संखुवासभा । विभिन्न सञ्चारमाध्यमबाट गरिएको शिक्षण सिकाइ प्रभावकारी नभएको भन्दै संखुवासभाका शिक्षकहरुले अब घरघरमै गएर विद्यार्थीलाई सिकाउने तयारी गरेका छन् ।

रेडियो, टेलिभिजनबाट सिकाउँदा सबै विद्यार्थी नसमेटिने र समेटिएकाले पनि राम्ररी बुझ्न नसकेको गुनासो गरेपछि शिक्षकहरुले घरघरमै गएर पढाउन लागेका हुन् ।

नेपाल शिक्षक संघ संखुवासभाका अध्यक्ष थीरबहादुर राईले सबैतिर प्रयोग भएका वैकल्पिक शिक्षण विधि जिल्लामा प्रभावकारी नभएको भन्दै छुट्टै विशिष्ट शिक्षण विधिको विकास गर्न लागिएको बताए ।

‘घरमै बसेर तलब खान नैतीक संकट पर्यो, अब विद्यार्थीको घरघरमा पुगेरै सिकाउँछौं’–राईले भने ।

प्रविधिमार्फत् सिकाउँदा एकोहोरो संवाद हुने, विद्यार्थीहरुले आवाज नसुन्ने, अक्षर नबुझने समस्या आएको उनले बताए । अझ सञ्चार माध्यमको पहुँच नहुने विद्यार्थी त सिकाइबाट बञ्चित नै हुने अवस्था आएपछि केही नयाँ विधिको प्रयोग गर्न विषयमा तयारी भइरहेको राईले जानकारी दिए ।

स्थानीय तहका शिक्षा प्रमुख, शिक्षाका संघसंगठनका प्रमुख तथा प्रधानाध्यापकहरुबीच जिल्लालाई सुहाउँदो विशिष्ट शिक्षण विधिको बारेमा छलफल चलिरहेको सिंहेश्वरी मावि पाँचखपन नपा–८ का प्रअ समेत रहेका राईले बताए ।

जिल्ला बाहिर रहेका शिक्षकहरुलाई बोलाउनेक्रम शुरु भएको र उनीहरु आएपछि क्वारेन्टाइनमा राखेर शिक्षण सिकाइमा परिचालन गर्ने तयारी भइरहेको राईले जानकारी दिए । कतिपय शिक्षकहरु सुदूरपश्चिम प्रदेशका पनि रहेकाले उनीहरु आउन केही समस्या देखिएको भन्दै साउन १५ गते देखि विशिष्ट कार्यक्रमका साथ सिकाइ निरन्तरता दिइने उनले बताए ।

संक्रमणको जोखिम कम भएका स्थानमा दुई सिफ्टमा सामाजिक दुरी सहित विद्यालय नै सञ्चालन गर्ने र बाँकी स्थानका विद्यार्थीलाई घरघरमै पुगेर सिकाउने तयारी भइरहेको उनले बताए ।

एउटा विद्यार्थीकोमा हप्तामा दुईपटक पुग्ने र विद्यार्थीहरुलाई गृहकार्य, परियोजना कार्यमार्फत् सिकाइलाई निरन्तरता दिने योजना रहेको राईले बताए । यस विषयमा अभिभावकको पनि सहयोग चाहिने भएकाले अभिभावकहरुसँग पनि छलफल चलिरहेको राईले जानकारी दिए ।

‘बाहिरबाट हेर्दा शिक्षक घरमै बसेर तलब खाइरहेको देखिन्छ तर हामी शिक्षकलाई भने विद्यालय जान नपाएर छटपटि भएको छ’– राईले भने, ‘केन्द्रबाट वैकल्पिक सिकाइका लागि आउने अनुदानलाई पनि जिल्लाको विशिष्ट सिकाइ विधिमा खर्च गर्ने योजना छ ।’

शिक्षकका संघसंगठनहरुले अनलाइनमार्फत् शिक्षण गर्न तालिम दिएर शिक्षकलाई तयार पारेपनि सबै विद्यार्थीसँग प्रविधिको पहुँच नहुँदा प्रभावकारी कार्यान्वयन गर्न नसकिएको राईले दुखेसो गरे ।

‘पाठ्यपुस्तक र सिकाइ सामग्री वितरण भइसकेको छ अब विद्यार्थीको घरघरमै गएर सिकाइलाई निरनतरता दिन्छौं’, राईले भने, ‘जोखिम कम भएका क्षेत्र सिल गरेर विद्यालय नै सञ्चालन गर्छौं ।’ उनका अनुसार हाल जिल्लामा ३५० बढी विद्यालयहरु छन् ।

प्रतिकृया दिनुहोस्