काठमाडौं ।  कोभिड–१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो। यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर बढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन्। कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ।

लकडाउनका कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो। यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो। सो कार्यविधिमा विद्यालयले तीन प्रति विद्यार्थीको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा एकाइमा पठाउनुपर्ने व्यवस्था छ।

विद्यालयले विद्यार्थीले आन्तरिक मूल्यांकनमा प्राप्त गरेको नम्बरलाई बेवास्ता गर्दै अर्कै नम्बर राखेर विवरण पठाएको काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताए। ‘विशेष गरी उपत्यकाका निजी विद्यालयले उल्टो नम्बर दिएर विद्यार्थीको विवरण भरेका छन्। ४८ को ८४, ४९ को साटो ९४ सम्म बनाउन भ्याएका छन्,’ एकाइ प्रमुख पौडेलले  भने, ‘जब कि विद्यार्थीले ७५ नम्बरको मात्र सैद्धान्तिक परीक्षा दिएका छन्। विद्यालयले पठाएको विषयगत नम्बर पूर्णांकभन्दा बढी भएपछि एकाइले त्रुटि भएको भन्दै सच्याउन सोही विद्यालयलाई फिर्ता पठाएको छ।’

उनले थपे, ‘प्राक्टिकलको नम्बर पनि सबै विद्यालयले २५ दिएका रहेछन्।’ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले असार ३० गतेभित्र सबै विद्यालयको विवरण पनिकामा आइसक्नुपर्ने निर्देशन दिएको छ। साथै कार्यालयले साउन १५ गतेभित्र नतिजा प्रकाशित गरी विद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध गराउने लक्ष्य लिएको छ।

एसइई दिने सबैभन्दा बढी विद्यालय र बढी विद्यार्थी काठमाडौं जिल्लामै छन्। ठूला विद्यालय पनि यहीं छन्। यो वर्ष कुल ४ लाख ८२ हजार एसइईका विद्यार्थी छन्। जसमध्ये ३६ हजार एक सय १२ जना काठमाडौंका मात्र छन्। काठमाडौंमा माध्यमिक तहका एक हजार ६ विद्यालय छन्।

कक्षा १० मा ६ वटा अनिवार्य र २ वटा ऐच्छिक गरी ८ वटा विषय छन्। गणितबाहेक सबैमा २५ नम्बरको प्राक्टिकल छ। ‘विद्यालयले तीनवटै फारममा भरेका विद्यार्थीको विवरणसमेत फरक छ,’ पौडेलले खुलाए, ‘विद्यालयले भरेको एसइई विद्यार्थी विवरणमा नम्बरमा त्रुटि, नम्बर मिसिङ र निर्देशिकाअनुसार विवरण अपुग छ।’

उनका अनुसार विद्यालयबाट प्राप्त विवरणमा थुप्रैले यस्तै त्रुटि दोहो-याएका छन्। त्रुटिमा निजीकै बढी चलखेल छ। उनले जति छिटो विद्यालयले त्रुटि सच्याउँछन्, त्यति छिटो नतिजा प्रकाशन गर्न सकिनेसमेत जानकारी दिए।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्