लोकेन्द्र घटाल

सरकारले कोरोना भाइरसको महामारीका कारण बन्द रहेका विद्यालयहरु साउन १ गतेदेखि स्थानीय तहहरूले निर्णय गरेर खोलेर पढाइ सञ्चालन गराउन सक्ने निर्देशन दिएको छ ।

सरकारको सो निर्देशनपछि धेरैजसो स्थानीय तहहरूले त्यहीअनुसार सञ्चालन गर्न सामुदायिक विद्यालयमा पढाउने टाढाटाढाका शिक्षकहरूलाई साउन १ गते जसरी पनि विद्यालय पुग्न निर्देशन दिईसकेका छन् । तर त्यसअघि सरकारले पूरा गर्नुपर्ने आफ्ना यी जिम्मेवारी पूरा गर्यो कि गरेन ? यदि विद्यालय सञ्चालन नै गर्ने हो भने यि कुरामा सरकारले ध्यान दिन आवश्यक छ ।

१. सबै सामुदायिक विद्यालयहरूबाट क्वारेन्टाइन हटायो कि हटाएन ? क्वारेन्टाइन र विद्यालय दुईटै कसरी एकैचोटी सञ्चालन हुन सक्छ ?

२. क्वारेन्टाइन हटाएका विद्यालयहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप निर्मलीकरण गरियो कि गरिएन ?

३. विद्यालय भीडभाड हुने र संवेदनशील क्षेत्र हुनाले सबै मापदण्ड पूरा गरी स्वास्थ्य, सुरक्षा र सतर्कताको ग्यारेन्टी गरेर पढाउन सकिने अवस्था छ कि छैन ? यदि भोलिका दिनमा विद्यालय र समुदायमा संक्रमण फैलिएर लाखौं विद्यार्थी र हजारौं शिक्षकहरूको स्वास्थ्य र ज्यानलाई केही तलमाथि भयो भने यसमा जिम्मेवार को हुने ?

४. टाढा–टाढाबाट आउने शिक्षक, विद्यार्थीहरूको आवातजावतका लागि सुरक्षित तरिकाले लामो र छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन भए कि भएनन् ? नत्र सुप दार्चुलाको शिक्षक पूर्वको ताप्लेजुङसम्म कसरी जाने ? के हिँडेरै जान सम्भव छ ? वा ५०–६० हजार तिरी गाडी रिजर्भ गरेरै जानुपर्ने हो ? यसको विकल्प के ?

५. देशैभरी अविरल बर्षा र बाढीपहिरोले ठाउँ–ठाउँमा सडक भत्किएका छन्, ज्यानको समेत जोखिम छ । यसको समाधान के ?

६. यस्तो अवस्थामा अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउन तयार छन् ? बालबालिकाहरू बिना शारीरिक र मनोवैज्ञानिक डर, त्रास स्वतन्त्रतापूर्वक पढ्न सक्छन् ?

यदि सरकारले सबै मापदण्ड पूरा गरेको हो भने हामी शिक्षकहरू आजैदेखि कार्यक्षेत्र गएर पढाउन तयार छौं ।

बैतडी
कार्यरत–काभ्रेपलान्चोक ।

प्रतिकृया दिनुहोस्