्नजस्तो लागेको थियो तर सुरु गरेपछि सम्भव भयो । झरी वर्षाका बेला बाहेक अहिले सहज पनि भएको छ,’ प्रअ राईले भने, ‘विद्यार्थीको उपस्थिति पनि सोचेभन्दा राम्रो छ । अभिभावक पनि उत्साहित छन् । विद्यालय बाहिरको पठन–पाठन पनि राम्रै हुने रहेछ । वर्षा भएकोबेला समस्या हुन्छ नत्र राम्रो फिडव्याक आइरहेको छ ।’

असार मसान्त बित्दा समेत कोभिड–१९ को असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १५१ वटा केन्द्र निर्धारण गरेर पठन–पाठनलाई सुचारु गराएको हो । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । विद्यार्थी खोज्दै टोलमा पुग्ने शिक्षक÷शिक्षिका तथा विद्यार्थीका लागि मास्क, ग्लोव्स र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । शैक्षित्र–सत्र सुरु भएको तीन महिना बितेपछि गाउँपालिकाले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने बिकल्प छानेको हो ।

खटिएका शिक्षकले पायक पर्ने विद्यालय, आमा समूह, सचेतना केन्द्रको भवन, व्यक्तिकै घर, पाटी लगायतका ठाउँमा भेला भएका विद्यार्थीलाई पढाउने, होमवर्क दिने र मूल्यांकन गर्ने काम गरिरहेका छन् । एक टोलको फरक–फरक स्थानमा दैनिक कक्षा १ देखि कक्षा १० सम्मका एक÷एक विषयको मात्र पठन–पाठनको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए । विद्यालय बाहिरको पठन–पाठनकाक्रममा शैक्षिक सामग्रीको प्रयोग गर्न भने नपाइएको शिक्षक÷शिक्षिकाको भनाई छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् ।

कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो । शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो । हालसम्म सिँकाइ उपलब्धी शुन्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिँकाइ उपलब्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो ।’

पठन–पाठनका आ–आफ्नै तयारी

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराएको छ । गाउँपालिकाका ४३ वटै विद्यालयमा सोमबारदेखि बैकल्पिक माध्यमबाट पठन–पाठन सुचारु गराइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । गत साउन ४ गतेको निर्णय अनुसार गाउँपालिकाले विद्यालय बाहिर रहेका शिक्षक तथा कर्मचारीलाई अनिवार्य पिसिआर परीक्षण गरेर साउन ११ गतेभित्र विद्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

यस्तै, रावाबेँसी गाउँपालिकाले पनि साउन २० गतेदेखि नियमित विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । साउन १५ गतेदेखि परीक्षण कक्षा सञ्चालन गर्ने र साउन २० गतेदेखि नियमित विद्यालय खुलाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । हलेसी तुवाचुङ नगरपालिकाले कोरोनाको महामारीकाबीचमा चालु शैक्षिक–सत्रको अवधि लम्ब्याउने वा रद्ध गर्ने, पाठ्यक्रम छोट्याउने लगायतका विकल्पका विषयमा सुझाव संकलन गरिरहेको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले साउन ३० गते नगर कार्यपालिकाको बैठकबाट कार्यविधि पास गरेर अवस्था बिश्लेषण गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पनि साउन २२ गतेदेखि टोल शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दमन राईले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्